नेपाली साहित्यमा साहित्यकार तारानाथ शर्मा परिचित, चर्चित, विवादित र बिर्सन नसकिने एक वरिष्ठ साधक हुनुहुन्छ । विसं १९९३ असार ९ गते इलाममा जन्मनुभएका शर्माको ८७ वर्षको उमेरमा विसं २०७८ फागुन ३ गते निधन भयो । यो सन्दर्भ साहित्यकार तारानाथ शर्माको सार्वजनिक जीवनको भूमिकाका बारेमा प्रकाश पार्न खोजिएको सानो आँखीझ्याल मात्र हो । शर्माले यस शताब्दीको सुरुवातदेखि नै यस क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।
नेपालमा आफ्नो खुबी अनुसारको भूमिका नपाएको गुनासो कतिपय सन्दर्भमा उहाँको थियो । राजा महेन्द्रको ‘उसैका लागि’ को समालोचना लेखेका कारण तीन महिना जेल सजाय पाउनुभएका शर्माको समालोचना साहित्य, दरबारसँगको सम्बन्ध र व्यक्तिगत जीवनको उकाली ओराली एकैनासले सिधा रेखामा हिँडेको पनि छैन । शर्माको अनुभूति, भुक्तमान र विद्रोहको समग्र अध्ययन र विश्लेषण पनि नेपाली साहित्यको आधा शताब्दीभन्दा लामो समयसँग जोडिएर आउने इतिहासको महत्वपूर्ण अध्याय हुन सक्छ ।
विदेशमा सर्पको पुच्छर बनेर जिउनुभन्दा स्वदेशमा भालेको सिउर बनेर जिउने अभिलाषा बोकेर अमेरिकी र बेलायती जीवनको वैभव त्यागेर नेपाल फर्कनुभएका शर्मा अङ्ग्रेजी भाषाका पनि विद्वान् हुनुहुन्थ्यो । नेपाली भाषाको मौलिकपन र जनजिब्रो शैलीको संरक्षणका लागि उहाँले समेत नेतृत्व गरेको झर्रा नेपाली अभियान नेपाली साहित्यको एक महत्वपूर्ण उपलब्धि थियो । यो अभियानको प्रभाव र परिणाम अहिले पनि नेपाली साहित्यको केन्द्र वरिपरि नै छ ।
साहित्यको सबैभन्दा रुखो विधा समालोचना हो । यसका न धेरै पाठक हुन्छन् न धेरै ठुलो बजार नै छ । समालोचकसँग लेखकको अपेक्षा हुन्छ– कमीकमजोरीभन्दा प्रशंसाका पुलिन्दा लेखिदियोस् । प्राध्यापकसमेत रहनुभएका साहित्यकार शर्माको सम्बन्धमा साहित्यकार कृष्ण धरावासीले कुनै एक सन्दर्भमा भन्नुभएको थियो, “नेपाली साहित्यमा कुनै समय यस्तो पनि थियो, तारानाथ शर्माले नलेखेसम्म कोही कवि, लेखक नै हुँदैनथ्यो तर उनले त्यसैको दण्ड आजीवन भोग्नुप¥यो । उनले राज्यले दिनसक्ने कुनै सुविधा र एकेडेमीमा टेक्नै पाएनन् । ती सुविधाहरू जसले दिनु पथ्र्यो र त्यहाँ जसले लैजानु पथ्र्यो, उनको समालोचनाका कारण तिनीहरू नै रिसाए ।”
जीवनकालमै लेखक, कविहरू आ–आफ्ना महिमा गानका रामायण लेख्ने, लेखाउने र प्रकाशित पनि गरिरहेका छौँ । निधनपछिका दिनमा प्रतिष्ठान, पुरस्कार स्थापना र स्मारिका ग्रन्थहरू प्रकाशित नभएका कमै लेखक साहित्यकारहरू होलान् तर नेपाली साहित्यको एक युगको नेतृत्व गर्नुभएका शर्माका नाममा यी सबै कुरा अपवाद भएका छन् । नेपाली समालोचनाका क्षेत्रमा उहाँको योगदानको यो नै विशेष सम्मान र सर्वोत्कृष्ट पुरस्कार पनि हो ।
किनकि उहाँ प्रशंसाको तहबाट माथि भएकै कारण उहाँको स्मरण उहाँका कृतिगत योगदानमा नै सुरक्षित छन् । जनताका छोराले पाउने पद उहाँका लागि सानो हुने प्राध्यापक हरिराज भट्टराईको मत छ । भट्टराईले नै विसं २०६९ मा ‘सङ्घर्ष र प्राप्ति ः तारानाथ शर्मा’ कृतिको सम्पादन र प्रकाशन गर्नुभएको थियो । प्रोफेसर शर्माको जीवनकालमा नै प्रकाशित यस कृतिमा शर्माको समग्र कृतित्व, व्यक्तित्वलगायतका विषयमा लेखिएका लेख प्रकाशित छन् ।
शर्माका बेलायततिर बरालिँदा, जमर्काहरू, पाताल प्रवासलगायत १२ वटा निबन्ध सङ्ग्रह, घोत्लाइँहरू, पश्चिमका केही महान् साहित्यकारहरू, नेपाली साहित्यको इतिहास, भानुभक्तदेखि तेस्रो आयामसम्मलगायत समालोचना ग्रन्थ, मेरो कथा, सुलीलगायत छ वटा उपन्यास र कथा, प्रबन्धका तीन दर्जन मौलिक कृति प्रकाशित छन् । त्यसबाहेक भाषा शिक्षण (पाठ्यपुस्तक), अनुवाद र सम्पादन गर्नुभएका शर्माका थप दर्जनौँ कृति चर्चित छन् । यसरी गणना गर्दा उहाँको संलग्नता रहेका कृतिको सङ्ख्या एक सयभन्दा माथि रहेको छ । उहाँका फुटकर र अप्रकाशित रचनालाई सङ्कलन गर्न सके थप एक दर्जन कृति हुन सक्छ ।
कुनै पनि मानिसको सार्वजनिक जीवनमा कस्तो योगदान छ भनेर बुझ्न व्यक्तिगत जीवनमा को कति नजिक थियो र को कति टाढा थियो भन्ने कुराले फरक पर्दैन । व्यक्तिगत सम्बन्ध, साइनो नहुँदा पनि सम्बन्धित व्यक्तिको भूमिका र योगदानका बारेमा चर्चा र मूल्याङ्कन हुनुपर्ने हो तर नेपाली साहित्यका वरिष्ठ साधक तारानाथ शर्मा यस अर्थमा अपवादमा पर्नु हुन्छ । जीवनकालमा उहाँको प्रतिस्पर्धा कसैसँग भएन । निधनपछिका दिनमा पनि
उहाँको स्मृतिमा केही स्वजनहरूले एकाध ‘अबिच्युरी’ हरू त लेख्नुभएको छ तर शर्माको श्रद्धाञ्जली वा स्मृति सभा, स्मारिका प्रकाशन र संस्था नै स्थापना भएका जानकारी उहाँको स्मृतिको दोस्रो वर्ष पुग्दासम्म चाहिँ सार्वजनिक भएका छैनन् ।
साहित्यमा समालोचनाको सम्बन्ध र प्राध्यापक शर्माका बारेमा साहित्यकार कृष्ण धरावासीले माथि उल्लेख गर्नुभएको सन्दर्भमा थप्नुपर्ने हुन्छ– निर्भीक र स्वतन्त्र भएर समालोचना लेखेका कारण तारानाथ शर्माले जीवनभर सजाय पाउनु भयो, यो सजाय मृत्युपछि पनि । “अहो ! हिजो त हामीमाझ तारानाथ शर्मा जस्ता निर्भीक समालोचक थिए र पो लेखक, कवि वा साहित्यकार लेख्नुभन्दा पहिले के लेख्ने कसरी लेख्ने भनेर सोच्थे र सचेत भएर लेख्थे” भन्नका लागि हामी कुनै व्यक्ति, साहित्यसँग सम्बन्धित संस्था वा राज्यका निकाय कसैले अग्रसरता लिएनौँ ।