बाजुराको स्वामिकार्तिक गाउँपालिका यहाँका दुर्गम तथा पछाडि परेका गाउँहरू वाई, साप्पाटा र जुकोट गाविस मिलेर बनेको हो । कर्णाली नदीपारिको यो गाउँपालिकामा नेपाली कांग्रेस पार्टीबाट ४३ वर्षीय भरतबहादुर रोकाया पालिका अध्यक्ष हुनुहुन्छ । गाउँपालिकामा केही राम्रो काम गरेर इतिहास बनाउने योजनामा रहनुभएका अध्यक्ष रोकायासँग सडक, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा भएको परिवर्तन र समाज सुधारका लागि गरिएका उपलब्धिमूलक कामकारबाही, योजना, कार्यान्वयन र चुनौतीका बारेमा गोरखापत्र बाजुरा समाचारदाता शेरबहादुर सार्कीले गरेको कुराकानी :
तपाईं गाउँपालिकाको अध्यक्ष भएको झन्डै दुई वर्ष पुग्न थाल्यो । यो अवधिमा जनताका लागि के कस्ता काम गर्नुभयो ?
यहाँका भौगोलिक विकटताका कारण मैले सोचे जसरी काम गर्न सकेको छैन । विगतका दिनमा गरेका विकास निर्माणका काम बर्खामा आउने बाढीपहिरोलगायत प्राकृतिक प्रकोपले विनाश भएका छन् । तैपनि गाउँपालिकाको अध्यक्ष भएर आएको दिनदेखि अहिलेसम्म जनताले केही महसुस गर्ने गरी काम गरेको छु । विपत्तिमा सहयोग गरिहेका छौँ । भूकम्पपीडितलाई २५ हजार अनुदान रकम दिएर व्यवस्थित गरेका छौँ । बाढीपहिरोको समस्या छ, भूगोल दुर्गम छ, त्यसैले धेरै चुनौती छन् । आन्तरिक आम्दानी १९ लाख रुपियाँ मात्र छ । ३७ करोड रुपियाँको बजेट छ तर सबै रकम विकासमा खर्च गर्न मिल्दैन तलब खर्चमा जान्छ । यस्ता धेरै कारणले कतिपय काम चाहेर पनि गर्न सकिएको छैन ।
शिक्षा, खानेपानी, सिँचाइ र रोजगारीका क्षेत्रमा के कस्ता काम गरिरहनु भएको छ ?
मेरो पहिलादेखि नै शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने ठुलो धोको थियो । जब व्यक्ति शिक्षित बन्छ तब उसले आफ्नो र समाजका लागि केही गर्छ । त्यसैले मैले पछिल्लो समय शिक्षा क्षेत्रमा लगानी गरेर सुधार गर्ने योजना बनाएको छु । योभन्दा पहिला विद्यालयस्तरका राष्ट्रपति रनिङ सिल्ड जस्ता कुनै प्रतियोगिता हुने गरेका थिएनन् । म अध्यक्ष भएपछि यो वर्षबाट अधिकांश विद्यालयले जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डमा सहभागी भएर पाँच वटा पदक जितेका छन् । यस पालिकाबाट दुई जना एमबिबिएस पढ्नका लागि छनोट भएका छन् । उनीहरूलाई एक लाख पुरस्कारको व्यवस्था गरेका छौँ । यो गाउँपालिकामा २१ वटा सामुदायिक विद्यालय छन् । यी विद्यालयको लेखा परीक्षण हुन थालेको छ । यहाँ पाखो जमिन बढी छ । पानी तल र जमिनमाथि भएकाले सिँचाइ गर्न निकै समस्या छ । स्वामिकार्तिक १ र २ का लागि ढिकेनी र रुडीमा सिँचाइ कुलो निर्माण हुन थालेको छ ।
कृषि उत्पादन बढाउन कस्ता कार्यक्रम गरिरहनु भएको छ ?
यो गाउँपालिका भेडाबाख्रा पालन गर्ने पालिकाका रूपमा चिनिन्छ । हाम्रो पालिकामा १४ हजार जनसङ्ख्या छ भने भेडाबाख्राको सङ्ख्या १८ हजार छ । भेडाबाख्रा पालन गर्न निकै सहज भएकाले प्रायः गाउँमा भेडाबाख्रा पालन हुन्छ । यसलाई व्यावसायिक बनाउन केही रकम विनियोजन गर्दै आएका छौँ । स्याउ खेतीको सम्भावना पनि धेरै छ । स्याउ खेतीमा विशेष ध्यान दिएका छौँ ।
पहाडमा सडक सञ्जाल बनिरहने, पहिरो गइरहने हुन्छ तपाईंको पालिकामा कस्तो अवस्था छ ?
गाउँपालिकाको सबै वडा सडक सञ्चालको पहुँचमा छन् । बर्खाको समय गाडी नचले पनि हिउँदको महिना भने प्रत्येक वडामा जिप, ट्याक्टर चल्ने गर्छन् । पहिले धनगढीबाट नेपालगन्ज जानु परेमा दुई दिन हिँडेर बुढीगङ्गा नगरपालिका, बेतालमाण्डौ र सदरमुकाम मार्तडीमा टिकट काट्न जानु पर्दथ्यो । अहिले यहाँका स्थानीयले घरमै जिप चढ्छन् । पहिरोको समस्या पनि छ । सबैभन्दा बढी बाढीपहिरोको जोखिम भनेको मुक्तिकोट बस्ती हो । त्यो बस्ती स्थानान्तरणका लागि सुरक्षित ठाउँको पहिचान गरेर सोही ठाउँमा बसाल्ने योजना छ ।
प्राथमिक उपचारका लागि पनि कोल्टी जाने अवस्थाको अन्त्य कहिले हुन्छ ?
अहिले गाउँपालिकामै तीन वडा स्वास्थ्य चौकी चार बर्थिङ सेन्टर, दुई वटा सामुदायिक स्वास्थ्य केन्द्र गरेर नौ वटा स्वास्थ्य संस्था सञ्चालित छन् । पहिलेको जस्तो अहिले यहाँका स्थानीयले प्राथमिक उपचारका लागि बाहिर जानुपर्ने अवस्था छैन । प्राथमिक तथा सामान्य स्वास्थ्य उपचार वडा र पालिकामै हुन्छ । जटिल खालका रोगको उपचारका लागि कोल्टी हुँदै सुर्खेत, नेपालगन्ज र धनगढी पठाउनुपर्ने अवस्था छ ।