• १२ साउन २०८१, शनिबार

परीक्षणमै भेटियो गुणस्तरहीन दुध

blog

फाइल तस्बिर

काठमाडौँ, फागुन १८ गते । राष्ट्रिय दुग्ध विकास बोर्डको प्रयोगशालामा परीक्षण गरिएको अधिकांश दुध गुणस्तरहीन रहेको पाइएको छ । बोर्डले एक हजार १६३ वटा नमुना परीक्षा गर्दा त्यसको प्याकेटमा तोकिएकोभन्दा कम तौल पाइएको तथा तोकिएको मापदण्डभन्दा दुधमा कम फ्याट र एसएनएफ पाइएको बोर्डले जनाएको छ । 

बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले बिहीबार आफ्नो कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै सो कुराको जानकारी दिनुभएको हो । उहाँले डेरी उद्योगीले दुध तथा दुग्धजन्य पदार्थको गुणस्तरमा ध्यान नदिएको बताउनुभयो । बोर्डकै प्रयोगशालामा परीक्षण गर्दा दुध तथा दुग्धजन्य पदार्थ गुणस्तरीय नरहेको उहाँले जानकारी गराउनुभयो ।  

उहाँले भन्नुभयो, “हामीले परीक्षण गरेकोमध्ये ३७ प्रतिशत दुधमा तौल कम भटिएको थियो भने ५१ प्रतिशत दुधमा फ्याट र ४५ प्रतिशत दुधमा एसएनएफ कम पाइएको छ ।” उद्योगीले गुणस्तरमा ध्यान नदिएका कारण खपतमा समस्या भइरहेको उहाँले बताउनुभयो । 

चार वर्षका लागि २०७६ फागुन १८ गते कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका यादवको कार्यकाल बिहीबार सकिएको छ । आफूले चार वर्षको अवधिमा गरेको कार्यको जानकारी गराउन उहाँले पत्रकारसँग अन्तव्रिर्mया गर्नुभएको थियो । “कच्चा दुध, धुलो तथा बटरमा नेपाल आत्मनिर्भर भएको छ,” उहाँले भन्नुभयो, “म आफ्नो कार्यकालमा नै धुलो दुध र बटरमा नेपाल आत्मनिर्भर रहेको घोषणा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराउन सफल भएँ, अहिले दुधमा पनि आत्मनिर्भर भइसकेको छ, त्यसको घोषणा हुन बाँकी छ ।”

दुध तथा दुग्ध पदार्थ ढुवानी गर्ने सवारीसाधनमा प्रयोग गर्ने प्रतीक चिह्न (लोगो) तयार गरी कार्यान्वयनमा पनि ल्याइसकेको उहाँले बताउनुभयो । 

बन्द हडतालमा पनि दुध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडी निर्बाध रूपमा सञ्चालन भइरहेको उहाँले बताउनुभयो । राष्ट्रिय दुग्ध विकास नीति, २०७८ कार्यान्वयमा ल्याइसकेको बताउँदै उहाँले आफूले ३५ प्रतिशत बेरुजु फस्र्योट गर्न सफल भएको बताउनुभयो ।

विभिन्न ऐन, कानुन, कार्यविधि तथा निर्देशिकाको मस्यौदा तयार गरिएको उहाँले दाबी गर्नुभयो । कृषकको दुधको भुक्तानी गर्न चालु पुँजीको अभाव देखिएकाले दुग्ध उद्योगमा मौज्दातमा रहेको दुग्ध पदार्थलाई धितो राखी सुलभ कर्जाको व्यवस्था गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अर्थ मन्त्रालयमा आवश्यक पहल गरेको उहाँले बताउनुभयो । उहाँले धितो राख्नका लागि चाहिने मौज्दात उद्योगीले नदेखाएका कारण सो सुलभ ऋणको प्रक्रिया अगाडि नबढेको बताउनुभयो ।