इमानदार र असल आचरणबाट गरेको कर्ममा श्रद्धा हुन्छ । श्रद्धाले सम्मानजनक वातावरण निर्माण गर्छ । गीताले ‘कर्म गर फलको आशा नगर’ भनेको छ । यसको तात्पर्य कर्म गर फल अवश्य प्राप्त हुन्छ भन्ने बुझ्नुपर्ने हुन्छ । समाजसेवा वा पेसागत कर्म होस्, मानव कल्याणका लागि उच्चतम लाभको अपेक्षा गरिएको हुन्छ । लोकतन्त्रमा नागरिक अधिकारसहित कल्याणकारी राज्यका लागि राजनीतिक कर्मको चर्चा परिचर्चा हुने गर्छ । राजनीतिले समग्र क्षेत्रको नेतृत्व गर्ने हुँदा श्रद्धा र सम्मानयुक्त वातावरणबाट मात्र असल शासनको प्रत्याभूति गर्छ ।
नागरिक उत्कृष्ट जीवन जिउन अधिकारयुक्त लोककल्याणकारी राज्यको अनुभूतिमा रमाउन चाहन्छन् । लोकप्रियताले श्रद्धा र सम्मान हुने हुँदा राजनीतिको प्रमुख गन्तव्य जनताको मन जित्ने गरी कार्यक्षमता बढाउनु हो । शान्ति, सुरक्षा र सामान्य काममा राज्य लाग्नुपर्ने तर अन्य कुरामा स्वतन्त्र र खुला शासनको परिकल्पना अर्थशास्त्री एडम स्मिथले गरेकाले राजनीतिक दायरा सानो हुनुपर्ने तर्क रह्यो । जन्मदेखि मृत्युसम्म नागरिकलाई सेवा दिने दायराले शासकीय जिम्मेवारी बढ्यो । लोकतन्त्रपछि असल शासकीय व्यवस्था तय गर्न जनताका लागि, जनताद्वारा, जनताले गर्ने अभ्यासको आयामका रूपमा लिन थालियो । नेता, नीति र नेतृत्वको क्रियाशीलताले जनताको अपेक्षाको सम्बोधन गरी प्रभावकारी प्रतिफलको भूमिका बढाउन दबाब रह्यो । लोकतन्त्र र एकतन्त्रीय शासन व्यवस्थाको अभ्यास विगतमा पनि भइरहेको थियो । नेपाल अहिले पनि लोकतन्त्रको अभ्यासमै सक्रिय छ ।
लोकतन्त्रको इतिहास लामो नभए पनि आजका दिनसम्मको स्वतन्त्र मूल्याङ्कन गर्ने हो भने राजनीतिको प्रभाव आलोच्यमुक्त हुन सकेको छैन । जनसहभागिताको माध्यमबाट जनप्रिय भई शासनको जिम्मेवारी लिने प्रक्रिया नै लोकतन्त्रको असल अभ्यास हो । लोकतन्त्रमा जनअनुमोदित दलले जनतालाई डेलिभरी दिने र उनीहरूका समस्या हल गर्ने विषयमा कस्तो प्रभाव रह्यो भन्ने विषयले बढी चर्चा पाउने गरेको छ । नेतृत्वको दूरदृष्टि, कार्य प्रभावकारिता र असल जनसम्बन्ध एवं समग्र प्रभावको परिचर्चाले राजनीतिप्रति जनताको श्रद्धा र सम्मान हुने गर्छ । दलीय प्रणालीमा जुन दल लोकप्रिय र प्रभावकारी हुन्छ, सोही दलको चर्चा बढी हुन्छ । दलबिचमा राम्रो र जनप्रिय हुने होडबाजीले असल शासनका लागि अवसर प्राप्त हुन्छ ।
राजनीतिमा देखा परेका प्रवृत्तिका बारेमा जनता जानकार देखिएका छन् तर सुधारमा चासो दिएको पाइएन । नेता सुधार्ने काम जनताको हो । राजनीतिक प्रतिस्पर्धा गर्ने मात्र होइन, नेता जनतालाई डेलिभरी दिने काममा परिपक्व हुन नसकेको गुनासो छ । सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा जिम्मेवारी फरक भए पनि सत्तामा हुँदा बोली फेरिने र जनतामा भ्रम पैदा हुने गरेको पाइन्छ । दलीय नेतृत्वले कुरा राम्रा गर्ने तर कुरा अनुसारको काम गर्न नसकेको आरोप पनि त्यत्तिकै लाग्ने गरेको छ । नेतृत्वले सादा जीवन जिउने र कार्यकर्तालाई सदाचारी बनाउन दबाब दिनु पर्छ ।
कानुनी राज्यको कमजोर अवस्थाका कारण गलत प्रवृत्तिको ढाकछोप गर्ने र पक्षपोषण गर्ने प्रवृत्ति बढ्दो छ । चुनावी प्रक्रियामा असल, इमानदार र स्वच्छ छवि भएका व्यक्ति जनप्रतिनिधि बनाउने विषय पनि बढी आलोच्य देखिन्छ । राम्राभन्दा हाम्रा भन्ने प्रवृत्तिले अपराध गर्न राजनीतिको आड लिने एवं सजाय मिनाहा गर्ने प्रवृत्तिको आलोचना हुँदै आएको छ । सुशासनको विषयमा कमजोर र भ्रष्ट प्रवृत्ति बढ्दो छ । अध्ययन र अनुसन्धान प्रयोग गरी नयाँपन र रचनात्मक सुधार गर्ने प्रवृत्तिमा समेत राजनीतिक दक्षता बढेन । परिवारवादको चरम दुरुपयोग भएको र योग्य एवं सक्षम व्यक्तिलाई उपयोग गर्न सकिएको छैन ।
आर्थिक विकासको व्यवस्थापन र असल सामाजिक सम्बन्धमा समस्या बढ्दो छ । बाह्य क्षेत्रसँगको सम्बन्धमा त नेपालको राजनीति बढी नै आलोच्य भएको पाइन्छ । दुई ठुला छिमेकीको द्रुत विकासको प्रतिफल प्राप्त गर्न सन्तुलित कूटनीतिको अभ्यास हुन सकेको छैन भने शक्ति राष्ट्रको समेत चासोलाई व्यवस्थापन गर्न सकिएको छैन । बाह्य सम्बन्धलाई अवसरका रूपमा हेर्ने र सन्तुलित एवं प्रभावकारी सम्बन्धका लागि सामूहिक प्रयत्न कमजोर देखिएको छ । समग्रमा राजनीतिमा व्यापक सुधार गरी जनताको मन जित्न, श्रद्धा र सम्मानसहित प्रतिफल दिन सक्ने गरी अघि बढ्न अब ढिला गर्न हुँदैन । राजनीतिक व्यक्तित्व सबै खराब होइनन् तर खराब पक्षको दबदबा बढ्नु पक्कै पनि राम्रो सङ्केत होइन ।
नेपालमा केही भएन, नेताहरू उत्तरदायी र जवाफदेही भएनन्, शक्तिमा रमाउने एवं विलासी जीवन जिउन थाले भन्ने आरोप लाग्दै आएको छ । केही चाहिँ भएको छ तर जति हुनुपर्ने हो त्यो चाहिँ भएन । आर्थिक विकास र सुशासनमा जोड दिन सकिएन । मूल सङ्लो भए सबै सङ्लो र सफा हुने हुँदा राजनीतिक सुधारमा ध्यान दिन अति आवश्यक छ । राजनीतिक सुधार गर्ने पहिलो दायित्व राजनीतिकर्मीकै हो भने जनताले पनि सुधारका लागि दबाब दिनुपर्ने हुन्छ । राजनीतिमा सुधार हुँदा समग्र शासन व्यवस्थामा सुधारको प्रभाव देखिन्छ र जनता लाभान्वित हुन्छन् ।
राजनीतिक सुधार आन्दोलनले मात्र गर्छ भन्ने सोचमा परिवर्तन हुन आवश्यक छ । पहिलो सुधार दलीय व्यवस्थाको संस्थागत स्थायित्व हो । मानिसमा राजनीति लिने मात्र हो, दिने होइन भन्ने बुझाइ छ । राजनीतिको अन्तिम लक्ष्य कानुनी राज्य र लोकप्रिय शासनबाट जनताको हित प्रवर्धन गर्नु हो । स्वस्थ प्रतिस्पर्धा, निर्भीक रूपमा जनप्रतिनिधि छान्ने अवसरसँगै राजनीतिक दल जनताप्रति जवाफदेही र उत्तरदायी हुनु पर्छ । विश्वमञ्चमा गर्बिलो सम्बन्ध र उपस्थिति देखाउनु पर्छ । सुशासन र आर्थिक विकासमा खरो उत्रनु पर्छ । नेतृत्व सादा जीवन र दूरगामी सोचसहित अगाडि बढेमा जनकेन्द्रित कार्यदिशा तय गर्न सहज हुन्छ । नेतृत्वको रचनात्मक कार्यशैली, जनप्रिय कार्य व्यवहार एवं प्रतिफलमुखी जनसम्बन्ध हुन आवश्यक छ । जनताको अपेक्षा र कार्यशैलीबिचमा सन्निकटता हुनै पर्छ अनि मात्रै राजनीतिप्रति श्रद्धा जाग्दछ ।
सदाचारयुक्त वा अनुकरणीय व्यवहारसहित जनप्रिय कार्यशैली बनाउन आवश्यक छ । समूहकृत राजनीतिभन्दा गुणात्मकताले जनप्रियता बढाउने हुँदा त्यसतर्फ ध्यान दिनु पर्छ । स्वच्छ र सक्षम व्यक्तिलाई जिम्मेवारी दिन दलको लोकतन्त्रीकरण गर्ने, सादा जीवन र स्वच्छ व्यवहार अवलम्बन गर्ने र जनप्रिय हुने परिपाटी बसाल्नु पर्छ । आमसभा जस्तो एकतर्फी आवाज होइन, जनताको आवाजलाई सम्बोधन गर्ने रणनीति बन्नु पर्छ । अपराध र राजनीतिसँगको सन्निकटतालाई निरुत्साहन गर्न कानुनी राज्यमा जोड दिनु पर्छ । हाम्रोभन्दा राम्रो, योग्य र सक्षमको कदर गरी जनसम्बन्ध सुधारमा जोड दिनु पर्छ । जनताको निष्पक्ष मूल्याङ्कन र सुझावको सम्मान गरी सोही आधारमा भावी मार्गचित्र कोर्नु पर्छ ।
राष्ट्रिय स्वार्थका विषयमा साझा अवधारणासहित र बाह्य सम्बन्धमा साझा मतसहित एकबद्ध हुनु पर्छ । छिमेकी देशको प्रगतिको प्रभावबाट लाभ प्राप्त गर्न सन्तुलित सहकार्यमा जोड दिने, मित्र देश र विश्वमञ्चमा गर्बिलो सम्बन्ध एवं उपस्थितिसहित सामूहिक साझा प्रतिबद्धता जनाई राष्ट्रको प्रतिष्ठा बढाउने कार्यमा जोड दिन आवश्यक छ । विश्वमा आएका नयाँपन र रचनात्मक प्रभावको आत्मसात् गरी जनप्रियता बढाउनु पर्छ । विगतमा भएका द्वन्द्व र राजनीतिक घटनामा पीडित व्यक्ति र परिवारका पीडा अन्त्य गर्नु पर्छ । अबका दिनमा आन्दोलनबाट राजनीतिक अधिकार पाइन्छ भन्ने अवधारणालाई बदली असल राजनीतिक कर्मबाट जनप्रिय हुन आवश्यक छ ।
राज्यमा समानता र समताको पक्षपोषण गरी सन्तुलित र समावेशी शासकीय अवधारणामा साझा समझदारीको खाँचो छ । भूगोलको सम्बोधन र पछाडि परेका वर्ग समुदायको राजनीतिक सहभागितालाई आत्मसात् गर्नुपर्ने देखिन्छ । आर्थिक प्रतिफलमा जोड दिई मुलुकलाई लोकतन्त्रको लाभांशबाट समृद्ध बनाउन आवश्यक छ । लोकतन्त्रको जग राजनीति नै हो । राजनीतिक परिपाटी राम्रो भए जनताले राम्रो र हाम्रो प्रतिनिधि छान्न पाउने अधिकारबाट लोकप्रिय शासनको अनुभूति गर्न पाउँछन् । जनमतको श्रद्धा र सम्मान भएको लोकतन्त्रले मात्र प्रतिफल दिन सक्छ । राजनीतिको सुधार गर्ने दबाबको आधार जनता नै हुन् । विश्वमा भएका सफल राजनीतिक अभ्यासलाई आत्मसात् गरी नेतृत्वले स्वमूल्याङ्कन र जनमूल्याङ्कनका आधारमा सुधारसहित जनप्रिय कार्यदिशा तय गर्नु पर्छ । असल राजनीतिक कर्मले श्रद्धाको भावना जगाई जनतालाई लाभान्वित बनाउँछ ।