• १० मंसिर २०८१, सोमबार

उतिबेलाको भाउ

blog

मानिसले वास्तविक जीवनमा भोगेका कतिपय घटना कालान्तरमा एउटा अविश्वसनीय कथा बन्न पुग्छ भनेर कतै पढेको थिएँ । ठ्याक्कै यस्तै अनुभूति विगतको भाउ–बेहासाको विवरण हेर्दा मिल्छ । पङ्क्तिकारले पनि एक रुपियाँमा खल्तीभरि मिठाई किनेर खाएको हो । बाजे–बराजुले सुका मानु घिउ खाए भन्ने सुनिआएको कुरा हो । यो कुरा तत्कालीन समयमा वास्तविक भए पनि अहिले अविश्वसनीय कथा बनिसक्यो । नयाँ पुस्ताले यसलाई फगत कथा सम्झन्छ । 

‘अठन्नीको खानपिन, रुपियाँको ह्वाइ ।’ यस भनाइले पुरानो समयको दर–भाउलाई प्रतिनिधित्व गरेको पाइन्छ । अर्को शब्दमा यसले पुरानो समयको पदचापलाई पछ्याएको पाइन्छ । वर्तमानको आँखाले हेर्दा अवास्तविक जस्तो लाग्ने कुरा कुनै समयमा वास्तविकता थियो । हिजो अठन्नी र रुपियाँबाट धेरै काम फत्ते हुन्थे ।

कुनै जमानामा एक रुपियाँको दान वा बक्सिस दिएर कसैको मन राख्न पनि पर्याप्त थियो । यसको छनक २०२९ साल वैशाखमा मधुपर्कमा प्रकाशित ‘रारा, अप्सरा र वैरोचन’ शीर्षकमा प्रकाशित निबन्धमा लेखक जनकलाल शर्माको लेखबाट पनि मिल्छ ।

शर्माले आफ्नो निबन्धमा बालाजु उद्यानमा सारङ्गी रेट्दै गरेका गन्धर्वसँग भएको साङ्गीतिक जम्काभेटको प्रसङ्ग पनि अघि सारेका छन् । उनले गन्धर्वको गीत सुनेर आफू प्रसन्नचित्त हुन पुगेको, उनलाई छाती फुलाएर एक रुपियाँ बक्सिस दिएको र त्यति रकम बक्सिस पाएपछि गन्धर्व अति नै हर्षविभोर भएको प्रसङ्ग सुललित किसिमले पस्केका छन् ।

पारिश्रमिक

राणा प्रधानमन्त्री जङ्गबहादुर राणा युरोप भ्रमणबाट फर्केपछि अङ्ग्रेजी भाषाको महत्व बुझेछन् । त्यसपछि उनलाई दबारिया भाइभारदारलाई अङ्ग्रेजी पढाउने हुटहुटी चलेछ । अङ्ग्रेजी पढाउनका लागि केही बङ्गाली शिक्षक पनि भर्ना गरिएछन् । यो कुरा साहित्य–अन्वेषक शरद्चन्द्र शर्मा भट्टराईको कृति ‘खोजी अनि व्याख्या’ मा पढ्न पाइन्छ । भट्टराईले त्यसरी भर्ना गरिएका शिक्षकलाई दिइने पारिश्रमिकको लामै विवरण पेस गरेका छन् ।  

ती शिक्षकमध्ये एक जनाको पारिश्रमिक विवरण उदाहरणस्वरूप प्रस्तुत छ । विसं १९०८ को निजामती किताबखानाको ढड्डामा अङ्ग्रेजी शिक्षक कैलाशचन्द्र गङ्गोली (गाङ्गुली)को पारिश्रमिक वार्षिक छ सय रुपियाँ तोकिएको पाइएको छ । यस हिसाबले गङ्गोलीको मासिक तलब ५० रुपियाँ निर्धारण भएको देखिन्छ । सो रकम त्यस समयमा निकै आकर्षक मेहनताना हो (शर्मा भट्टराई, २०५६, पृ.२०९–२१०) । 


नेपालको पहिलो अखबार ‘गोरखापत्र’ मा काम गर्ने इडिटर (सम्पादक) तथा अन्य कामदारको पारिश्रमिकको सङ्क्षिप्त विवरण भेटिएको छ । त्यसबेलाका इडिटर नरदेव पाण्डेको मासिक पारिश्रमिक ५० रुपियाँ रहेको देखिन्छ । यसैगरी प्रेसम्यान, कम्पोजिटर र करेक्टर (पु्रफरिडर ?) को मासिक पारिश्रमिक क्रमशः चार, छ र दुई रुपियाँ रहेको अभिलेख भेटिन्छ (शर्मा भट्टराई, २०६०, पृ.३२) । यो अभिलेख साहित्य–अन्वेषक शरद्चन्द्र शर्मा भट्टराईकै अर्को कृति ‘सानो चिनारी नरदेव पाण्डेको’ मा पाइन्छ ।

युगकवि सिद्धिचरण श्रेष्ठले ‘साहित्यकार झपटबहादुर राणा’ नामक कृतिमा विसं १९९० को भूकम्पले विनाश ल्याएपछि भूकम्पपीडितलाई सहयोग पु¥याउनका लागि भूकम्प पीडितोद्धारक संस्था खडा भएको, त्यो संस्थाले स्वयम्सेवकका रूपमा काम गरेको र पारिश्रमिकबापत मासिक २५ रुपियाँ पाएको स्मरण गरेका छन् (श्रेष्ठ, २०३७, पृ.१०६) । 

दुराडाँडा लमजुङमा जन्मेका क्याप्टेन बखानसिंह दुरा (विसं १९७१–२०७०) दोस्रो विश्वयुद्धका योद्धा थिए । दोस्रो विश्वयुद्धमा होमिएको समयमा लाहुरेको तलब १६ भारतीय रुपियाँ रहेको पङ्क्तिकारलाई उनले बताएका थिए । 

पुर्काङ (लमजुङ)की ठाडोभाका गायिका धनमाया तामाङ (विसं १९८७–२०६१) ले आफ्नो आत्माकथा ‘धन’ मा १३–१४ वर्षको उमेरमा आफूले दिनभरि निमेक गर्दा अन्न लगे एक पाथी, कोदो वा पैसा लिए १२ पैसा पारिश्रमिक पाउने गरेको उल्लेख गरेकी छन् । उनले आफ्ना श्रीमान् चन्द्रबहादुर तामाङ (विसं १९८०–२०४२) कुन्छाको अड्डामा म्यादी सिपाही बनेर जागिर खाँदा महिनाको पाँच मोहर पारिश्रमिक पाएको पनि सोही आत्मकथामा स्मरण गरेको पाइन्छ (धन, २०६३, पृ.२२ र ५०) । 

माल–वस्तु 

पुरानो समयको भाउ–बेसाहा पुराना पुस्तक, लोकअभिव्यक्ति तथा लोकस्मृतिमा यत्रतत्र छरिएर रहेको पाइन्छ । पुराना पुस्तक पढ्दा लोकगीत तथा उखान–टुक्का सुन्दा तथा पाका पुस्ता अग्रजसँग वार्तालाप गर्दा पुरानो समयको भाउ–बेसाहाबारे जानकारी मिल्छ ।

घुमक्कड स्वभावका जनकवि केशरी धर्मराज थापामा भ्रमणका क्रममा भेटिएका सूक्ष्मतम् जानकारी अभिलेखन गर्ने बानी भेटिन्छ । जहाँ जे भेटिन्छ, जस्तो भेटिन्छ, त्यसलाई तत्क्षण लिपिबद्ध गरिहाल्ने उनको स्वभाव थियो । उनले आफ्नो कृति ‘चितवन दर्पण’ मा पहाडबाट झरेकाहरूको बस्ती नारायणघाट बजारमा २०१० सालको बजारभाउ प्रस्तुत गरेका छन् ।  


‘चितवन दर्पण’ मा प्रकाशित मूल्यसूची अनुसार तत्कालीन समयमा नारायणघाट बजारमा एक मुरी चामलको छ रुपियाँ, एक मुरी धानको एक रुपियाँ, खसी प्रतिगोटा दुई रुपियाँ ५० पैसा, हाँस प्रतिगोटा ५० पैसा, कुखुरा प्रतिगोटा २५ पैसा र एक जोर परेवाको भाउ १२ पैसा थियो (थापा, २०३२, पृ. १९२) ।

गरिबी, अभाव तथा भोकले डसेका निजी जीवन–भोगाइलाई जस्ताको तस्तै जनसमक्ष राख्न पुराना साहित्यकार हृदयचन्द्रसिंह प्रधान पटक्कै हिच्किचाएनन् । उनको २०१० सालमा प्रकाशित निबन्धसङ्ग्रह ‘कुरा साँचो हो’ मा यस्तै अभिशप्त पलको वर्णन भेटिन्छन् । प्रधानले कसैको निम्तो मान्न जाँदा पनि आफूलाई आर्थिक दृष्टिले मार पर्ने चर्चा गरेका छन् । 

उनले कसैको आतिथ्य ग्रहण गर्दा लोकलाजस्वरूप सगुन (कोसेली) लैजानुपर्ने र त्यसो गर्दा पारिवारिक बजेट असन्तुलन भई निस्तो भात खानुपर्ने अवस्थाको कारुणिक चर्चा गरेका छन् । 

साहित्यकार प्रधानका अनुसार सगुन लैजाँदा दुई रुपियाँ जति खर्च हुने र त्यो रकम एउटा अभावग्रस्त परिवारमा कैयौँ दिनका लागि तरकारी किन्न पुग्ने खर्च हो । उनले आफ्नो दयनीय आर्थिक अवस्थाबारे वर्णन गर्दा त्यस समयमा दुई रुपियाँ कति मूल्यवान् थियो भन्ने तथ्य पनि सँगसँगै झल्कन्छ ।

२०२९ सालतिर कफीको मूल्य अहिलेको दृष्टि सयौँ गुना सस्तो रहेछ । लेखक जनकलाल शर्माले पूर्वउल्लिखित निबन्ध ‘रारा, अप्सरा र वैरोचन’ मा न्युरोडमा एक कप कफीको एक रुपियाँ र अन्यत्र एक मोहरमा पाइने उल्लेख गरिएको छ । शर्माको निबन्धमा त्यस समयमा एक कप कफीको एक रुपियाँ चलनचल्तीको दर–भाउ अनुसार महँगो हो भन्ने आशय पनि झल्कन्छ । 

शरद्चन्द्र शर्मा भट्टराईले पूर्वउल्लिखित पुस्तक ‘खोजी अनि व्याख्या’ विसं १९१० ताका सुनको मूल्य प्रतितोला १७ रुपियाँ रहेको उल्लेख गरिएको छ । 

ठाडोभाका गायिका धनमाया तामाङले आफ्नो आत्मवृत्तान्त ‘धन’ मा आफ्नो विवाहमा दुलाहा पक्षले १५ रुपियाँ बराबरका लुगाफाटा ल्याइदिएको संस्मरण पस्केकी छन् (२०६३, पृ.५८)  ।

पाठ्यसामग्री

नेपालको पहिलो अखबार गोरखापत्रको वार्षिक ग्राहक शुल्क सुरुमा चार रुपियाँ रहेछ । त्यसपछि बीचमा दुई रुपियाँ बनाइएको रहेछ । पछि चार रुपियाँ नै कायम गरियो तर त्यसबेला गोरखापत्रको एकप्रतिको शुल्क कति थियो भन्ने खुल्दैन । सुरुमा साप्ताहिक, बीचमा अर्धसाप्ताहिक र त्यसपछि दैनिक बनेको गोरखापत्र दिनहुँ प्रकाशन हुन थालेपछि यसको वार्षिक ग्राहक शुल्क ३६ रुपियाँ पुगेछ भने एकप्रतिको शुल्क १० पैसा कायम गरिएको थियो । यो ऐतिहासिक प्रसङ्ग गृष्मबहादुर देवकोटाकृत कृति ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ मा वर्णित छ (देवकोटा, २०५९, पृ.२९) ।

युगकवि सिद्धिचरण श्रेष्ठले ‘साहित्यकार झपटबहादुर राणा’ नामक कृतिमा शारदा मासिक पत्रिकाको वार्षिक ग्राहक शुल्क चार रुपियाँ रहेको उल्लेख गरेका छन् (श्रेष्ठ, २०३७, पृ.१०८) । यद्यपि युगकवि सिद्धिचरण श्रेष्ठको लेखाइमा प्रस्तुत ग्राहक शुल्क कुन सालको शुल्क हो र तत्कालीन समयमा ‘शारदा’ को एकप्रतिको मूल्य कति थियो भन्ने खुलेको छैन ।

२००० र २००९ सालमा प्रकाशित पुष्परत्न ‘सागर’ कृत ‘सुबोध नेपाल भाषा व्याकरण’ र सोमनाथ शर्माकृत ‘मध्यचन्द्रिका’ को मूल्य त्यसताका क्रमशः दुई रुपियाँ ५० पैसा र दुई रुपियाँ रहेछ । यसैगरी गोरखापत्रको भगिनी प्रकाशन मधुपर्कको २०२९ सालतिरको मूल्य एक रुपियाँ ५० पैसा रहेछ भने वार्षिक ग्राहक शुल्क १५ रुपियाँ । 

मध्यचन्द्रिकाको पछाडिको पृष्ठमा केही पुस्तकको विज्ञापन दिइएको छ । जसमा लघुचन्द्रिका, संस्कृतिचन्द्रिका, अनुवाद चन्द्रिका र आदर्शराघव (महाकाव्य)को मूल्य क्रमशः ५० पैसा, ६४ पैसा, तीन रुपियाँ ३० पैसा र दुई रुपियाँ रहेका छन् ।

एउटा प्रसङ्ग आउँछ, संस्कृत भाषामा निस्कने पत्रिकाको । संस्कृत भाषामा लेखिएका ऐतिहासिक तथा सांस्कृतिक सामग्रीको अध्ययन नगरी नेपालको इतिहास र संस्कृतिबारे प्रामाणिक ज्ञान आर्जन गर्न सकिँदैन । यही आशयले एकथरी इतिहास अन्वेषकहरू संस्कृत भाषाको पत्रिकाको परिकल्पना गर्न पुग्छन् । पत्रिकाको नाम जुराइन्छ, ‘संस्कृत सन्देश’ । 

पत्रिका निकाल्न योगी नरहरिनाथ, धनवज्र वज्राचार्य, रत्नबहादुर वज्राचार्य, ज्ञानमणि नेपाल, बुद्धिसागर पराजुलीलगायतका साधकको बौद्धिक श्रम परेको देखिन्छ । 

२०१० सालतिर सुरु भई १४ अङ्क जति निस्केर सदाका लागि विश्राम लिएको ‘संस्कृत सन्देश’ को वार्षिक ग्राहक शुल्क अहिलेको आँखाले हेर्दा रोचक लाग्छ । पत्रिकाको वार्षिक र अर्धवार्षिक ग्राहक शुल्क क्रमशः चार रुपियाँ र दुई रुपियाँ ५० पैसा तोकिएको रहेछ भने एक अङ्कको मूल्य ५० पैसा निर्धारण गरिएको । साहित्य साधक घटराज भट्टराईले आफ्नो कृति ‘खोजखाज’ मा ‘संस्कृत सन्देश’ बारे मीठो किसिमले बेलिविस्तार लगाएका छन् (भट्टराई, २०५४, पृ. १५१–१६०) ।

नेपालमा पुस्तकलगायतका पठन सामग्रीको मूल्य तुलनात्मक रूपमा सस्तो रहे पनि केही वर्षयता पुस्तक अति महँगो बन्न पुगेको छ । हाल महँगो बनेका पुस्तकको अगाडि साझा प्रकाशन, नेपाल प्रज्ञा–प्रतिष्ठान तथा रत्न पुस्तक भण्डारले पुरानो समयमा प्रकाशन गरेका पुस्तक निकै सस्तो प्रतीत हुन्छ ।

यातायात 

नेपालमा आधुनिक यातायात प्रणाली तुलनात्मक नवीतम् विकासक्रम भए पनि यातायात भाडाको कुनै व्यवस्थित अभिलेख पाइँदैन । झन् अहिले त सरकारले तोकेको दरभन्दा बढी भाडा असुल्ने बानी परेका यातायातकर्मीले नियमानुसार टाँस्नुपर्ने भाडादर नै गायब गर्ने गरेको पाइन्छ । अहिलेको यातायात सेवा अतिशय अव्यवस्थित र स्वेच्छाचारी देखिन्छ ।

पुरानो समयको यातायात सेवाको धेरैजसो भाडादर लोकस्मृति मात्र सीमित भएको देखिन्छ । पृथ्वी राजमार्गमा बस चलेपछि यात्रा गर्न थालेकासँग सम्पर्क गर्दा २०३२ सालतिर काठमाडौँ–पोखराको बसभाडा लगभग १५ रुपियाँ रहेको जानकारी प्राप्त भयो । 


यसैगरी काठमाडौँबाट त्रिशूली जाने गाडीको भाडादर एक समयको भाडादर प्राप्त भएको छ । पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेका अनुसार २०८० साल मङ्सिर १५ गते भएको कुराकानी अनुसार २०२२ सालतिर काठमाडौँदेखि त्रिशूलीसम्मको गाडी भाडा तीन रुपियाँ ४० पैसा थियो ।

कवि हृदयपाणि अधिकारीले अध्ययनका लागि २०२८ साल जेठ २६ गते गोरखाको पालुङटारबाट जहाज चढेर काठमाडौँ आएको र त्यसबेला हवाई भाडा ४० रुपियाँ जति रहेको स्मरण गरेका छन् । त्यसबेला ट्याक्सीको उतिविधि प्रचलन नरहेकाले  काठमाडौँ उत्रेपछि त्रिभुवन विमानस्थलबाट ठमेलसम्म रिक्सामा आउँदा पाँच रुपियाँ रिक्सा भाडा तिरेको पनि उनको स्मरण छ । 

बिसौनी

विगतका यी मूल्यसूची र अहिले बर्खायामको भेलसरी उर्लिएका दर–भाउबीचको अन्तरले देशको आर्थिक वृद्धिको उत्साहजनक तथ्याङ्कलाई सङ्केत गर्ला । त्योभन्दा पनि बढी यसले चुलिँदो महँगी, बढ्दो मुद्रास्फीति, आर्थिक अपचलन तथा हामीभित्र विकसित अनाचारपूर्ण द्रव्यमोहलाई गजबले सङ्केत गर्छ । विगत र वर्तमानको दर–भाउबीचको खाडललाई आर्थिक, सामाजिकलगायत विभिन्न कोणबाट विश्लेषण गर्न सकिने ठाउँ छ ।

हिजोका दर–भाउमा धार्नी, बिसौली, माना, पाथी, मुरीजस्ता परम्परागत मापन प्रणाली जोडिएर आउँथे भने अहिलेका दर–भाउमा किलो, लिटरजस्ता मेट्रिक मापन प्रणाली आएका छन् । नयाँ पुस्ताले परम्परागत मापन प्रणालीको हिसाबकिताब नै बिर्सन थालिसके । यसले हाम्रो बदलिँदो मापन प्रणाली र जीवनशैलीलाई इङ्गित गर्छ । 


दर–भाउको प्रसङ्गमा दिमाग तरङ्गित भइरहँदा अर्को सन्दर्भ पनि प्रत्यक्ष वा परोक्ष रूपमा जोडिन आउँछ । हामीले गीत सुनेकै हो ‘उहिले बाजेका पालामा रुपियाँ गन्थे डालामा, अहिले हाम्रा पालामा मकै छैन डालामा ।’ यो गीत आजको सन्दर्भमा कताकता असङ्गत लाग्न सक्छ तर गहिरिएर मनन गर्ने हो भने यसले हाम्रो बदलिँदो जीवनशैली र साँचो आर्थिक इतिहास बोलेको छ । 

हिजोका दिनमा नोटको चलन थिएन, सिक्काको चलन थियो । हुनेखानेले डालामा पैसा गन्थे र थैलामा पैसा राख्थे भन्ने सुनिन्छ । पैसाको थैला एक ठाउँबाट अर्को ठाउँमा भरिया लगाएर लैजाने चलन थियो भन्ने पनि बाक्लै सुनिएको हो । यसबाट असुविधा र असुरक्षा बढ्यो भनेर नोटको चलन आयो । यति गर्दा पनि असुरक्षा भयो भनेर बैङ्कमा पैसा राख्ने पद्धति विकास भयो । त्यतिले मात्र नपुगेर क्रेडिट कार्ड, क्रिप्टो करेन्सीजस्ता भर्चुअल पैसाको चलन आएको छ । 

सँगसँगै हाम्रो खानपानमा पनि आमूल परिवर्तन आएको छ । जङ्क फुड तथा फास्ट फुडको चलनले हामीलाई नराम्ररी गाँजिसकेको छ । अब डालामा मकै राख्नै नपर्ने भइसकेको छ । भर्चुअल पैसा प्रयोग गरेर घरमै रेडिमेड खानेकुरा मगाउन सकिने भएपछि डालामा मकै किन चाहियो ? गीतले भनेजस्तै अब न डालामा रुपियाँ गनिन्छ न त त्यसमा मकै राखिन्छ । क्या गजबको जमाना !

सरसर्ती हेर्दा फास्ट फुड र भर्चुअल पैसाले जीवनशैली खुबै सहज भएजस्तो लाग्छ तर यसैलाई अर्को पाटोबाट हेर्दा हाम्रो जीवनशैली स्वस्थ र अर्थ दुवै दृष्टिले असहज पनि बन्दै गएको देखिन्छ । बूढापाकाको बुझाइमा उहिले पैसा महँगो थियो, भाउ–बेसाहा सस्तो थियो । अहिले ठ्याक्कै उल्टो परिस्थिति छ, पैसा सस्तो छ तर भाउ–बेसाहा महँगो । 

यही प्रसङ्गमा दक्षिण कोरिया गएर आउनेले रमाइलो किस्सा सुनाएको सम्झना आउँछ । त्यतातिर ठूलो झोलामा पैसा लिएर बजार जाने र सानो झोलामा सामान किनेर ल्याउनुपर्ने अवस्था छ रे । साउने भेलझैँ उर्लिंदो मूल्यसूचीले हामीकहाँ पनि यही रोग तीव्र गतिमा भित्रिँदै गएको छनक मिल्छ । यस्तो अवस्थालाई उल्ट्याएर पैसा महँगो र भाउ–बेसाहा सस्तो तुल्याउन पाए हुने । आर्थिक नीतिकारहरूले यतातिर रचनात्मक कदम चालिदिए ठूलै लोकहित हुने थियो ।    

Author

यमबहादुर दुरा