• २८ पुस २०८१, आइतबार

दुग्ध उत्पादकले लिए अनुदानको लाभ

blog

बुलबुले समाचारदाता

सुर्खेत, माघ २३ गते । कर्णाली प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई दिँदै आएको अनुदानबाट सुर्खेत जिल्लाका ९२६ किसान लाभान्वित भएका छन् । प्रदेश सरकारको अनुदान र अन्य सहयोगबाट किसानले व्यावसायिक रूपमा पशुपन्छीपालन गर्दै आएका छन् । गएको वर्ष सबैभन्दा बढी गुर्भाकोट नगरपालिकाका कृषक लाभान्वित भएको पशुपन्छी विकास निर्देशनालय सुर्खेतले जनाएको छ । 

प्रतिलिटर पाँच रुपियाँका दरले पालिकाका ३३३ कृषकले प्रोत्साहन रकम पाएका थिए । गत वर्ष ती कृषकको खातामा आठ लाख ४७ हजार रकम गएको छ । दुई वर्षदेखि व्यावसायिक रूपमा पशुपालन गर्दै आएका गुर्भाकोट नगरपालिका–२ का कृषक नन्दलाल भुसालले सरकारी अनुदानले आफूलाई लाभ पुगेको बताउनुभयो । 

निर्देशनालयको ५० प्रतिशत अनुदानमा दुई वटा भैँसी खरिद गरेर व्यवसाय सुरु गरेका भुसालले प्रतिलिटर दुधमा पाँच रुपियाँ अनुदान लिइरहेको जानकारी दिनुभयो । गत वर्ष पशुपन्छी विकास निर्देशनालय सुर्खेतले दुग्ध उत्पादक किसानलाई अनुदान दिन ५० लाख बजेट छुट्याएको थियो । यसबाट ९२६ कृषकले अनुदान लिएको निर्देशनालयले जनाएको छ । 

वीरेन्द्रनगरमा २०१ कृषकले प्रतिलिटर पाँच रुपियाँका दरले १७ लाख २२ हजार रकम बुझेको जनाइएको छ । चौकुने गाउँपालिकाका ४१ कृषकले ६३ हजार ६५५, पञ्चपुरी नगरपालिकाका ३३ कृषकले ६० हजार नौ सय, वराहताल गाउँपालिकाका ३१ कृषकले ४१ हजार छ सय, चिङ्गाड गाउँपालिकाका २४२ कृषकले तीन लाख ९० हजार, भेरीगङ्गा नगरपालिकाका दुई सय कृषकले पाँच लाख ८६ हजार, लेकबेँसी नगरपालिकाका १९२ कृषकले १० लाख ९६ हजार रकम पाएका छन् । सिम्ता गाउँपालिकाले गत वर्ष अनुदानका लागि प्रस्ताव गरेको थिएन ।निर्देशनालयका निर्देशक कृष्णप्रसाद पङ्गेनीले कृषक प्रत्यक्ष रूपमा लाभान्वित हुने भएकाले दुधमा अनुदानको कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । यो वर्ष पनि निर्देशनालयले ५० लाख बजेट छुट्याएको छ । 

आर्थिक वर्ष २०७८/७९ देखि कर्णाली प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न दुधमा अनुदान दिने कार्यक्रम सुरु गरेको हो । उक्त वर्ष प्रदेशभर एक करोड ५५ लाख बजेट विनियोजन गरिएको थियो । प्रदेश सरकारले साबिक कर्णालीका जिल्लामा किसानले उत्पादन गरेको प्रतिलिटर दुधमा १० र अन्य जिल्लामा पाँच रुपियाँ अनुदान दिने गरी कार्यक्रम सुरु गरेको छ । भूगोल अनुसार फरक फरक अनुदानको व्यवस्था गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले संस्थागत तथा डेरी उद्योगमा दुध बिक्री गरेको अभिलेखका आधारमा प्रोत्साहन अनुदान दिने गरिएको जानकारी दिनुभयो । किसानले प्रत्यक्ष रूपमा सहभागी भएर अनुदान पाउने भएकाले कार्यक्रम प्रभावकारी रहेको उहाँको भनाइ छ । गत आव २०७९÷८० मा प्रदेश सरकारले तीन हजार ५३ किसानलाई अनुदान दिएको थियो । २३ लाख ५४ हजार ५६८ लिटर दुधमा अनुदान दिएको मन्त्रालयले जनाएको छ । उक्त आवमा प्रदेश सरकारले दुई करोड २६ लाख बजेट विनियोजन गरेको थियो । उक्त कार्यक्रमलाई चालु वर्षमा पनि निरन्तरता दिइएको छ । यो वर्ष एक करोड १५ लाख बजेट विनियोजन भएको जनाइएको छ ।