काठमाडौँ, असार २४ गते। आन्दोलनरत चिकित्सक र तीन जना मन्त्रीबिच छलफल जारी छ। नेपाल चिकित्सक सङ्घको अगुवाइमा आन्दोलनरत चिकित्सकसँग तीन जना सम्बन्धित मन्त्रीले छलफल गर्नुभएको हो।
नेपाल चिकित्सक सङ्घले उठाएको मागको सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसिया तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलसँग छलफल भएको हो।
आन्दोलनरत चिकित्सकका तर्फबाट नेपाल चिकित्सक सङ्घ, अफिन, एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज, नेपाल डेण्टल एशोसिएसन, नर्सिङ् एशोसिएसन अफ नेपाल लगायतका संस्थाका प्रतिनिधिहरू वार्ताका लागि गएको चिकित्सक सङ्घले जनाएको छ।
उपभोक्ता अदालतको फैसलामा असन्तुष्टि जनाउँदै सङ्घको अगुवाइमा देशभरका चिकित्सक आन्दोलनमा छन्। निजी तथा सरकारी अस्पतालका चिकित्सकले सोमबारदेखि आकस्मिक बाहेकका सेवा बन्द गरेका छन्।
मङ्गलबार साँझ सङ्घले नेपाल मेडिकल काउन्सिलमा चिकित्सकको लाइसेन्स बुझाउने कार्यक्रम तय गरेको छ।