• १३ साउन २०८१, आइतबार

इलामको रोङमा बेसार खेती प्रवर्द्धन गरिँदै

blog

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम), फागुन ९ गते । इलामको रोङ गाउँपालिकाले बेसार खेती प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । किसानलाई बाँदर लगायतका जङ्गली जनावरले हैरान बनाएपछि वैकल्पिक खेतीका रूपमा गाउँपालिकाले बेसार खेती प्रवर्द्धन कार्यक्रम सुरु गरेको हो । 

गाउँपालिकाले गत वर्ष स्थानीय इको चिया उत्पादक सहकारीलाई अनुदानमा आठ सय ४० किलोग्राम बेसार उपलब्ध गराएको थियो । उक्त बेसार इको चिया उत्पादक सहकारीले ४५ जना किसानलाई खेती गर्न वितरण गरेको थियो । उक्त बिउँबाट चार हजार तीन सय ५० किलोग्राम बिउँ उत्पादन भएको छ । 

किसानले उत्पादन गरेको बिउँ ४० रुपियाँ प्रति किलोका दरले सहकारीले खरिद गरेको छ । सहकारीले किसानबाट खरिद गरेको बेसारको बिउँ किसानलाई वितरण गर्ने योजना रहेको सहकारीले जनाको छ । गत वर्ष बिउँ पाएपछि स्थानीय शान्त कुमारी लाप्चाले एक किलोग्राम बेसारको बिउँबाट १६ किलोग्राम बेसार उत्पादन गर्न सफल बन्नुभएको थियो। उहाँले बाँदर लगायत जङ्गली जनावरले अन्य खेती गर्न नदिएर उठीबास बनाएको बेला बेसारमा कुनै जङ्गली जनावरले क्षति नगर्ने भएका कारण बेसार खेती उपयोगी भएको बताउनुभयो । उहाँले भन्नुभयो, "थोरै रकम खर्च गर्दा धेरै आम्दानी गर्न सकिने यो अति सजिलो खेती हो ।"

गाउँपालिकाले ६ वटै वडालाई उत्पादनमा जोडेर प्रशोधन उद्योग स्थापना गर्ने लक्ष्य लिएको छ । गाउँपालिका अध्यक्ष मनीकुमार स्याङबोले बेसार उत्पादनबाट आर्थिक वृद्धि हुने ,रोजगार सृजना हुने, बेसारमा आत्मा निर्भर बन्न सकिने, आयत प्रतिस्थापन गर्न सकिने, निर्यात उन्मुख रहने र ग्रामीण अर्थतन्त्र चलायमान हुने बताउनुभयो । पालिकाले आगामी दुई वर्षभित्रमा प्रति वर्ष दुई लाख किलोग्राम बेसर उत्पादन गरी उद्योग सञ्चालन गर्ने लक्ष्य लिएको अध्यक्ष स्याङबोले जानकारी दिनुभयो । पालिकाले कपुरबोट १ जातको बेसार गाउँमा वितरण गरेको छ । 

२०७८ सालमा बुटवल सोलार प्लान्टबाट उपलब्ध भएको दुई सय किलोग्राम बेसार अहिले तीव्र गतिमा विस्तार भएको छ । "बेसार खेतीले आयात प्रतिस्थापन गरी देशलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने विश्वासका साथ खेती गराउन थालेका हौँ," अध्यक्ष स्याङबोले भन्नुभयो ।

पालिकाले बेसार खेती बढाएर आगामी वर्षबाट ‘रोङ बेसार’ ब्राण्डिङ गरी बजारमा ल्याउने भएको छ । पालिकाले यस अघि गुन्द्रुकको ब्राण्डिङ गरी बजार ल्याउँदै आएको छ ।