• १३ साउन २०८१, आइतबार

नागरिकता बनाउन जाजरकोटबाट बझाङ

blog

बझाङ समाचारदाता

बझाङ, फागुन २२ गते । बुवाको ठेगाना खोजी गर्दै नागरिकता बनाउनका लागि हिमांशु र उहाँका भाइ रमेश जाजरकोटबाट बझाङ जिल्लाको सदरमुकाम चैनपुर आइपुग्नुभएको छ ।  जाजरकोटको भेरी नगरपालिकास्थित मावली गाउँ गिमबाट आएका दुई भाइले नागरिकता बनाउनका लागि प्रशासनसँग हारगुहार गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालयमा भेटिएका १९ र १७ वर्षका ती दुई भाइले गएको शनिबारदेखि बुवाको पुख्र्यौली घर रहेको थलारा गाउँपालिकामा नागरिकता बनाउनका लागि सहजीकरण गरिदिन अनुरोध गर्दै आउनुभएको हो । वडा कार्यालय र गाउँपालिकाले नागरिकताको सिफारिस गर्न नमानेपछि कानुनी प्रक्रिया बुझ्न जिल्ला प्रशासन बझाङ आउनुभएको थियो । प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलसमक्ष उहाँहरूले बझाङको थलारा गाउँपालिका–६, खोलीका भरत भट्टराई आफ्नो बुवा भएको बताउँदै नागरिता माग गर्नुभएको छ । 

२०५८ सालतिर बझाङबाट भारतको सिमला पुगेका भट्टराईको जाजरकोटकी मङ्गली कामीसँग भेट हुन्छ । एउटै कृषि फार्ममा कृषि मजदुरका रूपमा काम गर्ने भरत र मङ्गलीबिच प्रेम सम्बन्ध रहेको भनाइ ती दाजुभाइको छ । 

केही समयपछि उहाँहरूको प्रेम सम्बन्ध विवाहमा परिणत हुन्छ । पछि हिमांशुकी दिदी हिमानी र भाइ रमेशको दुई दुई वर्षको अन्तरमा जन्म हुन्छ । घटनाको बेलीविस्तार सुनाउँदै हिमांशुले भन्नुभयो, “कान्छो भाइ छ सात महिनाको हुँदा मालिक (कृषि फार्म) ले यहाँ कामदारहरू कमी भयो । नेपालबाट खोजेर लिएर आऊ भनेर बुवालाई नेपाल पठाएका रहेछन् । कामदार खोजेर ल्याउँछु भनेर हिँडेका बुवा । त्यसपछि कहिल्यै फर्किनुभएन । आमाले सुनाएको कुरा भन्दै उहाँले कामदार खोज्न गएका श्रीमान् फर्किने आशामा आफ्नी आमाले दुई वर्षसम्म हिमाचल प्रदेशको सिमला अन्तर्गत पर्ने देउरीघाट भन्ने ठाउँमा मजदुरी गरेर बसेको बताउनुभयो । 

त्यसको केही समयपछि मावली गाउँमा फर्किएका हिमांशुका दाजुभाइसँग आफ्नो बुवा भरत भट्टराई भएको बताउने प्रमाण उहाँको आमाले सम्झना स्वरूप राखेको एउटा तस्बिरबाहेक अरू केही छैन । तस्बिरमा हिमांशुकी आमा र बुवा भरत सानी छोरीलाई समातेको देखिन्छ । हिमांशुहरू त्यही पुरानो तस्बिर बोकेर नागरिकता पाउने आशामा बझाङ आइ पुग्नुभएको हो । स्थानीयवासीले तस्बिरमा देखिएका व्यक्ति भरत भट्टराई नै भएको बताएका छन् । 

कतिले त छोराको अनुहार पनि काटीकुटी बुवासँग मिलेको बताएका छन् तर भरतका बुवा गणेश भट्टराईले भने त्यो तस्बिरमा भएको व्यक्ति आफूले नचिन्ने बताउँदै अपरिचितलाई नागरिकता दिन नमिल्ने बताउनुभयो ।  

उहाँहरूसँगै साथमा आउनुभएका भेरीगङ्गा नगरपालिका न्यायिक समितिका सदस्य गौरीबहादुर कार्कीले सबैले भरतकै छोराछोरी हुन् भन्नेमा सहमत भए पनि जातको कुराले नागरिता दिन समस्या पारेको बताउनुभयो । उहाँको आमा कामीको छोरी भएको थाहा पाएपछि भरतका बुवा गणेशले नागरिकता दिन अफ्टेरो मानेको उहाँले बताउनुभयो । 

थलारा गाउँपालिका–६ का वडाध्यक्ष अनिल विष्टले परिवारका सदस्यले तस्बिरमा भएको व्यक्ति नचिन्ने बताएपछि नागरिकताका लागि सिफारिस गर्न समस्या भएको बताउनुभयो ।