• २२ वैशाख २०८१, शनिबार

वाफ महिला फुटबल : लेबनानलाई हराउँदै नेपाल फाइनलमा

blog

बल अगाडि बढाउँदै नेपालकी सावित्रा भण्डारी ।

काठमाडौँ, फागुन १६ गते । नेपाल साउदी अरेबियामा जारी वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

रियादमा मङ्गलबार राति भएको खेलमा नेपालले लेबनानाई २–१ ले हरायो । नेपालले दोस्रो हाफमा पुनरागमन जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।

नेपालले उपाधिको लागि जोर्डनसँग खेल्नेछ । पाँच पटकको विजेता जोर्डन सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोलले हराउँदै फाइनलमा पुगेको हो । 

नेपालको जितमा सावित्रा भण्डारी र प्रीति राईले गोल गर्नुभयो । प्रीतिले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै नेपालको जित सुनिश्चित गर्नुभएको हो । विपक्षीको  रिबाउन्ड बलमा उहाँलेले डिबक्स बाहिरबाट सोझै जाली चुमाउनुभयो । यसअघि सावित्राले ७५औँ मिनेटमा लेवनानको रक्षकको गल्तीमा पोस्ट छेउबाट गोल गर्नुभएको थियो । 

लेवनानले ३८औँ मिनेटमा नेपालकी रक्षक पूजा रानाको आत्मघाती गोल सहयोगमा अग्रता लिएको थियो । पूजाले गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा अगाडि बढेको अवस्थामा दिएको ब्याकपास आत्मघाती गोल भएको थियो ।

दोस्रो हाफमा सशक्त प्रदर्शन गर्दै नेपाल उपाधि नजिक पुग्यो । समूह बीबाट प्रतिस्पर्धा गरेको नेपालले सिरिया, इराक र प्यालेस्टाइनलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।


नेपाल पहिलो पटक वाफ महिला फुटबल च्याम्पियनसिपमा सहभागी भएको हो । यसअघि नेपाली महिला टोलीले विभिन्न १० फाइनल खेल खेले पनि उपाधि भने जित्न सकेको छैन ।