• २८ असार २०८२, शनिबार

चार पत्रकारलाई युवा पत्रकारिता पुरस्कार प्रदान

blog

‘युवा पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत सञ्चारकर्मीहरु ।

काठमाडौँ, असार २७ गते । युवा तथा खेलकुद मन्त्रालयले यस वर्षको ‘युवा पत्रकारिता पुरस्कार’ चारजना पत्रकारलाई प्रदान गरेको छ । सञ्चारकर्मी प्रकृति दाहाल र गगनशीला खड्का (कान्तिपुर पब्लिकेशन), ममता थापा (अन्नपुर्णपोष्ट) र सुशील दर्नाल (राष्ट्रिय समाचार समिति) उक्त पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । 

मन्त्रालयले आयोजना गरेको ‘युवा पत्रकारिता पुरस्कार–२०८१’ वितरण समारोहमा शुक्रवार खेलकुद मन्त्री तेजुलाल चौधरीले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।

पुरस्कारका लागि दर्ता हुन आएका ४६ आवेदनमध्ये युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५ (दोस्रो संशोधन, २०८१ सहित) को दफा ४ को उपदफा (२) बमोजिम मूल्याङ्कन तालिकाका आधारमा अधिकतम अङ्क प्राप्त गर्ने पत्रकारलाई पुरस्कार प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।  पुरस्कारको राशि ५० हजार रुपियाँ छ ।

खेलकुद मन्त्रालयका सचिव डा‍ हरिप्रसाद लम्सालको संयोजकत्वमा गठित ‘युवा पत्रकारिता पुरस्कार’ छनोट समितिले पुरस्कृतहरूको छनोट गरेको थियो ।