• ३१ वैशाख २०८२, बुधबार

पाथीभराबाट उठ्यो झण्डै ६१ लाख भेटी

blog

सङ्कलन गरी कार्यालयमा ल्याएको भेटी गणना गर्दै पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू

फुङलिङ, वैशाख ३१ गते । प्रसिद्ध धार्मिकस्थल पाथीभरामा पछिल्लो एक महिनामा झण्डै ६१ लाख रुपियाँ भेटी सङ्कलन भएको छ । वैशाख महिनामा ६० लाख ९० हजार आठसय रुपियाँ भेटी सङ्कलन भएको हो । 

पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दैआइरहेको विवरणअनुसार उक्त रकम संकलन भएको छ । पाथीभरा दर्शनका लागि प्रमुख सिजन लागेसँगै दर्शनार्थीको सङ्ख्यामा समेत वृद्धि भएकाले भेटी रकम पनि बढी सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । 

तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी पोकामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । फेदीमा करिब एक सातासम्म संलकन गरी फुङलिङमा रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरी बैँकमा जम्मा गर्ने प्रचलन रहेको छ । कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने समितिले व्यवस्थापन गरेको छ। 

बुधबार सार्वजनिक तथ्याङ्कअनुसार वैशाख महिनामा ३८ हजार बढी तीर्थयात्री दर्शनका लागि पाथीभरा आएका छन् । एक महिनाको अवधिमा स्वदेश तथा विदेशबाट ३८ हजार एकसय ७० जना भक्तजनले पाथीभराको दर्शन गरेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । भक्तजनको गणना हरेक दिन माथिल्लो फेदीमा समितिका कर्मचारीले गर्ने गरेका छन् ।