• ६ जेठ २०८१, आइतबार

अक्सफोर्डलाई बुटवल मेयर कप उपाधि

blog

अक्सफोर्डलाई उपाधि प्रदान गर्दै बुटवल नगरप्रमुख पाण्डेय लगायत । तस्बिर : गोरखापत्र

कपिल ज्ञवाली

सिद्धार्थनगर, फागुन १ गते । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय प्रथम बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविले जितेको छ । फाइनल खेलमा नवीन औद्योगिक माविलाई १–० गोलले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो । 

देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा विजयी भएको अक्सफोर्ड माबिले उपाधिसँगै एक लाख रुपियाँ र शिल्ड पाएको छ । यस्तै उपबिजेताले नवीन औद्योगिक माविले ६० हजार पाउँदा सेमिफाइनलमा पुग्ने उजिरसिंह मावि र एभरेष्ट माविले १८–१८ हजार रुपियाँका दरले पुरस्कार पाएका छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार अक्सफोर्ड माविका टिम क्याप्टेन सुजलमान घले, उत्कृष्ट गोलकिपर अक्सफोर्डकै डेभिड थापा, उत्कृष्ट मिडफिल्डर अक्सफोर्डकै रमित नाम्जाली मगर र सर्वाधिक गोलकर्ताको पुरस्कार अक्सफोर्डकै अस्मित शर्माले पाउनुभयो  । 

यस्तै उत्कृष्ट डिफेन्डरको पुरस्कार नवीन औद्योगिक माविका सन्दीप दर्जी र उत्कृष्ट फरवार्डको पुरस्कार नवीनकै विजन सूर्यवंशीले पाउनुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८–८ हजार रुपियाँका दरले पुरस्कार पाउनुभयो । 

विजेता तथा उत्कृष्ट खेलाडीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रीदेवी अर्याल, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, म्याच कमिस्नर हरिप्रसाद श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी थिए ।