• १२ साउन २०८१, शनिबार

अँगेनोको आगोले घर खरानी

blog

मलेखु, फागुन १२ गते । पानी परेर चिसो बढेपछि कोठा न्यानो बनाउन अँगेनोमा बालेको आगो सल्किँदा उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका-१ रिचेतमा एउटा घर जलेर खरानी भएको छ । गएराति अँगेनोको आगो फुसको छानामा फैलिएपछि सिपी तामाङको कच्ची घर जलेको स्थानीय पूर्ण तामाङले जानकारी दिनुभयो ।

“दिउँसो पानी परेको थियो, साँझ चिसो बढेकाले परिवारका मानिसले अँगेनोमा आगो तापेर त्यसै छाडेका रहेछन्”, तामाङले भन्नुभयो, “अँगेनोमा आगो निभेको ठानेर सुत्न गएका उनीहरू घरमा आगो लागेपछि ब्युँझिएका थिए । आगोले घरमा रहेको सबै अन्नपात नष्ट भएको छ ।” करिब २० मुरी धान, मकै, कोदोलगायत घरमा भएका सबै अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागीबाट करिब १३ लाख बराबरको क्षति भएको स्थानीयले बताएका छन् । रासस