• १३ साउन २०८१, आइतबार

दुध तथा दुग्धजन्य पदार्थ आयातमा रोक

blog

काठमाडौँ, फागुन १४ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुध तथा दुग्ध पदार्थ आयातमा पूर्ण बन्देज लगाएको छ । 

दुध तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि भएपछि सो अनुसार आन्तरिक खपत नभएको तथा बाहिर मुलुकमा पनि निर्यात हुन नसकेका कारण अत्यधिक मौज्दात हुन गएको कृषि मन्त्रालयले जनाएको छ । 

अत्यधिक मौज्दात भएका कारण उद्योग सञ्चालन गर्न कठिन तथा किसानलाई भुक्तानी गर्न गाह्रो भइरहेकाले अन्य मुलुकबाट आयात हुने दुध तथा दुग्ध पदार्थ आयातमा रोक लगाउने भनी कृषि मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेको छ । 

दुग्ध क्षेत्रमा देखिएको समस्यालाई अस्थायी रूपमा समाधान गर्नका लागि अर्को निर्णय नभएसम्मका लागि आयातमा रोक लगाउने निर्णय भएको कृषि मन्त्रालयले जनाएको छ । भारतबाट दुध तथा दुग्ध पदार्थ आयात भइरहेका कारण आफूहरूको खपतमा समस्या भइरहेका गुनासो डेरी उद्योगीले गर्दै आइरहेका थिए । 

भारतमा दुध तथा दुग्धजन्य पदार्थ सस्तो भएका कारण चोर बाटोबाट पनि आयात भइरहेको डेरी उद्योगीको गुनासो छ । डेरी उद्योगीले दिएको पटक पटकको दबाबमा मन्त्रालयले यस्तो निर्णय गरेको हो । 

चिल्लो हटाइएको दुध (स्किम्ड मिल्क), चिनी वा अन्य गुलियो पदार्थ नहालिएको दुध, हरेक प्रकारको धुलो दुध, नौनी (बटर), घिउ, छुर्पी, प्रशोधित, भुजुरी वा धुलो नपारेको चिज, भुजुरी पारेका वा धुलो पारेको सबै प्रकारको चिज आयातमा पूर्ण रूपमा रोक लगाउने कृषि मन्त्रालयले निर्णय गरेको छ । 

डेरी उद्योगीले पाँच अर्बभन्दा बढीको दुग्ध पदार्थ मौज्दात रहेको जनाएको छ । दुग्ध पदार्थ बिक्री नहुँदा किसानलाई भक्तानी गर्न नसकेको उद्योगीले भन्दै आएका छन् । छ अर्बभन्दा बढी रकम किसानलाई भुक्तानी गर्न बाँकी रहेको कृषि मन्त्रालयले दाबी गर्दै आएको छ ।