• २२ वैशाख २०८१, शनिबार

तरकारी उत्पादन गर्दै विद्यार्थी

blog

काठमाडौँका विद्यालयमा बालेन शाहले सिपमूलक शिक्षाको विकास गरेसँगै देशभरिका विभिन्न विद्यालयमा पनि शिक्षासँगै सिपको विकास गर्ने लहर बढेको छ । म्याग्दीको बेनी नगरपालिका–४, डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको समाचारबाट पनि थाहा हुन्छ । विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी विद्यालयले आपूर्ति गरिरहेको छ । दिवा खाजाका लागि विद्यालयले ताजा तरकारी किन्नु परेको छैन । 

बिदा र छुट्टीको समयमा शिक्षकले तरकारी लगाउने, गोडमेल र पानी लगाउने काम गर्छन् । कक्षा ६, ७ र ८ का विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि करेसाबारीको प्रयोग गरिएको छ । बन्दा, काउली, केराउ, मुला, साग, गाँजर, मटरकोसा, सिमी, केराउ प्रजातिका तरकारी लगाएका छन् । विद्यालयमै उत्पादन भएको तरकारी प्रयोग गर्दा विद्यार्थीले कम खर्चमा पर्याप्त र स्वस्थकर खाजा खान पाउनुका साथै तरकारी खेतीका बारेमा ज्ञानसमेत हासिल गर्न पाएका छन् । विद्यालय परिसरमा सौन्दर्यीकरण गर्ने उद्देश्यले फूलको बगैँचा पनि स्थापना गरिएको रहेछ । यस्तो सौन्दर्यले विद्यालय वरपरको वातावरणसमेत हराभरा बनेको छ । विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले ‘जङ्क फुड’ निषेध र बालबालिकालाई सिपमूलक शिक्षा प्रदान गर्न करेसाबारीमा तरकारी उत्पादन गरेर खाजामा प्रयोग गरेको बताएका छन् ।

रमणीय वातावरणमा व्यावहारिक, जीवनोपयोगी र व्यावसायिक शिक्षा हासिल गर्न पाउँदा विद्यार्थीको सिकाइ उपलब्धि पनि बढ्न थालेको छ । तरकारीमा प्रयोग नहुने बन्दा, मुला र काउलीको पातलाई प्रशोधन गरेर विद्यार्थीले गुन्द्रुक बनाउने गर्छन् ।  यस विद्यालयमा विद्यार्थीलाई दुनाटपरी बनाउने सिप पनि सिकाइएको छ । स्थानीय पाठ्यक्रमको पठनपाठन गराउने क्रममा विद्यार्थीलाई स्थलगत रूपमा खेतबारी, गोठ र फार्ममा लैजाने गरिएको छ । कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि सरकारले प्रतिविद्यार्थी  १५ रुपियाँ अनुदान दिने गरेको छ । भाइबहिनी काठमाडौँमा बालेन शाहले शिक्षासँगै सिपको विकास गरे जस्तै विभिन्न जिल्लामा पनि यस्ता कार्यक्रम सञ्चालन हुने हो भने सानै उमेरमा पनि विद्यार्थीले सिप सिक्ने व्यावहारिक ज्ञान पाउने छन् ।