आफ्नो आत्माको आवाज सुन, त्यहाँ तिमी सत्य भेटाउँछौँ’
– सन्त कविर
सन्तजनहरू भन्छन्– एक व्यक्ति जीवनभर म खुसी हुनु पर्छ भनेर होइन अरूलाई म खुसी भएको देखाउनु पर्छ भनेर भागदौड गरिरहन्छ । म सुखी हुन्छु भनेर होइन अरूका अगाडि दुःख लुकाउनु पर्छ भनेर दौडिरहेको हुन्छ । म कस्तो छु भनेर होइन अरूले मलाई कस्तो देख्नुपर्ने हो भनेर भागदौड गरिरहन्छ ।
जीवनको ९० प्रतिशत ऊर्जा अरूले के भन्छन् र अरूको अगाडि कस्तो देखिने भनेरै बित्छ । उसले आफ्नो अन्तर्मनको कुरा सुन्दैन, सुन्ने कला पनि थाहा छैन । आत्मा छ भन्छ, आत्मासँग नजिक हुन डराउँछ किनकि आत्माले सत्य बोल्छ, सत्य देख्छ, उसले झुक्याउन सक्दैन । मानिस थाहा भएको ज्ञानसमेत व्यवहारमा उतार्न सक्दैन, त्यसैले उसको जीवनमा समस्या छ । अज्ञानता नै समस्या हो अर्थात् थाहा भएको कुरालाई आफ्नो जीवनमा लागु गर्न नसक्नु नै अज्ञानता हो ।
व्यक्तिको रोजाइ
व्यक्तिको जन्म कहाँ र कहिले, कसको कोखमा, कुन भूगोलमा जन्म लिने भन्ने उसको रोजाइमा छैन तर जीवनकालमा के रोज्ने यो उसको हातमा छ । जीवन पाउनु अर्थात् जीवन दिनु अस्तित्वको कृपा हो तर यसलाई सुन्दर बनाउने रोजाइ व्यक्ति स्वयम्को हो । प्रत्येक व्यक्तिले आफ्नो जीवनकालमा प्रत्येक दिन, प्रत्येक क्षण, प्रत्येक कर्ममार्फत, प्रत्येक सम्बन्धमार्फत केही न केही रोजेकै हुन्छ । भलै, उसको रोजाइ सुझबुझसहितको मूल्यवान् र विधायक होस् या हतारमा रोजेर पछि पछुताउने होस् । उसकै रोजाइ त उसको जीवनचव्रm बनेको हुन्छ ।
कहाँ जाने, के गर्ने, कस्तो खाने, कस्तो जीवनशैली बनाउने, कस्तो स्वास्थ्य, सफलता, असफलता, दुःख, सुख यो सबै उसकै रोजाइबाट आएको त हो । भनिन्छ नि– जीवनमा सबै कुरा सम्भव छ तर रोजाइ आफ्नै हुनु पर्छ । रोज्नु नै छ त आफ्नो जीवनलाई सुख, प्रेम, शान्ति, आनन्द र गर्व मिल्ने कर्म र सम्बन्ध किन नरोज्ने ? रोजे पाइन्छ त बहुजन हिताय, बहुजन सुखाय, सर्वमङ्गल कार्य किन नरोज्ने ? रोजाइ आफ्नै हो त यो जीवन र परमार्थ पनि खुसी र तृप्ति मिल्ने कर्म किन नरोज्ने ?
असत्यबाट सत्य, कठोरताबाट करुणा र कन्जुस्याइँबाट परोपकार किन नरोज्ने ? यो प्रज्ञा कहिले जागृत हुने ? कसरी जागृत हुन्छ ? कम्तीमा त्यता सोच्ने हो भने न त कलह र वैमनस्यमा बाँच्नु पर्छ न त कसैलाई जित्न युद्धमै होमिनु पर्छ । रोजाइ सही नहुनु बेहोसीको परिणाम हो । जीवन सधैँ क्षणिक लाभको मोहमा, हतारमा, तुलना गर्दै अरूलाई उछिन्न र जित्न दौडिने प्रतिस्पर्धा र लालसामा अल्झिएको छ भने मेरो रोजाइ के र कस्तो हुनुपर्ने ख्याल बनिरहन्थ्यो । भिडले के गर्छ, अरूको के संस्कार र प्रचलन थियो र मैले त्यही गर्नु पर्छ भन्ने भिडको हिस्सा बन्न छोडेर असल कर्मका लागि असाधारणताको प्रस्तुति दिन सक्नु जस्तो सही रोजाइ के हुन्छ र ? हृदयको सुन्ने, आत्मगत सुन्ने, अन्तर्मनको सुन्ने र आफ्नो विवेक प्रयोग गर्ने रोजाइबाट अस्तित्वले वञ्चित गरेको छैन ।
व्यक्ति आफू जान्दैन र अस्तित्वलाई मान्दैन अनि दुःख र प्रतिस्पर्धाको भूमरीमा परिरहन्छ । जसले आफैँलाई स्विकार्न सक्छ, हरेक अनुकूलता र प्रतिकूलतालाई आत्मसात् गर्न सक्छ, सही कर्म गर्छ तर परिणाम जस्तो आउँछ स्वीकार गर्छ, आफ्नो निजतामा रमाउँछ र स्वान्त सुखायको कर्म गर्छ भने उसको रोजाइ सधैँ विधायकतातिरको हुन्छ । अरूको भय, अरूका लागि, अरूको अनुसार केवल राम्रो देखिन र देखाउनका लागि देखाइने स्वभाव र कर्म देखावटी हुन्छन् । अब सोच्नुपर्ने हुन्छ– म देखावटी गरिरहेछु या आफ्नै निजतामा रहेर ।
अस्तित्वको रोजाइ
अस्तित्व प्राकृतिक नियमले चल्छ । प्रकृति परम् नियममा चल्छ । अनुकूल र प्रतिकूलको सन्तुलनमा अस्तित्व आफ्नो खेल खेल्छ । जस्तोसुकै परिस्थिति होस्, अस्तित्व मङ्गलमय हुन्छ । अनुकूल सही लाग्नु र प्रतिकूल गलत लाग्नु मानिसको आफ्नो धारणा हो । मानिस धारणा बनाउनबाट रोकिँदैन । हरेक कुरालाई, हरेक परिस्थितिलाई उसले धारणा बनाउँछ र सुखदुःख अनि सफलता र असफलताका कथा बुन्छ । अस्तित्व चाहन्छ मानिस सन्तुलनको नियममा रहेर परम् नियमलाई स्विकार्ने स्वभावको जागृत गरोस् ।
आजको प्रतिकूल भोलिको अनुकूल हुन सक्छ, त्यो अस्तित्व बताउँछ तर मानिसमा त्यति धेरै धैर्य छैन, भोलिको पर्खाइको आनन्द लिन सकोस् । मानिसलाई तत्काल परिणाम चाहिएको छ, त्यो पनि आफ्नो रोजाइ अनुसार । प्रकृतिको रोजाइ सन्तुलनमा आधारित छ र ऊ कसलाई के चाहिन्छ दिन तयार छ । अस्तित्वको नियमलाई बुझेर समर्पणमा जिउनेहरू नै आध्यात्मिक भए भने आफ्नो क्षणिक सुखभोग खोजेर प्रतिस्पर्धामा चल्नेहरूलाई सांसारिक कथा व्यथाले पिरोलिरह्यो । थाहा भएर पनि त्यसलाई प्रयोग नगर्नु मानिसको अज्ञानतारूपी स्वभावले ऊ अकारण खुसी र शान्तिको अर्थ बुझ्न सक्दैन । उसलाई हरेक कुरा देखिने गरी चाहिन्छ । अस्तित्वको अदृश्य शक्ति र रहस्य उसले बुझ्न सक्दैन । सनातन धर्मका सन्देश होऊन् या बुद्ध पुरुष र ऋषिमुनिहरूले दिएका देशना, आफ्नो जीवनमा उतार्ने प्रयास गरेन, त्यसैले जति सुन्यो, देख्यो र जान्यो त्यो बाह्य ज्ञानमा सीमित भयो ।
गुह्य रहस्यबाट नै मानिस वञ्चित छ । १० प्रतिशत मानिसले मात्र त्यो गुह्य रहस्य जान्न सके भने पनि अस्तित्वसँगको तादात्म्यता जीवित रहने छ । व्यक्ति जति नै उदण्ड र प्रतिव्रिmयामा उत्रे पनि अस्तित्व मङ्गलमय छ । त्यसैले समयसापेक्ष आँखा देखाउने र जगाउने काम अस्तित्वले नै गर्छ । त्यसलाई बोध गर्न सक्ने खुबी भएमा व्यक्तिले थोरै समयमा पनि त्यो गुह्य रहस्य थाहा पाउन र त्यसमा जिउन सक्छ ।
विचार र ज्ञान
यद्यत्संद्दश्यते लोके सर्वं तत्कर्मसम्भवम् ।
सर्वां कर्मांनुसारेण जन्तुर्भोगान्भुनक्ति वै ।।
व्यक्ति आफ्नो विचार र कर्म अनुसारको फल जीवनमा भोग्दछ । एक जना साधु भिक्षा माग्दै हिँडेका थिए, भिक्षुलाई भिक्षापात्रमा जसले जे दिन्छ त्यही स्विकार्य हुन्थ्यो । एक व्यक्तिले उनलाई एक पोका मासु र एउटा किताब दिए । साधुले सोधे, यो के के हो ? ती व्यक्तिले भने, यो पोकोमा मासु छ र अर्को किताबमा कसरी पकाउने लेखेको छ । साधु मासुको पोकोलाई छेउमा राखेर किताब पढ्न थाले । त्यही बिचमा एउटा चिल आयो र मासुको पोको बोकेर उड्यो । साधु चिच्याउन थाले, हे मूर्ख चिल !
मासु कसरी पकाउने किताब मेरो हातमा छ मासुको पोको बोकेर लगेर के गर्छस् ? चिल उडेर आकाश माथि माथि पुग्यो ।
साधुकी पत्नी पतिले के भिक्षा ल्याउँछन् र पकाउँला भनेर बाटो हेरिरहेकी थिइन् । साधुले सबै कुरा बताए र भने, हेर न कति मूर्ख त्यो चिल, किताब मेरै हातमा छ मासु मात्र बोकेर उड्यो । पत्नी रिसाउँदै भनिन्– तिम्रो विचारले केही काम गर्दैन । चिललाई तिम्रो विचारको काम पनि छैन । उसलाई भोजन गर्नु छ, किताब पढेर पाकशास्त्र सिक्नु छैन । कहिलेसम्म तिम्रो विचारले काम गर्छ ? वास्तवमै जति विचार बढ्दै गयो त्यति मानिसमा भएको ज्ञान र स्वाध्याय पछि पर्दै गएको छ । विचारले जीवन्ततालाई पछि पारेको छ । विचार र सोचले मानिसलाई मानिस हुनबाट टाढा पु¥याइदिएको छ । एक मेसिनरी जस्तो, विचारको तल र विचारको लतमा जीवन तर्कवादी भएको छ ।