• ९ मंसिर २०८१, आइतबार

सहरको फुस्रो घमण्ड

blog

महाकवि लक्ष्मीप्रसाद देवकोटा भन्नुहुन्छ, “हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको वेश आनन्दी मनले ।” धन को हो ? रुपियाँ, पैसा, घर, बैङ्क ब्यालेन्स धन हो ? धन आफैँमा रहस्यमय विषय हो । कसलाई धनी भन्ने ? मनको धनी चाहिँ धनी होइन ? खुसी जीवन गरिब हो ? तनावमुक्त शान्त जीवन गरिब हो ? आफैँ उत्पादन गरेर जिउने जीवन गरिब हो ? गाउँमा दस नङ्ग्रा घोटेर आफ्नो जीवन धान्ने आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनी सहरिया जीवन खुब सुखी सोच्नु भएको होला । कसैले सोच्दा सोच्दै देह त्याग गर्नुभयो होला । कसैले अनुभव पनि गरिरहनुभएको छ होला । कसैलाई गाउँको जीवन दिक्क लागेको छ भने एक पटक यो लेख अवश्य पढ्नुहोस् । 

जीवन एउटा अपूरो अनुभव हो । मानिस नचाहँदा नचाहँदै मृत्युको मुखमा होमिन्छ । मानिसको बाल्यकाल थाहा नपाई बित्छ । त्यसपछिको जीवन शिक्षा सङ्घर्षमा बित्छ । त्यसपछि छोराछोरीको रहनसहनमा बित्छ । त्यसपछि मृत्यु पर्खंदा पर्खंदै बित्छ । संसारका माया, मोह, घमण्ड माटोमा मिल्छ । त्यो कतै गाउँमा मिल्छ, कतै सहरमा मिल्छ । जता मिले पनि सबैको अन्तिम गाडी बाँसकै हुन्छ । कसैले गाउँ छोडेर सहर आउने योजना बनाउँदै हुनुहुन्छ भने तपाईं जीवनको स्वर्ग छाड्दै हुनुहुन्छ । अहिलेको नेपालको परिदृश्य पनि यस्तै यस्तै छ । हिमाल र पहाडको जनसङ्ख्या दिनप्रतिदिन घटिरहेको छ । तपाईं स्वर्ग छाडेर कता पस्दै हुनुहुन्छ, अहिले भन्न हतार हुन्छ । यो लेख पढेर आफैँ भन्नुहोस् । यो ड्युटी तपाईंलाई छाडेँ ।

सहरको सिमेन्ट, रड, बालुवा र इँटाको कृत्रिम ओडारभन्दा त गाउँको प्राकृतिक ढुङ्गा, माटोको ओडार नै सयौँ गुणा उत्तम हो, जुन वर्षौं टिक्छ अनि त्यो ठिक छ पनि । सहरका घरको १०० वर्षको आयु त एक पुस्तामा नै जान्छ । गाउँका घरले पुस्ता पुस्ता खाइदिन्छ । अनि को रहेछ त धनी, को रहेछ त सुखी ? यो सहरको कृत्रिम फ्यान, कुलरभन्दा त गाउँका पिपलका पातको त्यो सररर हावा नै लाखौँ गुणा उचित हो । फ्यान, कुलर राखेर घमण्ड गर्नेहरूदेखि दया लागेर आउँछ । तिनलाई के थाहा सालका पातको सरर बतास अनि त्यसको मिठास, ती बरका पातको सुस्केराको मजा ! अनि को रहेछ त धनी ? 

त्यो गाउँका दाउराको रापिलो आगो १५ केजी ग्यासवालालाई सायद नै थाहा होला । त्यो भारत सरकारलाई चित्त बुझेन भने निभ्न पनि सक्छ । अनि सहर दाउरा खोज्न गाउँमा जान्छ । सहरको आगो अर्काको नियन्त्रणमा छ । त्यो जतिबेला पनि टुट्न सक्छ, खोसिन सक्छ । सपना टुट्न सक्छ । फेरि एक बोहोरा रङ्गीन विदेशीले पठाएको चामल त्यो गाउँका भकारी, ढुकुटी, कोठा, थुन्चे, डोका डालासँग कदापि पनि तुलना हुन सक्दैन । त्यो गाउँका चिल्सा परेका अर्गानिक चामल, त्यसबाट आउने बाक्लो चौलानी सहरिया विषादीयुक्त महिनौँ अघि प्याक गरेका चामलसँग तुलना गर्नु मनासिब हुनै सक्दैन । अनि धनी को रहेछ त ? त्यो गाउँको अर्गानिक कोदो, मकै, फापर, गहुँ, जौ, गुन्द्रुक, सिस्नो आदिको महत्व सहरमा इन्सुलिनको गोली खानेलाई के थाहा ?

भारत तथा चीनबाट सयौँ दिनअघि प्याक भएर आएका फलफूल खाने सहरिया जीवनलाई के थाहा बोटैमा पाकेको केराको मजा, अम्बाको मजा, आँपको मजा । वास्तविक स्वाद नै हराएको वस्तु खाने सहरको फेरि कत्रो घमण्ड, मलाई उदेक लाग्छ तर पनि बाँचेपछि विचित्रता हेर्नु पर्दो रहेछ । सहरमा त्यो दुई आना जग्गामा बनेको घरको घमण्ड देख्दा मलाई आश्चर्य लागेर आउँछ अनि त्यो चार आना जग्गाको रवाफ । उफ, सास फेर्न गाह्रो हुन्छ । गाउँमा त्यो दुई आना जग्गामा त हाम्रो कुकुर बन्ने ठाउँ मात्र हुन्छ । हाम्रो हजुरबुवा हजुरआमाको बेड नै सायद त्योभन्दा ठुलो हुन्छ । त्यो गाउँको घरको आँगन, गाईवस्तु पाल्ने मटान, करेसाबारी, समग्र घरबारी सयौँ गुणा मूल्यवान् छ ।

गाउँको त्यो अटल बग्ने खोला कहिलै नसुक्ने धारा, बजारको ढल मिसिएको इनारको पानी अनि त्यो जारको र बट्टाको पानीसँग तुलना गर्ने मिल्दैन तर पनि तेही दूषित पानीमा कत्रो घमण्ड कत्रो ताकत ! सहरमा सिल्पिङ चक्की खाएर निदाउनेहरूलाई के थाहा परिश्रमपछिको त्यो मिठो निद्रा । सहरको त्यो धुवाँ, धुलोबाट आक्रान्त छातीले त्यो गाउँको महानता कहाँ सोच्न सक्छ र ? अझै पनि अहमता घमण्ड उही छ ।

छोराछोरीलाई सहरका ठुला ठुला विद्यालयमा भर्ना गरी नेपाली भाषा बोल्दा आत्मसम्मानमा आँच पुगेको ठान्नेहरूलाई के थाहा हाम्रो नेपाली भाषाको महानता । विशालता । फेरि त्यो जनशक्तिले नेपाली आमाको मुहारमा कहाँ त्यति धेरै ठुलो खुसी ल्याएको छ र ! सबैको गन्तव्य कि अमेरिका, युरोप, अस्टे«लिया कि क्यानडा, यस्तै यस्तै अनि विदेशी जनशक्ति उत्पादन गरेर के को गर्व ? नेपाली आमाको सुख र दुःखमा साथ दिने त ती घाँसको भारी बोकेर बाख्रा हेर्दै पढेकाहरू नै छन् । गाईभैँसीको भकारो सोहोरेर विद्यालय जानेहरू नै छन् । सन्तान बुढेसकालको सारथि हँुदैन भने त्यस्तो सन्तानको के काम ?

सहरको मम, चाउमिन, पिजा खाएर गर्ब गर्नेहरूलाई के थाहा मोही, मकै, त्यो गुन्द्रुक अनि चाम्रेको स्वाद, फेरि आजकाल केएफसी खाएर गर्व गर्ने एउटा जमात छ । फलानो ठाउँमा केएफसी खाँदाको अनुभव भनेर सामाजिक सञ्जाल रङ्गाउँछ । त्यो देख्दा मलाई तिनीहरूको खोक्रो राष्ट्रियता याद आउँछ । अनि म एकहोरो हुन्छु । कतै देशको पछौटेपनमा हाम्रै राष्ट्रप्रेममा त खोट छैन ? अहिलेको एउटा पुस्ता कि अङ्ग्रेजी कि हिन्दी गीत मात्र सुन्ने छ । तिनलाई नेपाली गीतको मिठासमा हराउने फुर्सद नै छैन । अनि तिनीहरूलाई संस्कृतिक उपनिवेशवादको पत्तै छैन । हामीलाई विश्वव्यापीकरणले दिएको उपहार यही हो त ? फेरि केको घमण्ड ?

जनावर नै हेर्न पैसा तिर्नेहरूलाई के थाहा त्यो प्राकृतिक चिडियाखानाको मजा । त्यो प्राकृतिक हरियालीको मजा । त्यो गाउँका कलकल बग्ने खोलानालाको मजा । कार बाइकमा हिँड्ने र सुगर, प्रेसर, डिप्रेसनको औषधी खानेहरूलाई के थाहा त्यो गाउँको उकाली, ओराली, भन्ज्याङ र चौतारीको मजा । त्यो बेँसी अनि लेकको आनन्द । सहरमा जिम हल गएर सकी नसकी फलाम उचाल्नेलाई सायद नै थाहा होला, त्यो हलो, कोदालो, जुवा, दाँते अनि फ्यौरी उचाल्दाको प्राकृतिक मजा ।

सहरमा आफ्नै घरकाले पनि बेला बेला चिन्दैनन् । एउटा घरमा लास उठ्दा अर्को घरमा पार्टी चलेको हुन्छ अनि कति निर्दयी छ यो सहर । गाउँको त्यो समन्वय, सहकार्य, सहअस्तित्व कदापि पनि सहरले परिपूरण गर्न सक्दैन । यो सहरमा कोही धरै खाएर बान्ता गर्दै हुन्छ भने कोही खानै नपाएर भोकै मारिरहेको हुन्छ । अनि कति अमानवीय, कति कठोर छ यो सहर । अनि यस्तो कुरूप ठाउँमा बसेर तेत्रो घमण्ड !

त्यो सहरमा कुकुर डुलाएर बाटो, चौर फोहोर गर्दै हिँड्नेलाई के थाहा त्यो बाख्रा, भेडा, गाईगोरु, भैँसी, खरायो, बिरालो पाल्नुको मजा । यसले एकातिर राष्ट्रलाई आत्मनिर्भर बनाउन सहयोग गर्छ भने अर्कातिर सन्तुलित भोजन खान पनि मद्दत गर्छ । फेरि त्येही कुकुर डुलाउनेको कत्रो फुर्ति ? गाउँका स्थानीय हाटबजारमा पाइने डोका, डाला, घुम, पेरुङ्गो, चित्रा, पिरा किन्दाको मजा चाइनिज रबरका सामान किन्नेहरूलाई थाहा हुने कुरै भएन । अनि गाउँको त्यो दुध, दही, घिउ, कोदो मकै खाने चाहिँ पाखे रे ! जुन आफ्नो स्वउत्पादन हो अनि अर्काले उत्पादन गरेर प्याक गरेर पठाएको खाने चाहिँ सभ्य रे ! सुन्दा पनि कान अपवित्र हुन्छन् ।

सहरको घरको छतमा राखेका कतिपय गमला भुइँचालो आउँदा बटुवाको ज्यान समाप्त गर्न पर्खिरहेका हुन्छन् । ती आँटी नआँटी माटो किनेर राखेका गमलामा कत्रो ठुलो घमण्ड । तिनीहरूलाई गाउँ नै एउटा सुन्दर बगैँचा हो भन्ने तथ्य सायद नै थाहा होला । उता हेर्‍यो स्याउ लटरम्मै, यता हेर्‍यो गुराँस ढकमकै, खेततिर हेर्‍यो लहलह धान झुलेको अनि मानिसको मन त झनै फुलेको । त्यो सहरमा कल्पनाबाहिरको विषय हो । अनि त्यो गाउँको खरको झुपडी सहरको महलभन्दा लाखौँ गुणा शान्त र सौम्य छ । त्यो खरको छानाको न्यानोपन, शीतलता कहिल्यै भुल्नै सकिँदैन अझै पनि सहरको खोक्रो घमण्ड ज्युँका त्युँ छ ।

कति सहरका हस्पिटल हिँडेर गएका मानिस घर कदापि नफर्केका उदाहरण पनि छन् । औषधीमा कमिसनको खेल झन् डरलाग्दो छ । मानिसको जीवन नै औषधीको प्रयोगशाला भएको अवस्था छ । योभन्दा त गाउँका खोला खोल्सा हिमालमा पाइने जडीबुटी नै सयौँ गुणा ठिक छ । सहरको श्रम शोषण झन् कहालीलाग्दो छ । सार्वजनिक यातायात, होटलमा हामी सधैँ देख्न सक्छौँ । गाउँमा त श्रमको साटासाट, प्रेमको साटासाट, अर्म अनि पर्म प्रणाली कति महान् छ ।

अर्को कुरा होटल, रेस्टुराँ, गेस्ट हाउसमा हुने भित्री रहस्य त बेला बेलाको प्रहरी अपरेसनले छर्लङ्ग पारेको छ । सयौँको घरबार बिग्रेको छ । सयौँ बलात्कारको सिकार भएका छन् । विचरा गाउँका सोझासिधा मनुष्य छिनभरमा सहरमा लुटिएका छन् । त्यो सहर जति बाहिर कुरूप छ, भित्र त्योभन्दा सयौँ गुणा कुरूप छ । चोरी डकैतीको अर्को नाम हो– सहर । तपाईं सहर पस्दै हुनुहुन्छ भने तपाईंको मोबाइल, मनिब्याग छुट्टै सुरक्षित गर्नुहोस् है, कति बेला तपाईंको मेहनतको कमाइ त्यो डाँकाले उडाइदिन्छ तपाईंलाई पत्तै हुँदैन । त्यसैले गाउँको जीवन स्वर्गको एक टुक्रा हो । तपाईं त्यसलाई छोड्दै हुनुहुन्छ भने एक पटक सोच्नुहोस् कि तपाईंलाई तपाईंकाे त्यो गाउँले नसरापोस् ।

 

Author

सञ्जय थापा