महात्मा गान्धीले आफूलाई देशको तानासाह हुन दिइएमा उनको पहिलो घण्टा सबै मदिरा पसल बिनाक्षतिपूर्ति बन्द गर्नु हुने थियो भनेका थिए । गान्धीको विचारमा चोरी र वेश्यावृत्तिको जड मापसे (मादक पदार्थ सेवन) भएकाले यी दुईभन्दा पनि निकृष्ट विकृति हो । भूमण्डलीकरण, सहरीकरण, ओद्योगिकीकरण, मिडियाको प्रभाव र जीवनशैलीमा आएको परिवर्तनले मदिरा नेपाली जनजीवनमा बृहत् र निर्वाध प्रवेश गरिरहे छ । मादक पदार्थ नेपाली समाजमा आमशब्दावली बनेको छ । मापसे सामाजिक–आर्थिक हैसियतको द्योतक भएको छ । मापसेको व्यक्तिगत दुःख, पारिवारिक बजेटमा असर, पारिवारिक क्लेस, श्रम एवं स्वास्थ्यमा हानि, दुर्घटना र सोबाट हर्जाना भर्नुपर्ने अवस्था जस्ता बहुआयामिक दुष्प्रभाव देखिन्छन् ।
मापसेको हानिकारक प्रयोग सामाजिक र स्वास्थ्यसँग जोडिएको गम्भीर समस्या हो । मापसेले अल्पकालीन सुखद मनोदशा उत्पन्न गर्छ, आफूमाथिको नियन्त्रण कम गर्ने बनाउँछ र स्वच्छन्द महसुस गराउँछ, व्यक्तिलाई झोक चल्ने बनाउँछ । कतिपय समुदायको संस्कृतिमा रक्सी अभिन्न हुन्छ र मापसे गर्नु दिनचर्याको अङ्ग सम्झिइन्छ । मापसेलाई विलास र पलायनको साधन मानेर समाजका लागि विघटनकारी र पिउने मानिसको आदत बन्ने सम्भावना देख्ने समाज पनि रहेको छ । मापसेलाई संस्कृतिका रूपमा लिने र नलिने दुवैथरी समुदाय विद्यमान रहेको हाम्रो जस्तो समाजमा प्रत्येक तीन जना वयस्क पुरुषमा एक जनाले र ५ प्रतिशतभन्दा कम महिलाले मापसे गर्ने अनुमान विश्व स्वास्थ्य सङ्गठनको संसारका मापसेका पारखी दुई अर्बको सङ्ख्यामा भएको निष्कर्षको आधारमा गर्ने गरिएको छ ।
अमेरिकामा मदिरा निषेध (प्रतिबन्ध) हटाउनुको कारणमध्ये आर्थिक महामन्दीबाट गुज्रिरहेको अर्थतन्त्रलाई मदिराको उत्पादन र उपभोगबाट सङ्कलन हुने उल्लेख्य राजस्व पनि थियो तथापि मदिरा उद्योगबाट प्राप्त राजस्व र रोजगारी मापसेले पु¥याएको सामाजिक क्षति पुर्तालमा हुने व्ययको तुलनामा धेरै कम छ । मापसे गरेर अपराधको वारदात घटेमा कसुरदारको गिरफ्तारी, बिनाकाम र कमाइ थुनामा बस्नुपर्ने र राजकोषबाट निजलाई भरणपोषण गर्नुपर्ने, पीडित पक्षलाई पुगेको शारीरिक र मानसिक क्षति, कानुन कार्यान्वयन गर्ने निकायले अनुसन्धान र सुनुवाइमा लगाउनुपर्ने समय जस्ता सबै कुराको आर्थिक मूल्य मापन गर्न सकिन्छ । अस्पताल भर्ती गर्नुपर्दाको खर्च र समय पनि यसमा थप हुन्छ ।
मापसेको पक्षपातीका अनुसार जबसम्म असमानता, बेरोजगारी, गरिबी, अन्याय जस्ता भेदभाव सामाजिक ढाँचा र आर्थिक व्यवस्थामा रहिरहन्छ, तबसम्म तनाव जन्म दिने कुरा जारी रहन्छ र मापसे पनि जारी नै रहन्छ । हाम्रो समाजमा सञ्चालित सामाजिक व्यवस्था अधिकाधिक कुण्ठा र वञ्चना उन्मुख छ, त्यसैले मापसे घटेर जाने लक्षण छैन । व्यक्तिका आकाङ्क्षा उच्चतम भएका छन् तर तिनलाई पूरा गर्न न्यायसङ्गत साधन उपलब्ध छैनन् वा प्राप्त गर्न सकिन्न । आजको आवश्यकता भनेको देशभित्रै रोजगारी वृद्धि गर्नु, स्वच्छ प्रतिस्पर्धा, नियुक्ति, सरुवा र बढुवामा भ्रष्टाचार एवं भाइभतिजावाद कम गर्ने नीति र कार्ययोजनाको हो । मापसेले तनाव, दोष, चिन्ता र कुण्ठा कम गर्छ भन्ने भ्रम हो । यथार्थमा मापसेले कार्यकुशलता सामाजिक अस्तित्व स्तर या मात्र अस्तित्वका लागि न्यूनतम स्तरभन्दा पनि तल पु¥याइदिन्छ । मापसेले अन्तरवैयक्तिक सम्बन्धलाई समाप्त पार्छ र सामाजिक सम्बन्धलाई दुर्बल तुल्याउँछ ।
मादक पदार्थको प्रभावमा परेर अपराध गरिने कुरा जति सत्य हो, सबै अपराध रक्सीको मातमा नगरिने पनि सर्वविदित तथ्य हो । मापसे गरेर अपराध गरिने नभएर पहिल्यै सोचिविचारिएको कसुरजन्य कार्य मापसेपछि सम्पन्न गर्ने गरेको देखिएको छ । रक्सी सेवनले अपराध गर्न साहस दिन्छ; जसलाई ‘डच करेज’ पनि भनिन्छ । एक अध्ययनबाट ६२ प्रतिशत कसुरदारले हिंसाजन्य अपराध गर्दाका बखत मापसे गरेको पाइएको छ । यसैसँग जोडिएको रोचक तथ्य के छ भने यस्ता घटनाका पीडितमध्ये ४५ प्रतिशतले मापसे गरेको पाइएको थियो । मापसेपछि मानिस आक्रामक हुन्छ, लडाइँ गर्ने मनोदशामा हुन्छ । मापसे गरेको मानिस चोरी जस्तो उपयोगितातिर प्रवृत्त नभई हिंसात्मक कार्य गर्नतिर लिप्त हुने गरेको पाइएको छ । चोरी गर्दा ध्यान, चाल, सिप र कुशलताको आवश्यकता पर्छ; जुन कुरा मापसे गरेको मानिसमा हुँदैन । सवारीसाधन चोरी गर्नेले भने मापसे गरेको पाइएको छ ।
मापसे लागुऔषध सेवन जस्तो अपराध हैन तर मापसे गरेर सवारी चलाउनु सवारी तथा यातायातसम्बन्धी कानुनमा भएको सवारी चालकले सवारी चलाउँदा मदिरा वा लागुपदार्थ सेवन गर्नु हुँदैन भन्ने प्रावधानको उल्लङ्घन भई दुई सयदेखि एक हजार रुपियाँसम्म जरिबानाको सजाय हुने भएकाले स्वतः अपराध हुने कार्य गर्नु हो । मापसेपछि मानिस आफ्नो कार्यको परिणाम के हुन्छ भन्ने हेक्का राख्न सक्ने अवस्थामा हुँदैन । बलात्कारका वारदातमा अत्यधिक मापसे गरेको मानिस नसा र भावनात्मक उत्तेजनामा हुन्छ, आत्मसंयम गुमाउँछ । घरेलु हिंसामा अत्यधिक मापसे गरेको मानिसको अन्यलाई शारीरिक उत्पीडन गर्न सक्ने क्षमतामा ह्रास आएको देखिएको छ । ‘पीडित महिला’ लाई उत्पीडन गर्ने विशेष उद्देश्यले मापसे गरेको पाइएको छैन र महिलाविरुद्धका अधिकांश हिंसाको मापसे प्रमुख कारक नभएर केवल सहयोगी कारक देखिएको छ ।
नेपाली समाजमा नियमन नगरिएको रक्सीको सर्वसुलभताले अपराध गराउन र बढाउनमा प्रत्यक्ष सम्बन्ध राखेको छ । हिजो रक्सी सेवनलाई समाजले नै नियमन गरेको थियो, नैतिकतासँग जोडिएको थियो तर आजको समाजले यसलाई मान्यता दिएको छ । युवा अधिकाधिक कुण्ठित भइरहेका छन् । मापसेको नसामा अपराध गरेको हो कि अपराध गरेपछिको गल्ती महसुसको तनावलाई कम गर्न मापसे गरेको हो, छुट्याउन कठिन पर्छ । मापसेको नसाले छाडेर पूर्ववत् अवस्थामा फर्केपछि गरिसकेको अपराधले उसलाई ठुलो मानसिक द्वन्द्वमा पार्छ, पश्चाताप गर्छ । नसाको सेवनले पैदा गरेको उत्तेजनाबाहेक उसलाई अपराध गर्न दुरुत्साहन दिने अरू केही हुन्न । यस्तो गर्ने १८–२५ वर्षका युवा नै प्रमुख रूपमा रहेको देखिएको छ ।
रक्सीको नसा वा कुनै मनोद्दीपक औषधीको प्रभावमा अपराध गर्नेले आपराधिक दायित्वबाट छुट पाउने नीतिगत अवधारणालाई हाम्रो प्रणालीले आत्मसात् गरी नसके पनि अरूको करकापमा परी वा झुक्याई खान दिएको मादक पदार्थको प्रभावले अपराध ठहरिने कुनै काम हुन गएमा निजलाई आपराधिक जिम्मेवारीबाट फुर्सद दिनु न्यायोचित हुन्छ । किनभने त्यस्तो कार्य निजले स्वेच्छाले गरेको हैन । आपराधिक साहस बटुल्न स्वेच्छाले मापसे गरी त्यसको मातमा अपराध हुन गएको भए निजलाई कुनै छुट प्राप्त हुन सक्दैन । भारतीय दण्ड संहितामा यही अनुकूलको व्यवस्था भएको देखिन्छ ।
सबै परिवर्तन प्रगति हैन । नेपाली समाजमा द्रुततर गतिमा परिवर्तन भइरहेको छ । परन्तु परिवर्तनको दिशा के छ ? परिवर्तन कति तर्कसङ्गत छ ? परिवर्तनको लाभ कसले पाइरहेको छ ? मापसेको लतमा वृद्धि नेपाली समाजमा देखिएको परिवर्तनमध्येमा पर्छ । मापसे समाजबाट पूर्णतः उन्मूलन गर्छु भन्नु व्यावहारिक हुँदैन ।
मापसेलाई एकल कारक उपागम (सिङ्गल फ्याक्टर एप्रोच) बाट नभएर सम्पूर्णतावादी (होलिस्टिक) कारकद्वारा व्याख्या गरिनु पर्छ । मदिरा सेवन गर्ने अधिकांशले आनन्द, सन्तुष्टि वा तनावमुक्तिको अनुभूति गर्छन् । मदिराको रासायनिक तìवले स्वास्थ्यमा पार्ने असरको तुलनामा व्यसनीलाई सामाजिक सन्दर्भ र सांस्कृतिक परिवेशले पार्ने नकारात्मक असर बढी हुन्छ । पोषणको हिसाबमा एक ग्लास बियर त्यति नै बराबरी कोकभन्दा स्वास्थ्यवर्धक मानिन्छ । मदिराको हानिकारक प्रयोगबाट जनसाधारणलाई जोगाउने सरकारी कार्यक्रम हुनु पर्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार मदिराको हानिकारक प्रयोगबाट वार्षिक ३० लाख मानिसको अकाल ज्यान जाने गर्छ र यो कुल मृत्यु सङ्ख्याको ५.३ प्रतिशत हो । यस्तै २०–३९ वर्ष उमेर समूहका मानिसको मृत्युमा मापसेका कारण १३.५ प्रतिशत रहेको छ ।
नेपाल प्रहरीद्वारा चालकको मापसे परीक्षण अभियानले कैयौँको ज्यान जोगिएको, अपाङ्गता हुनबाट बचेको र स्रोतसाधनको बचत भएको छ । समाजमा मापसेका प्रति युवा जमातको बढिरहेको उन्माद (क्रेज) लाई महसुस गरी अहिले सबै खालका सञ्चार माध्यम, सहरका बिलबोर्ड र राजमार्गका होर्डिङबोर्डमा मदिरालाई पुरुषार्थी (म्याचो म्यान), खेलाडी र नायकीसँग जोडेर विज्ञापन गर्न रोक लगाइएको छ । मापसेको बहुआयामिक हानिकारक असरबारे उपभोक्तालाई सचेत गराउन समुदाय र सरकारी संयन्त्रहरूको चिकित्सा तथा आर्थिक क्षेत्रसँग सहकार्य र सहजीकरणका लागि उच्च तहबाट नीति र कार्ययोजनाको राजनीतिक इच्छाशक्ति र प्रतिबद्धता हुन बाँकी छ । मदिरा खरिद एवं सेवनको न्यूनतम उमेर, निश्चित समय, स्थान एवं अवसरमा मात्र मदिराको उपलब्धता र मापसेको हानिकारक प्रयोगबारे सचेतना शिक्षाको व्यवस्था पनि हुन बाँकी छ ।