• १२ साउन २०८१, शनिबार

पाल्हीनन्दनको नन्दनगर पर्यटकको रोजाइमा

blog

पाल्हीनन्दन (नवलपरासी), फागुन १२ गते । पछिल्लो समय पश्चिम नवलपरासीका पर्यटकीय स्थलमा पर्यटकको चाप बढेको छ । प्रायः सुनसान रहने यहाँका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।

पाल्हीनन्दन-६ मा अवस्थित प्राचीन नन्दनगर अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । परासी सदरमुकामबाट करिब सात किलोमिटर दक्षिण पाल्हीनन्दनको सनइ गाउँ नजिकै ऐतिहासिक नन्दनगर अवस्थित छ । “सनइ भन्ने गाउँको पश्चिमतर्फ ऐतिहासिक नन्दनगर छ । प्राचीन नन्दनगरसँग प्राचीन कोलिय गणराज्यको इतिहास जोडिएको जानकारहरू बताउँछन्”, पाल्हीनन्दन-६ का वडाध्यक्ष क्रिसचन्द्र यादवले भन्नुभयो ।

यस क्षेत्रको संस्कृति संरक्षण र पुनः उत्थान गर्न रामग्राम-१८ मा रहेको पण्डितपुरबाट नन्दनगरसम्म आनन्द जात्रा निकाल्ने योजना रहेको उहाँले बताउनुभयो । जात्रापछि संस्कृतिका रूपमा नन्दनगर विकसित हुँदै जाने वडाध्यक्ष यादवको विश्वास छ । बौद्धकालीन इतिहाससँग जोडिएका सांस्कृतिक सम्पदाको संरक्षण गर्न जात्रा निकालिने उहाँले जानकारी दिनुभयो ।

ऐतिहासिक नन्दनगरको प्राकृतिक मनोरम दृश्यावलोकन, सडक सञ्जाल विस्तार, आवास तथा भोजनका लागि होमस्टे (घरबास) सञ्चालन भइरहेकाले आन्तरिक पर्यटकको रोजाइमा नन्दनगर पर्न थालेको वडा सदस्य सुनिता सहानीले बताउनुभयो । यहाँ पर्यटकको आगमन बढेसँगै स्थानीयको आय पनि क्रमशः वृद्धि भएको उहाँले बताउनुभयो । रासस