• १३ असोज २०८१, आइतबार

आरोग्यताका लागि मुद्रा–प्राणायाम

blog

काठमाडौँ, फागुन ३ गते । हिन्दु विद्यापीठका संस्थापक डा. चिन्तामणि योगीले अहिले देखिएका सामाजिक परिवेश र मानिसको प्रविधिप्रतिको बढ्दो लगावका बेला योग ध्यान जस्ता कुराको महत्व झन् बढेको बताउनुभएको छ । 

बुधबार राजधानीमा ‘आरोग्यताका लागि मुद्रा–प्राणायाम’ पुस्तक विमोचन गर्दै उहाँले नेपाल वेद, रामायण, त्रिपिटक जस्ता ग्रन्थ र दर्शन जन्माउने देश भएको उल्लेख गर्दै कतिपय विकसित देशमा समेत हाम्रो योग र ध्यान पद्धतिबारे व्यापक चर्चा र चासो हुने गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले अहिले समाजमा देखिएको एक प्रकारको निराशालाई चिर्न पनि योग र ध्यान आवश्यक रहेकाले त्यसलाई चिर्न पुस्तक प्रभावकारी हुने बताउनुभयो ।  

पुस्तकमा आरोग्य जीवनका लागि पूर्वीय संस्कृतिमा विशेष महत्व दिइएको अष्टाङ्ग योगका विविधि पक्षलाई गहिरो गरी सविस्तार व्याख्या गरिएको प्राकृतिक चिकित्साका अध्येता डा. केशवप्रसाद सापकोटाले बताउनुभयो । साथै प्रणायाम गर्दा अपनाउनुपर्ने आसन विधि पनि सो पुस्तकमा समेटिएको उहाँको भनाइ छ  । 

हाम्रो शरीरमा उत्पन्न हुने विभिन्न वायु र त्यसमा हामीले आहारविहार आदि कर्म गर्दा सन्तुलन राख्न नसकेमा एक प्रकारको वायुले अर्को प्रकारको वायुलाई अवरोध गरी त्यसबाट आउन सक्ने स्वास्थ्य समस्याका बारेमा पुस्तकमा उल्लेख गरिएको छ । पुस्तकले मानव शरीरमा रहेका विभिन्न चक्रको साधना कसरी गर्ने र यसबाट कस्तो लाभ लिन सकिन्छ भन्ने कुरालाई व्याख्या गर्नुका साथै मानव शरीरमा रहेका विभिन्न प्रणालीका बारेमा पनि व्याख्या गरिएको छ । 

आरोग्यताका लागि मुद्रा प्राणायामको महत्वलाई सविस्तार व्याख्या गरिएको सो पुस्तक प्राकृतिक चिकित्साका अध्यता डा. सापकोटा र डा. विमला श्रेष्ठले तयार गर्नुभएको हो ।