• १३ साउन २०८१, आइतबार

रोकियो मार्तडी–कोल्टी बस सेवा

blog

बाजुरा समाचारदाता

बाजुरा, माघ २६ गते । बाजुरा सदरमुकाम मार्तडीदेखि कोल्टीसम्म चल्ने बस सेवा विवादका कारण रोकिएको छ । स्थानीय तह र स्थानीय प्रशासनले कोल्टीसम्म बस सेवा सञ्चालन गर्ने तयारी गरे पनि बस व्यवसायीले सडकको अवस्था देखाउँदै रोकेका हुन । 

गत माघ १३ गते प्रमुख जिल्ला अधिकारी, स्थानीय तह र बस व्यवसायीबिचको सहमतिमा जयमालिका यातायातको ना. ५ ख २०४१ नम्बरको बस मार्तडीबाट कोल्टीसम्म पुर्‍याइएको थियो ।

बस व्यवसायीले सडक राम्रो नभएको र दुर्घटनाको जोखिम रहेकाले बस चलाउन समस्या भएको बताइन्छ । कोल्टी बस सेवा स्थानीयका लागि हात्ती आयो फुस्सा भने झैँ भएको बुढीनन्दा नगरपालिका स्थानीय नरे कार्कीले बताउनुभयो । 

२०७२ सालमा मार्तडीमा बस पुगेपछि तल्लो क्षेत्रका स्थानीयलाई केही सहज भएको हो तर जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेका हिमाली, जगनाथ, स्वामिकार्तिक र बुढीनन्दा नगरपालिकाको स्थानीयवासी भने अहिले पनि एक दिन पैदल हिँडेर बस चढ्न मार्तडी आउने गरेका छन् । राजनीतिक दल, स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयको रोहबरमा कोल्टीसम्म बस सेवा सञ्चालन गरे पनि बाटो सहज नभएका कारण रोकिएको जयमालिका यातायात समिति बाजुराका अध्यक्ष पृथ्वी रावलले बताउनुभयो ।

बडीमालिकाको बाउली, रजाली र बुढीनन्दाको पाण्डुसैनदेखि कोल्टीसम्मको सडक बस सञ्चालन गर्न योग्य नभएपछि कोल्टीमा बस नलिएको भनाइ उहाँको छ । पाण्डुसैनदेखि कोल्टी सडकको बिच बिचमा राखिएका बिजुलीको पोलले पनि बस चलाउन निकै समस्या भएको देखिन्छ । त्यो पोल पनि चाँडै व्यवस्थापन गर्नुपर्ने रावलले बताउनुभयो । 

यसैबिच मार्तडी बसपार्कदेखि चुथीसम्मको नौ किलोमिटर सडक कालोपत्रे गर्न २३ करोड रुपियाँमा बजेट छुट्याइएको छ । सो निर्माणको ठेक्का धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालिले लिएको छ । 

चुथीदेखि ढम्कनेसम्म छ किलोमिटर र ढम्केनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक बानियाँ कोटेश्वर जेभी प्रालि हेटौँडाले ६२ करोड रुपियाँमा जिम्मा लिएको भौतिक पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी देवी ढुङ्गानाले बताउनुभयो । मार्तडीदेखि कोल्टी सडकमा २०७६ सालदेखि नै जिप, ट्क्याटरलगायतका यातायातका सवारीसाधन सञ्चालन भए पनि स्थानीयलाई थप सेवा दिने गरी बस सेवा सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो ।