विनय कर्ण
कल्याणपुर (सप्तरी), असार ९ गते । खेतमा सिँचाइका लागि जडान गरिएका विद्युत ट्रान्सफर्मरलाई तोडफोड गरिएपछि किसानलाई समस्या भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– ६ मा जडान गरिएको विद्युत ट्रान्सफर्मर तोडफोड भएपछि धानबाली लगाउने बेला सिँचाइ गर्न किसानलाई समस्या भएको हो ।
खेतमा सहज रुपमा सिँचाइ पुर्याउने उद्देश्य राखि नगरपालिकाले जडान गरेको ट्रान्फरर्मर अज्ञात व्यक्तिले तोडफोड गरेपछि विद्युत र मोटरको प्रयोगबाट गरिने सिँचाइ अवरुद्ध भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गत बुधबार त्यहाँको थ्रिफेज कृषि विद्युतीकरण कार्यको शुभारम्भ गर्नुभएको थियो ।
शनिबार मध्यराति विद्युतको ट्रान्सफर्मर तोडफोड गरिएको हनुमाननगर नगरपालिकाका नगरप्रमुख विरेन्द्र माझीले बताउनुभयो ।
वडा नम्बर ६ का किसानहरुलाई खेतमा सिँचाइ गर्नका लागि थ्रिफेज कृषि विद्युतीकरणअन्तर्गत लगाइएको एक सय केभिएको ट्रान्सफर्मर तोडफोड भएपछि सिँचाइ अवरुद्ध भएर किसानहरु समस्यामा परेको उहाँको भनाइ छ ।
“शनिबार राति ११-१२ बजेसम्म किसानहरुले मोटरबाट खेतमा सिँचाइ गरेका थिए, त्यसपछि आईतवार विहान ट्रान्सफर्मर तोडफोड गरी खेतमा फ्यालिएको अवस्थामा पाइएको हो” उहाँले भन्नुभयो ।
ट्रान्सफर्मर तोडफोडमा संलग्नहरुको खोजी गर्ने कार्य भइरहेको बताउनुहुँदै उहाँले प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जानकारी दिनुभयो ।
हनुमाननगर नगरपालिकाले कृषि उत्पादनमा वृद्धि र सिँचाइको सुविधा सहज बनाउने उद्देश्यले नगरपालिका भित्रको वडा नम्बर २, ५, ६, ७ र ८ का हजारौं कृषकहरूलाई लाभ पुर्याउन मास्टर मिटरमार्फत निःशुल्क विद्युत सेवा उपलब्ध गराएको छ ।