• १३ साउन २०८१, आइतबार

एग्रो रिसोर्ट आन्तरिक पर्यटकको रोजाइमा

blog

गलकोट (बागलुङ), फागुन ५ गते । स्थानीय खानाका परिकारसँगै प्रकृतिसँग रमाउँदै साहसिक पर्यटक बटुल्ने लक्ष्यसहित खोलिएको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’ ले पूर्णता नपाउँदै धेरैको रोजाइमा पर्न थालेको छ । गलकोटका युवा उद्यमी हुम थापाले तीन वर्षअघि सुरु गर्नुभएको उक्त रिसोर्ट पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । 

कलकल बगेको दरमखोला । छेउमै खरले छाएका कटेजसहितको रिसोर्ट । पुरानो शैलीमा निर्माण गरिएको घर, आधुनिक शैलीका पौडी पोखरी (स्विमिङ पुल) देखि गुलेली पिङसम्मका पूर्वाधार । गलकोटस्थित घुम्टेको फेदमा छ दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट । रिसोर्टमा घुम्न आउनेको सङ्ख्यामा वृद्धि भएसँगै तीन वर्षअघिदेखि सञ्चालनमा आएको रिसोर्टलाई बिस्तारै साहसिक पर्यटनको केन्द्र बनाउँदै लगिएको थापाले बताउनुभयो । 

रिसोर्टमा खाना र बस्नका लागि मात्र नभई साहसिक पर्यटकको रोजाइ बनाउनका लागि लगानी बढाउँदै आइएको उहाँको भनाइ थियो । थापाले रिसोर्टमा आधुनिक र परम्परागत दुवै शैलीसँगै लिएर भौतिक पूर्वाधार वृद्धि गरिरहेको बताउँदै हालसम्म रिसोर्टमा साढे दुई करोड लगानी भइसकेको जानकारी दिनुभयो । रिसोर्टमा पछिल्लो समय तीन वटा खरले छाएका कटेज र दुई वटा गुलेली पिङ थप गरिएको बताउँदै थापाले स्काई साइकिलिङ र जिपलाइन सञ्चालनको तयारी रहेको जानकारी दिनुभयो । 

गाउँमै सम्भावना खोजे विदेश जान नपर्ने सन्देश दिनलाई एग्रो रिसोर्ट स्थापना गरेको उहाँको भनाइ थियो । “रिसोर्टभन्नासाथ खान र बस्न भन्ने बुझिन्छ तर यसलाई साहसिक पर्यटनको गन्तव्य बनाउने उद्देश्य छ । दरमखोलामाथि जिपलाइन र स्काइसाइक्लिङको व्यवस्था मिलाउँदै छु”, थापाले भन्नुभयो, “रिसोर्टलाई फनपार्कका रूपमा विकास गर्न जग्गा अभाव भयो । अब साहसिक पर्यटन लक्षित गरेर सञ्चालनको तयारी भइरहेको छ । यहाँ रेम्बो ट्राउट माछाका परिकार लोकप्रिय छन् ।”

रिसोर्टमा अहिले दुई सय आन्तरिक पर्यटक आउने गरेको बताउँदै थापाले गर्मी महिनामा बढी पर्यटक आउने अपेक्षा रहेको उल्लेख गर्नुभयो । गलकोट नगरपालिकाको केन्द्र हटिया बजार नजिकै रहेको उक्त रिसोर्टमा चाडपर्वका समयमा आन्तरिक पर्यटकको भीड लाग्ने गर्दछ । अहिले रिसोर्टमा बस्नलाई जम्मा पाँच शय्या मात्रै रहेको बताउँदै करिब दुई सय क्षमता बराबरको स्थान रहेकाले यसलाई विस्तार गरिने थापाको भनाइ थियो । 

थापाका अनुसार असला माछा पाइने दरमखोलाको छेउको २८ रोपनी जग्गामा रेम्बो ट्राउट माछापालन, स्विमिङ पुल, गुलेली पिङसहितको रिसोर्टमा दैनिक दुई सय आन्तरिक पर्यटक अवलोकनसँगै माछाको परिकार खान आउने गरेका छन् । माछासँगै लोकल कुखुरा, हाँस, कालिजका परिकारकोसमेत स्वाद लिन पाइने उहाँले जानकारी दिनुभयो । गलकोट नगरपालिका-७ मल्म घर भई गलकोट नगरपालिका–३ मा थापाले उक्त रिसोर्ट सञ्चालनमा ल्याउनुभएको हो । 

ट्राउट १२ देखि १८ डिग्रीको तापक्रममा पाल्न सकिने प्राविधिक बताउँछन् । जापानी प्रजातिको ट्राउट माछा स्वाद र स्वास्थ्य दुवै हिसाबले उत्कृष्ट मानिने भएकाले बजारमा पनि ट्राउटको माग बढी रहेको थापाको भनाइ थियो । उहाँका अनुसार रिसोर्टमा आराम र पारिवारिक खानपानका लागि छुट्टै ‘कटेजहरु पनि बनाइएका छन् । साजसज्जाका कारण यहाँ पुगेर फोटो खिच्न स्थानीय लालायित हुने गरेका उहाँको भनाइ थियो । 

गलकोटका धेरै युवा विदेश गएका भन्दै आफूले स्वदेशमा नै केही गर्ने सोचका साथ रिसोर्ट स्थापना गरेको थापाले बताउनुभयो । उहाँले यस क्षेत्रलाई प्रकृतिसँग रमाउँदै साहसिक पर्यटनको केन्द्र बनाउने लक्ष्य रहेको बताउनुभयो । घुमफिर, मौलिक खानपान, संस्कृतिमा रमाउन चाहनेलाई रिसोर्ट उपयुक्त गन्तव्य बनिरहेको छ । रासस