• ९ जेठ २०८१, बुधबार

विश्वभर एकसाथ प्रदर्शन हुँदै ‘महाजात्रा’

blog

काठमाडौँ, फागुन १८ गते । चलचित्र ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । ‘महाजात्रा’ षट्कोण आर्ट्सले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग हो । नेपाल र भारतबाहेकका प्रदर्शन र वितरणको अधिकार खरिद गरेको एमएसएम इन्टरटेनमेन्टले संयुक्त राज्य अमेरिका, क्यानडा, डेनमार्क, जापान, न्युजिल्यान्डमा र अस्ट्रेलियामा पनि चलचित्र एकसाथ प्रदर्शन गर्ने तयारी गरेको छ ।

चलचित्रका कार्यकारी निर्मातासमेत रहेका अभिनेता रवीन्द्रसिंह बानियाँले ‘जात्रा’ शृङ्खलाको सफलता र दर्शकको प्रतीक्षाले नै ‘महाजात्रा’ तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दर्शक र समीक्षकको सकारात्मक प्रतिक्रियाले हामीलाई शृङ्खलालाई निरन्तर दिन हौसाएको हो ।”

आपत्कालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । 

हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेवलगायतको चलचित्रमा अभिनय रहेको छ ।