• १६ भदौ २०८१, आइतबार

राष्ट्रिय महिला भलिबल : एपीएफ, बागमती, लुम्बिनी र कोशी सेमिफाइनलमा

blog

भलिबलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

इमान सिं राना

रामपुर (पाल्पा), फागुन २१ गते । एपीएफ क्लब, बागमती, लुम्बिनी र कोशी प्रदेश प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफ क्लब समूह ‘ए’को विजेता र लुम्बिनी प्रदेश उपविजेता, बागमती प्रदेश समूह ‘बी’ को विजेता र कोशी प्रदेश उपविजेता भएर सेमिफाइनलमा प्रवेश गरेको हो ।

समूह चरणको खेल सोमबार सकिएसँगै मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । कर्णाली र लुम्बिनीलाई सोझो सेटमा पराजित गर्दै एपीएफ क्लब समूह ‘ए’ को शीर्ष स्थानमा रहेको थियो ।

तेस्रो खेलमा गण्डकी प्रदेशलाई पनि ३–० को सोझो सेटमा पराजित गर्न सफल भयो । २५–७, २५–१७ र २५–९ अङ्कसहित हराउँदै एपीएफ सेमिफाइनलमा पुगेको हो । समूह ‘बी ’ मा रहेको बागमतीले सुदूरपश्चिम र कोशीसंगको खेलमा जित हात पार्दै शीर्षस्थानमा बनाएको थियो । समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशलाई ३–० विजेता बनेको हो । बागमतीले खेलमा २५–६, २५–८ र २५–१३ अङ्कको जित निकालेको थियो ।

लिग चरणको तीन खेल मध्ये गण्डकीसँग जित र एपीएफसँग हार बेहोरेको लुम्बिनीले अन्तिम खेलमा कर्णाली प्रदेशलाई ३–१ सेटले पराजित गर्न सफल भयो । १९–२५, २५–१७, २५–१० र २५–१७ अङ्कको जित निकाल्दै लुम्बिनी सेमिफाइनलमा पुगेको हो ।

मधेश प्रदेशसँग ३–१ सेटको जित र बागमती सँग ३–० को हार बेहोरेको कोशीले तेस्रो खेलमा सुदूरपश्चिमलाई सोझो सेटमा हरायो । कोशी प्रदेशले २५–२०, २५–१९ र  २५–१४ अङ्कसहितको जित निकाल्न सफल भयो । यससँगै लिग चरणको समीकरण पुरा भएको छ । 

मङ्गलबार दुई सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ र कोशी प्रदेश तथा  बागमती प्रदेश र लुम्बिनी प्रदेशबिच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने जिल्ला भलिबल सङ्घ पाल्पाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो । 

रामपुर जारी प्रतियोगिता लिगकम नकआउट सिस्टममा भएको हो । जिल्ला भलिबल सङ्घ पाल्पाको आयोजना र प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धनमा गत फागुन १८ देखि जारी प्रतियोगिताको फाइनल खेल २३ गते हुनेछ । प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।