• २ माघ २०८१, बुधबार

टी–२० सिरिज : नेदरल्यान्ड्सको दोस्रो जित

blog

नामिबियाको विकेट लिएपछि नेदरल्यान्ड्सका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, फागुन १७ गते । नेदरल्यान्ड्सले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हरायो । यसअघि आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराएको थियो । 

जितसँगै नेदरल्यान्ड्सले चार अङ्क बनाएको छ । नामिबियाको दुई खेलबाट दुई नै अङ्क बनाएको छ । दुई खेलमा पराजित नेपाल अङ्कविहीन छ । नेपाल भने पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई विकेटले पराजित भएको थियो । 

जितका लागि नेदरल्यान्ड्सले दिएको दुई सय ४८ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८८ रनमा समेटिएको थियो । नामिबियाका लागि जेन ग्रिनले अविजित ४२ रन बनाउनुभयो ।

यस्तै जान फ्रेइलिंकले ४२, जिन पियरे कोट्जी २६, रुबेन ट्रम्पलम्यान र कप्तान जेजे स्मिथले १९/१९ तथा जान निकोल लोफ्टी इएटनले ११ रन जोड्नुभयो । बलिङमा नेदरल्यान्ड्सका टिम भार डेर गुग्टनले दुई विकेट लिनुभयो । यस्तै भिभियन किंगमा, फ्रेड क्लासेन, साइब्रान्ड एङ्गेलब्रेख्त र रालोफ भान डेर मार्वेले एक एक विकेट झार्नुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ४७ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि माइकल लेभिटले एक सय ३५ रनको शतकीय इनिङ्स खेल्नुभयो । उहाँले ६२ बलमा ११ चौका र १० छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

साइब्रान्ड एङ्गेलब्रेख्तले ७५ र तेजा निदामनुरुले १८ रन बनाउनुभयो । बलिङमा नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले दुई विकेट लिनुभयो । जान फ्रेइलिंक र बेन सिकोन्गोले एक एक विकेट लिनुभयो ।