लोकतन्त्र शास्त्रीय अर्थको राजनीतिक प्रणाली मात्र होइन; नागरिकको निरन्तर सतर्कता, सक्रिय संग्लग्नता र सहभागिताबाट गतिशील रहने जीवन पद्धति लोकतन्त्र हो । आधुनिक लोकतन्त्रलाई थाम्ने र उच्च स्तरमा विकास गर्ने क्रममा नागरिक समाज र मिडियालाई अत्यावश्यक स्तम्भको रूपमा स्विकार्नु गल्ती हुँदैन ।
नागरिक समाजको चरित्र विश्लेषण गर्दै प्रसिद्ध दार्शनिक हेगेल ‘एलेमेंट्स अफ द फिलोसफी अफ राइट’ मा लेख्छन्, ‘नागरिक समाज सार्वभौमिक आवश्यकताको एकता हो; यो यसको नैसर्गिक जग हो, र यसको एकता साँचो एकता हो, जसले अनेकतालाई बहिष्कार गर्दैन ।’ यो भनाइको तात्पर्य के हो भने जनताका धरातलीय यथार्थ र आवाज दर्शाउने विचार र अनुभूतिहरू राज्यका औपचारिक संयन्त्रभन्दा बाहिर यत्रतत्र प्रवाहित भइरहेका हुन्छन्, जसलाई सत्ता सञ्चालक र त्यसका तमाम औपचारिक अवयवले सुनेर र बुझेर कार्यसम्पादन गर्न सकेमा नै समाज उन्नत हुन्छ ।
त्यसै गरी, नागरिक समाजबारे बिसौँ शताब्दीका प्रभावशाली दार्शनिक जोन ड्युवे आफ्नो ग्रन्थ’ द पब्लिक एन्ड इट्स प्रब्लम्स’ मा यस्तो धारणा राख्छन्, ‘नागरिक समाज व्यक्तिहरूले आफ्नो आलोचनात्मक खोज, नैतिक विमर्श, र लोकतान्त्रिक प्रक्रियाहरूमा सक्रिय सहभागितासम्बन्धी क्षमताको विकास गर्ने सन्दर्भ हो ।’ यो भनाइले नागरिक समाज केवल व्यक्तिहरूको शीर्षकधारी झुन्ड हैन, बरु नागरिक तहका बहुलता अर्थात् भिन्नताको शक्तिलाई रचनात्मक, आलोचनात्मक एवं विश्लेषणात्मक ढङ्गले परिचालित गर्ने महत्वपूर्ण प्रक्रिया हो भन्ने तथ्यप्रति हामीलाई सजग पार्छ ।
विविध द्वन्द्वात्मक शक्तिहरूलाई संश्लेषित गरी जनताको जीवन रूपान्तरणमा सदुपयोग गर्नुपर्ने तात्त्विक अर्थ लोकतान्त्रिक प्रणालीको विशेषता भएकोले बहुविचारको एकीकृत शक्तिपुन्जलाई लोकतन्त्रमा आत्मसात् गर्नु आवश्यक छ । भिन्नताहरूको व्यवस्थापन बहुलवादी चिन्तन प्रणालीको चिनारी भए तापनि हाम्रो चिन्तनको प्रकृति पर्याप्त मात्रामा खारिन नपाएको स्थिति विद्यमान रहँदासम्म यसबाट समग्रमा जनता लाभान्वित हुन पाउँदैनन् । यस सवालमा नेपालको लोकतान्त्रिक परिपाटी भिन्न मतलाई सुन्ने र चिन्तन गर्नेतिर पनि ढल्किनु आवश्यक छ । केवल दलगत हिसाबले साधनस्रोतको प्रयोगाधिकारको बाँडफाँट गर्ने परिपाटी बसालेर असली लोकतन्त्र स्थापित हुन नसक्ने तथ्यप्रति लोकतान्त्रिक शक्ति अवश्य अनभिज्ञ छैनन् ।
प्रतिस्पर्धात्मक बहुदलीय प्रणाली बढी लोकतान्त्रिक मानिनुको मुख्य कारण यसले समाजमा विद्यमान विविधताको प्रतिनिधित्व गर्न तथा अनेक प्रतिभा, क्षमता, ज्ञान र सिपलाई विकासको मूलधारमा ल्याई सदुपयोग गर्न उत्प्रेरक भूमिका निभाउनु हो । हामीले अवलम्बन गरेको राजनीतिक बहुलताको बाटो यसरी मात्रै सार्थक बन्छ । बहुसङ्ख्यक जनताको बहुआयामिक प्रगति र हित नै यो प्रणालीको प्रमुख ध्येय हो; दुरुपयोगबाट दुःख र अशान्ति फैलिन्छ । यस सन्दर्भमा, नागरिक समाजले समाजकै समालोचनात्मक शक्तिको रूपमा राज्य र सर्वसाधारण दुवै पक्षलाई सजग बनाउने यत्न गर्छ । नैतिक र मानसिक रूपमा समाजलाई आवश्यक मार्गदर्शन गर्न प्रबुद्ध नागरिक समाजको भूमिका थप सक्रिय हुनु आवश्यक छ ।
साँचो अर्थमा, नागरिक समाजले आफूले विविध स्रोतबाट प्राप्त गरेको सूचनालाई खारेर समाजका लागि उपयोगी हुने बृहत् धारणा निर्माण गर्न सक्छ । नागरिक समाजले प्रशोधन गरेर सार्वजनिक गरेको सूचना राज्य र गैरराज्य कर्ताहरूका लागि निर्णय प्रक्रियामा सामान्यतः उपयोगी हुन्छन् । यसको अतिरिक्त, नागरिक समाज आफैँले अध्ययन अनुसन्धान गरी उत्पादन गरेको ज्ञानलाई नीति निर्माण तहले आआफ्नो क्षमता अनुसार उपयोग गर्न सक्छन् । यस प्रकार, समाजको प्रगतिका निम्ति नभई नहुने ज्ञान निर्माण गरी सम्प्रेषित गर्ने सिलसिलामा नागरिक समाजको जिम्मेवारी ठुलो हुन्छ ।
नागरिक समाज बृहत् वैचारिक शक्ति हो, जसले आममानिसको समस्या र अपेक्षाको विधायिका बाहिरबाट प्रतिनिधित्व गर्छ । जनताको पक्षमा समालोचनात्मक विचार तरङ्गित गर्ने प्रक्रिया नागरिक समाज हो । कुनै पार्टी वा राजनीतिक सङ्गठनभन्दा माथि उठेर निर्भीकतापूर्वक आमजनताको हितको पक्षमा पैरवी र दिग्दर्शन गर्न सक्ने व्यक्ति नागरिक समाजका वास्तविक प्रतिनिधित्व गर्ने उपयुक्त पात्र हुन सक्छन् । नागरिक समाज विश्लेषणात्मक तथा समालोचनात्मक बौद्धिक धार भएकाले यसबाट सार्वजनिक हुने जनचासोका विषयबारेका प्रबुद्ध विचारलाई राज्यका निर्णय गर्ने तहहरूले उपयोग गर्दा भुइँ तहमै लोकतन्त्रको विकास र सुदृढीकरणमा मद्दत पुग्छ ।
निर्णय गर्ने तहहरूले नागरिक आवाजको अर्थ पर्गेल्नु उनीहरूको लोकतान्त्रिक जिम्मेवारी पनि हो । सुशासनसम्बन्धी देखा परेका समस्याबारे नागरिक समाजले राज्य र राज्यका निकायलाई खबरदारी गर्छन् । सञ्चारका माध्यमले यसका निम्ति सहजीकरण गर्छन् । नागरिक समाज अन्तर्गत विशेषतः आआफ्ना क्षेत्रका विशेषज्ञ, अनुभवी र जागरुक पहलकर्ता सक्रिय हुने हुँदा मिडियाको सहयोगमा समाजलाई जागा राख्ने काममा उनीहरूको भूमिका उल्लेखनीय मानिन्छ । जनता जागा छन् भने लोकतन्त्रको दुरुपयोग गर्ने क्रियाकलापलाई निस्तेज पार्न सहज हुन्छ । नागरिक समाज मुख्यतः एउटा अपरिहार्य वैचारिक धार हो । यो धार विशेषतः मिडियाबाट प्रवाहित हुन्छ । मिडियाले समाजमा बगिरहेको नागरिक समाजको धारलाई सूचनाको गहकिलो स्रोतको रूपमा प्रयोग गर्छन् । त्यस्तै, जागरुक नागरिकलाई सार्वजनिक मञ्च उपलब्ध गराएर पनि मिडियाले महत्वपूर्ण काम गरेको हुन्छ । कुनै पनि विषयवस्तुलाई सिधैँ जनतासँग जोड्ने हैसियत भएकोले राज्यको चौथो अङ्ग मानिने मिडिया क्षेत्र जनताको अधिकतम हितमा प्रयोग हुनुपर्ने मान्यता राखिन्छ । त्यसैले, नागरिक समाजका प्रतिनिधिले राष्ट्रका लागि दीर्घकालीन महत्व राख्ने मुद्दालाई जिम्मेवारीपूर्वक अध्ययन/अनुसन्धान गरेर स्वस्थ र समालोचकीय ढङ्गले प्रवर्धन गर्न मिडियाको अधिकतम सदुपयोग गर्नु पर्छ ।
मिडिया दर्शनमा प्रभावशाली देखिएका वाल्टर लिप्म्यान् मिडियाको स्वतन्त्रतालाई कुनै विशेष अधिकारमा मात्र सीमित तुल्याउनु हुन्न भन्ने ठान्छन् । मिडिया स्वतन्त्रता त लोकतन्त्रको लागि जैविक आवश्यकता हो भन्ने उनको बुझाइ छ तर जनहितमा सो स्वतन्त्रताको सदुपयोग हुनु पर्छ । नेपालमा हाल डिजिटल मिडियाको बढ्दो उपस्थितिको माझ बहुसङ्ख्यक जनताको हितमा विषयवस्तु छान्ने र गुणस्तरका साथ प्रस्तुत गर्ने प्रक्रियामा सतहीकरणको समस्या वृद्धि भइरहेको छ । यस सवालमा चौथो अङ्गलाई दिग्दर्शन प्रदान गर्ने सरोकारवाला पक्षहरूले आफ्नो सक्रियता बढाउनु आवश्यक छ । नागरिक समाजको स्वतन्त्र आवाज देशमा अर्थ राजनीतिक स्वार्थ समूहहरूको पूरै अनुकूल नहुन पनि सक्छ । तर आलोचाकीय ऊर्जाबिना लोकतन्त्र सही दिशामा गतिशील हुन सक्दैन । लोकतान्त्रिक पार्टीको अस्तित्व र औचित्यसमेत बलियो बनाउन मद्दत पु¥याउने नागरिक समाजको आलोचाकीय ऊर्जा उपयोग योग्य हुन्छ । यस्तो नागरिक ऊर्जा प्रवाहित गर्न मिडिया क्षेत्र अग्र सक्रिय हुनु जाहेज ठहर्छ ।
नागरिक समाजलाई जनताका मुद्दामाथि बहस र विवेचना गर्न मिडियाले मञ्च उपलब्ध गराउँछ । समाजका विज्ञहरूले सार्वजनिक हितका विषयमा अध्ययन/अनुसन्धान गरी प्राप्त गरेको तथ्यलाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने प्रभावकारी ठाउँ मिडिया नै हो । यसका निम्ति स्वयम् मिडिया क्षेत्रमा पर्याप्त मात्रामा विषयगत एवं पेसागत अन्तर्दृष्टिको विकास हुनु आवश्यक छ । नत्र उपभोक्तावादी मनोढाँचा एवं सेलेब्रिटिज्मको असर स्वरूप जनताको सामाजिक मनोविज्ञान सतहीकृत हुँदै जान्छ । सामाजिक मनोविज्ञानको सतहीकरणबाट राष्ट्रको लोकतान्त्रिक अभ्यासलाई गुणस्तरीय र मजबुत बनाउन कठिन हुन्छ । नेपालमा अपनाइएको प्रतिस्पर्धात्मक बहुदलीय प्रणाली अन्तर्गत पार्टीहरू बिच एजेन्डागत र कार्यसम्पादनमा प्रतिस्पर्धा होस् भन्ने हेतुले नागरिक समाज र मिडिया अग्रसक्रिय हुनु पर्छ ।