• ९ असार २०८२, सोमबार

धार्मिक सहिष्णुताका प्रतीक

blog

कवीर आप ठगाइये, अवर न ठगिये कोई ।

आप ठग्या सुख उपजै, अवर ठग्या दुःख होई ।

अर्थात् कवीर ठगियोस् तर अरू नठगिऊन्, कवीर आफू ठगिँदा सुख मान्नुहुन्छ, अरू ठगिँदा दुःख । माथिका उद्गारहरू सन्त कवीरका हुन् । कवीरको जन्म आजभन्दा भन्डै ६२५ वर्षअघि अर्थात् विसं १४५६ जेठ शुक्ल पूर्णिमाको दिन भारतको उत्तर प्रदेशस्थित काशीमा भएको थियो र विसं १५७५ मा उत्तर प्रदेशकै मगहर भन्ने ठाउँमा कवीर देहावसान भएका हुन् । उहाँ मानव समुदायका लागि प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँका धर्मनिरपेक्ष अमरवाणी सामाजिक सदभाव र एकता तथा धार्मिक साहिष्णुता कायम गर्न उपयोगी छन् । उहाँ जातपातलाई एउटा ढोङको संज्ञा दिनुहुन्थ्यो तथा मानवीय अन्तर विवेक चक्षुले संसारलाई हेर्न सुझाव दिनुहुन्थ्यो । धर्मका विकृतिलाई उहाँ यसरी विरोध गर्नुहुन्थ्यो :

पत्थर पूजै हरि मिलै, तो मै पूजुँ पहाड ।

उससे तो भला जाँत है, जिससे पिस खाए संसार ।।

अर्थात् ढुङ्गा पुज्दा ईश्वर पाइने भए म पूरै पहाड पुज्छु, त्योभन्दा राम्रो त जाँतो हो, जसबाट पिसेर संसारले खान्छ । दुनियाँलाई उपदेश बॉड्ने कवीरको जन्म, मृत्यु, धर्म, आमा, बुबा, अर्धाङ्गिनी, छोराछोरीबारे अनेक किंवदन्ती पाइन्छ । कतिले कवीरलाई हिन्दु मान्छन् त कतिले मुसलमान । कतिले उहाँलाई ब्राह्मण त कतिले जोलाहा ठान्छन् । कतिले उहाँलाई विवाहित माने त कतिले बाल ब्रह्मचारी । कतिले उहाँको अन्तिम संस्कार हिन्दु परम्परा अनुसार भएको मान्छन् त कतिले मुस्लिम परम्परा अनुसार भएको ठान्छन् । त्यसै गरी, उहाँको जन्मकालबारे धेरै मतमतान्तर पाइन्छ ।  कवीर पन्थीहरूले कवीरको जन्मकाल विसं १४५६ र मृत्युकाल विसं १५५७ लाई मानेका छन् । 

विश्वका प्रसिद्ध इतिहासकारमा समेत उहॉको जन्म र मृत्युकालबारे मतभिन्नता छ । कवीरको जन्मस्थानबारे कतिले काशी, कतिले मगहर त कतिले उत्तर प्रदेशकै ‘बलिया’ भन्ने ठाउँलाई मानेका छन् तर उहाँको जन्मस्थान काशी नै हो भने कुरा विभिन्न तथ्यले प्रमाणित गरेका छन् । उहाँको आमाबाबुबारे समेत आजसम्म कसैलाई थाहा छैन । उहाँको जन्मबारे के भनिन्छ भने काशीवासी मुस्लिम जोलाहा जातको नवयुवक ‘निरु’ आफ्नी पत्नी ‘निमा’ सँग विहे गरेर घर फर्कंदै थिए । पत्नी निमालाई तिर्खा लाग्यो र पानी खान नजिकको पोखरीमा गइन् ।

उनले पोखरीको किनारमा फूलको शøयामाथि एउटा सुकोमल बच्चालाई हाँस्दै खेल्दै गरेको देखिन् । त्यसपछि नवविवाहित जोलाहा दम्पतीले त्यो बच्चालाई घरमा ल्याई पालनपोषण गरे । त्यही बच्चा कवीरका नामले विश्व प्रसिद्ध भए । यसरी कवीरको पालनपोषण एक मुस्लिम धर्मावलम्बी जोलाहा परिवारमा भएको हुनाले उहाँलाई जोलाहा जातिको मानिन्छ । जसले जे भने पनि कवीरले आफूलाई न कहिल्यै हिन्दु बताउनुभयो न त मुस्लिम । जातपात र धर्मको तुच्छ भावनाले कवीरलाई कहिल्यै स्पर्श गर्न सकेन । उहाँ मानवताका पुजारी र ज्ञानका सागर हुनुहुन्थ्यो । मुसलमानको बलिदान, हिन्दुको मूर्तिपूजा र छुवाछुतको उहाँ सधैँ विरोध गर्नुहुन्थ्यो ।

कवीरबारे अध्ययन गर्ने विद्वान्हरूले कवीरकी ‘लोई’ नामकी श्रीमतीबाट ‘कमाल’ र ‘कमाली’ नामका छोरा र छोरी जन्मिएको बताउँछन् । कवीरको अन्तिम संस्कारबारे पनि धेरै मतमतान्तर पाइन्छ । जीवनभर काशीमा बसोबास गर्नुभएका कवीरले आफ्नो देहत्याग मगहरमा गर्नुभएको थियो । आज पनि हिन्दु समाजमा काशीमा देहत्याग गर्नुलाई स्वर्गको बास हुन्छ, मुक्ति पाइन्छ भनिन्छ तर कवीरले आफ्नो अन्तिम सास काशीभन्दा मगहरमा नै लिन रुचाउनुभयो । उहाँ तत्कालीन रूढिवादी समाजसँग विद्रोह गर्ने व्यक्ति हुनुहुन्थ्यो ।

भनिन्छ, उहाँको निधनपछि पनि हिन्दु र मुसलमान समुदायले उहाँको अन्तिम संस्कारलाई लिएर आपसमा युद्धको विगुल फुक्न तयार भएका थिए । कवीरको निधनपछि खालदावादका तत्कालीन मुसलमान सरदार बिजुली खाँ उहाँको शवलाई मुस्लिम संस्कार अनुसार दफनाउन चाहन्थे तर काशीका तत्कालीन राजा वीरसिंह बघेल वैदिक विधि अनुसार अग्नि संस्कार गर्न चाहन्थे । यद्यपि वीर सिंह र बिजुली खाँ दुवै कवीरका शिष्य थिए । कवीरको अन्तिम संस्कारलाई लिएर खाँ र बघेलबिच कुरा कहाँसम्म अगाडि बढ्यो भने दुवै पक्षबाट युद्धको शङ्खघोष नै भयो तर ठिक शङ्खघोषको बेला आकाशवाणी भयो–‘तुम खोलो पर्दा, कोई नहीं मुर्दा, मिथ्या युद्ध करन बारी ।’ (सबै भ्रमको पर्दा खोल, यहाँ कोही मु्र्दा छैन, युद्ध गर्नु बेकार हो ।) भनिन्छ, कात्रोको ठाउँमा पुष्पवृष्टि भयो । पुष्पवृष्टिमध्ये आधा भाग हिन्दु र आधा भाग मुसलमानले प्राप्त गरी दुवैले आआफ्नो परम्परा अनुसार कवीरको अन्तिम संस्कार गरे । त्यसपछि त्यही ठाउँमा कवीरको समाधिस्थल र मजार निर्माण गरिएको छ । जुन आज पनि उत्तर–प्रदेशको मगहर भन्ने ठाउँमा छ । 

कवीरलाई मानवताको गहिरो चिन्ता थियो । समाजका शोषित–पीडित दलित र अबोध मानव समाजका लागि उहाँ सधैँ चिन्तित रहनुहुन्थ्यो । कवीरले जीवनभर जातिपाति, धर्म सम्प्रदायिक र भेदभावको कडा प्रतिवाद गर्नुभयो । त्यसताका उहाँका अगाडि हिन्दु र मुसलमान दुई प्रमुख समाज थियो । दुवै समाज आआफ्नो दम्भ र अहङ्कारमा डुबेको थियो । 

“पोथी पढी–पढी जग मुआ, पण्डित भया न कोई ।

ढाई आक्षर प्रेमका पढै सो पण्डित होय ।।”

अर्थात् (पुस्तकका ठेलीहरू पढेर मात्र कोही पण्डित हुन सक्दैन, पण्डित हुन त ‘प्रेम’ भन्ने अढाई अक्षर पढ्नु पर्छ) यसरी  कवीर एक सच्चा मानवतावादी चिन्तक र दार्शनिक हुनुहुन्थ्यो । उहाँ मानवतालाई विखण्डित गर्ने दम्भ, अहङ्कार र धर्मको नाममा फैलिएको अन्धविश्वास, ढोङ, आडम्बर, हत्या–हिंसाको घोरविरोधी र विद्रोही हुनुहुन्थ्यो । आजको विश्व जहाँ धर्मका नाममा, जातका नाममा, भाषाको नाममा, वर्णका नाममा, भूगोलको नाममा पूरा मानव समाज र मानवता विखण्डित छ, त्यस्तो अवस्थामा कवीरका अमरवाणी पूरै विश्व मानवतालाई एक सूत्रमा बाँध्न एउटा ठुलो कडी साबित हुन सक्छ ।