• ९ मंसिर २०८१, आइतबार

शास्त्रीय संगीतलाई पुस्तान्तरण गर्न आवश्यक

blog

जनकपुरधामस्थित महेन्द्र नारायण मिथिला सांस्कृति केन्द्रमा लोकगायक गुरुदेव कामतको एकल गायन प्रस्तुति । तस्विर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, माघ २६ गते । जनकपुरधाममा पहिलो पटक औपचारिक रुपमा एकल गायन शास्त्रीय संगीतको आयोजना भएको छ । मधेश प्रज्ञा प्रतिष्ठानको आयोजनामा औपचारिक रुपमा शुक्रबार जनकपुरधामस्थित महेन्द्रनारायण मिथिला संस्कृति केन्द्रमा शास्त्रीय संगीत एवं सुगम संगीत विधाका लोकप्रिय गायक गुरुदेव कामतले एकल गायन प्रस्तुत गर्नुभएको हो ।   

उक्त संगीतिक कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले शास्त्रीय संगीतलाई पुस्तान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो मन्तव्य राख्दै मिथिलाको लोकसंस्कृति झल्किने लोकगीत तथा शास्त्रीय संगीतलाई पुस्तान्तरण गर्न आवश्यक देखिएको चर्चा गर्नुभयो । 

प्रतिष्ठानका अध्यक्ष कापडीले नयाँ पुस्तामा लोकभाकाका गीत तथा शास्त्रीय संगीत पुस्तान्तरण गर्न यस्ता कार्यक्रमको आयोजना गरी प्रतिभाशाली गायकलाई मञ्चमा ल्याउने काम प्रतिष्ठानले गर्ने बताउनुभयो । नयाँ पुस्ताले लोकसंस्कृतिमा रुची देखाउनेखालका मञ्च नभएका कारण पनि लोकगीत तथा शास्त्रीय संगीतहरु लोप हुँदैगाएको उहाँको कथन छ । 

लोप हुँदैगएका संस्कृतिलाई जोगाउन यस्ता प्रतिभालाई मञ्चमा पुगाउने सशक्त माध्यम शास्त्रीय संगीत रहेको हुँदा जनकपुरधाममै औपचारिक रुपमा प्रतिष्ठानले शास्त्रीय संगीतको आयोजना गरेको अध्यक्ष कापडीले बताउनुभयो । 

पहिले सरस्वती पूजामा शास्त्रीय संगीतको आयोजना गरिन्थ्यो, वर्तमान अवस्थामा भने आधुनिक भाकाका गीतहरु गुन्जिन थालेका छन् । नयाँ पुस्तालाई लोकगीत र शास्त्रीय संगीतबारे थोरै मात्र ज्ञान भए पनि चासो नहुँदा प्रतिष्ठानका अध्यक्ष कापडीले चिन्ता व्यक्त गर्नुभयो । 

मन्तव्यकै क्रममा अध्यक्ष कापडीले लोकसंस्कृतिलाई पुस्तान्तरण गर्न जनकपुरधाममा विगतमा सञ्चालनमा रहेको संगीत विद्यालयलाई पुनः सञ्चालनमा ल्याउनुपर्ने बताउनु हुँदै शास्त्रीय संगीतका लागि मेहनत र साधनाको आश्यकता पर्ने हुँदा यसलाई प्राथमिकता राख्नुपर्ने बताउनुभयो ।