• १३ असोज २०८१, आइतबार

बालकृष्ण समको १२२ औँ जन्मजयन्ती

ललितकलामा ‘सम्झनामा बालकृष्ण सम’

blog

काठमाडौँ, माघ २५ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बालकृष्ण समलाई सापेक्ष रूपमा चर्चा गर्नुभन्दा पनि तत्कालीन अवस्थामा रहेर हेर्नु वाञ्छनीय हुने बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा बुधबार आयोजित ‘सम्झनामा बालकृष्ण सम’ विषयक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, “उहाँ समग्र कला, साहित्य क्षेत्रको अभिभावक मात्र नभई बहुआयामिक व्यक्तित्व हो ।” 

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले तीन वटै प्रज्ञा–प्रतिष्ठानले अहिले नयाँ मानक स्थापित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तीन वटै प्रतिष्ठान मिलेर गरेको यो पहिलो र उदाहरणीय कार्यक्रम हो ।” उहाँले समलाई नाटककारका रूपमा बढी चिनिए पनि उहाँ साहित्य तथा चित्रकलाको क्षेत्रमा अब्बल रहेको धारणा राख्नुभयो ।

यस्तै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले सम साहित्य र रङ्गमञ्चसँगै चित्रकलाको विधाका मूर्धन्य कलाकार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “म कलाकारले उहाँका कृतिमाथि तयार गरेका चित्रहरू हेर्न आतुर छु ।” समालोचक डा. अशोक थापाले ‘समको गुणात्मक नाट्य योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उहाँको कार्यपत्रमाथि उपप्राध्यापक विष्णु ज्ञवालीले टिप्पणी गर्नुभएको थियो । 

नेपाल कलाकार समाजले निर्माण तथा प्राज्ञ रमेश खनालको लेखन तथा निर्देशनमा बालकृष्ण समका चित्रकारिताका विषयमा तयार भएको वृत्तचित्र प्रदर्शन गरिएको कार्यक्रमममा सन्ध्या पहाडी, राधा कार्की, बाबा बस्नेत, विष्णु ज्ञवालीले समका कविता वाचन गर्नुभएको थियो । समकै जयन्तीको अवसर पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बालकृष्ण समको नाटक प्रह्लाद, प्राज्ञपरिषद् सदस्यहरू प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, अरुणा हिङमाङ, रमेश खनाल, कलाकार लीलाधर केसी र दीपेन्द्रमान बनेपालीले क्रमशः भीमसेनको अन्त्य, अन्धवेग, चिसो चुल्हो, प्रेमपिण्ड र स्वास्नीमान्छेलगायतमा आधारित रहेर कलाकृति बनाउनुभएको थियो ।