चन्द्र पन्दाक
ताप्लेजुङ, असार २४ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाको सिमानामा रहेको सिस्ने खोलामा मोटर गुड्ने बेलिबिज निर्माण गरिएको छ । निर्माणाधीय तमोर कोरिडोर सडकअन्तर्गत पर्ने सिस्ने खोलामा बेलिब्रिज निर्माण गरिएको हो ।
कुल २७.५ मिटर लम्बाई भएको बेलिब्रिज तीन दिनकै अवधिमा सोमबार जडान गरी सकिएको हो । बेलिब्रिज भने माथिल्लो तमोर जलविद्युत आयोजनाले निर्माण गरी दिएको हो । करिव चार करोड रुपियाँको लागतमा बेलिब्रिज निर्माण गरिएको माथिल्लो तमारे जलविद्युत आयोजनाका संयोजक सम्झाना क्षेत्रीले जानकारी दिनुभयो ।
आयोजना संयोजक क्षेत्रीका अनुसार कम्तीमा चार दिनमा बेलिब्रिज जडान गरी सक्ने लक्ष्य राखेकोमा एकदिन अगावै अर्थात तीन दिनभित्रै जडान कार्य सम्पन्न भएको हो । यता सिस्ने खोलामा बेलिब्रिज निर्माण भएसँगै निर्माणाधीन तमोर कोरिडोरसहित सो क्षेत्रका सडकमा यातायात सञ्चालनमा सहज हुने भएको छ ।
सदरमुकाम फुङ्लिङ हुँदै तिब्बतसँगको सिमाना टिपताला जोडिने तमोर कोरिडोर सडक र फक्ताङ्लुङ गाउँपालिकाका सबै सात वटै वडाअन्तर्गत रहेका सडकमा यातायात सञ्चालन गर्न बेलिब्रिजले सहज हुने बताइएको छ । विशेषगरी बर्खायाममा सिस्ने खोलामा पुल नहुँदा यातायात सञ्चालनमा समस्या रहेको थियो । बेलिब्रिज निर्माणले अब हिउँद बर्खा दुवै मौसम यातायात सञ्चालनमा सहजता हुने भएको हो ।
फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा तमोर इनर्जी प्रालिले २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण गर्न सुरु गरेको छ । आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सिस्ने खोलामा बेलिब्रिज निर्माण गरेको बताइएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य कार्यहरु पनि गर्दै आएको आयोजनाले जनाएको छ ।