• १३ साउन २०८१, आइतबार

प्रिमनसुनी वर्षाले हिउँदे बाली सप्रिने

blog

धनगढी समाचारदाता

धनगढी, फागुन २१ गते ।  प्रिमनसुनमा भएको वर्षाले हिउँदे बालीलाई फाइदा गरेको किसानले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण शनिबारदेखि कैलालीसहित विभिन्न जिल्लामा पानी परिरहेको छ । 

यसबेला भएको वर्षाले बाली राम्रो हुने कैलारी गाउँपालिका–७ का कृषक राजकुमार चौधरीले बताउनुभयो । वैज्ञानिक रूपमा पाँच/छ पटक गहुँ सिँचाइ गर्नुपर्ने भए पनि किसानले प्रायः एकचोटि मात्रै गहुँमा पानी हाल्ने गरेका छन् । बलौटे र अग्ला ठाउँमा गहुँ बालीले पानी खोजिरहेका बेला भएको वर्षाले उत्पादन वृद्धिमा सहयोग पुग्ने चौधरीको भनाइ छ । 

किसानका खेतमा अहिले गहुँ, मुसुरोमा दाना लाग्ने क्रममा रहेको छ । यो बेला भइरहेको वर्षाले पानी जम्ने ठाउँबाहेक अन्यतिर बालीलाई धेरै फाइदा हुने कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले बताउनुभयो । “अहिले भइरहेको वर्षा गहुँका लागि एकदमै बेस्ट हो,” उहाँले भन्नुभयो, “मुसुरोलाई पनि पानी नजम्ने ठाउँमा राम्रो नै हुन्छ ।” खेतमा पानी जमेमा भने मुसुरोलाई नोक्सान गर्न सक्ने प्रमुख शर्माको भनाइ छ । 

कैलालीमा यस वर्ष साढे ३४ हजार हेक्टर जमिनमा गहुँ खेती गरिएको छ । यहाँका किसानको मुसुरोभन्दा पनि गहुँ खेतीतर्फ आकर्षण बढेको छ । यसैबिच प्रिमनसुनी वर्षाले खेतमा रहेको तोरीलाई नोक्सान गर्न सक्ने जनाइएको छ । 

त्यसो त अधिकांश किसानले तोरी काटेर भित्र्याइसकेका छन् । केही किसानको मात्रै तोरी काट्न र भित्र्याउन बाँकी रहेको शर्माले बताउनुभयो । काटेर पनि भित्र्याउन नसकेको तोरी भिजेर नोक्सान हुन सक्ने उहाँको भनाइ छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशभर मौसम बदली रही सुदूरपश्चिमसहित मुलुकका विभिन्न प्रदेशमा हल्का वर्षा भइरहेको मौसम महाशाखाको आइतबारको बुलेटिनमा उल्लेख छ ।