प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), असार ९ गते । रौतहटको चन्द्रपुर नगरपालिकामा सोमबार बिहान भएको बस दुर्घटनामा १० जना यात्रु घाइते भएका छन् ।
काठमाडौँबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस चन्द्रपुर नगरपालिका–२ स्थित पूर्व पश्चिम राजमार्गमा सोमबार बिहान दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बा.प्र.०१–००६ ख. ५२१६ नम्वरका यात्रुबाहक बस आफैँ अनियन्त्रित भई सडकभन्दा दक्षिण साईडमा ७ फिट भित्र दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घाइते हुनेमा तीन जना नेपालका तथा सात जना भारत बिहारको रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र ट्राफिक प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरेको थियो ।
घाइतेहरुको चन्द्रपुरस्थिति चपुर प्रालिमा उपचार भइरहेको तथा उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बसका चालक फरार रहेको हुँदा खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।