• १३ साउन २०८१, आइतबार

राष्ट्रपति रनिङ शिल्डको उपाधि महाकालीलाई

blog

राष्ट्रपति रनिङ शिल्ड उपाधि ग्रहण गर्दै विजेता । तस्बिर : गोरखापत्र

लोकेन्द्र जोशी

दार्चुला, फागुन १ गते । दार्चुला जिल्ला सदरमुकाम खलङ्गास्थित शिवनगर खेलमैदानमा सञ्चालित १४औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महाकाली नगरपालिकाले जितेको छ । महाकालीले १९ स्वर्ण, १० रजत, ९ कांस्य गरी कुल ३८ पदक प्राप्त गर्दै उपाधि उचालेको हो । 

मालिकार्जुन गाउँपालिकाले ७ स्वर्ण, ६ रजत र ७ कांस्य पदक गरी कुल २० पदकसहित द्वितीय स्थान प्राप्त गरेको छ । भने मार्मा गाउँपालिकाले ६ स्वर्ण, ९ रजत र ३ कांस्य गरी जम्मा १८ पदक प्राप्त गर्दै तृतीय भएको छ ।

नौगाड गाउँपालिकाले ४ स्वर्ण, ८ रजत, ८ कांस्य गरी कुल २० पदक पाउँदै चौथो स्थान प्राप्त गरेको छ । शैल्यशिखर नगरपालिकाले ४ स्वर्ण, ४ रजत र १४ कांस्य गरी जम्मा २२ पदकसहित पाँचौँ स्थान प्राप्त गरेको छ ।

लेकम गाउँपालिकाले २ स्वर्ण, ४ रजत र ५ कांस्य गरी कुल ११ पदकसहित छैटौँ स्थान प्राप्त गरेको छ । अपिहिमाल गाउँपालिकाले १ स्वर्ण, १ रजत र २ कांस्य गरी ४ पदकसहित सातौँ स्थान प्राप्त गरेको छ । दुहुँ गाउँपालिकाले १ रजत र ५ कांस्य पदक प्राप्त गर्दै आठौँ भएको छ भने व्यास गाउँपालिकाले १ रजत, १ कांस्य गरी २ पदक प्राप्त गर्दै अन्तिम नवौँ भएको छ ।

करातेमा १२ मध्ये महाकाली नगरपालिकाले ११ र शैल्यशिखरले १ स्वर्ण पदक प्राप्त गरेको थियो । छात्रछात्रा भलिबलमा मार्मा गाउँपालिका प्रथम, एथलेटिक्समा मालिकार्जुन गाउँपालिका प्रथम र कबड्डी छात्रछात्रामा महाकाली नगरपालिका प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । छ दिनसम्म सञ्चालन भएको खेल सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आयोजक जिल्ला खेलकुद समिति, दार्चुलाले धन्यवाद ज्ञापन गरेको छ ।