• १३ साउन २०८१, आइतबार

बँदेलको आतङ्कले गाउँमा त्रास

blog

बँदेल । फाइल तस्बिर

अछाम, माघ २१ गते । यहाँ जङ्गली जनावर बँदेलको आतङ्कले गाउँ नै त्रसित बनेको छ । बँदेल गाउँमै पस्न थालेपछि गाउँले डरले घरबाहिर निस्कनै छाडेका छन् । मङ्गलसेन नगरपालिका–६ डाँडागाउँकी २४ वर्षीया आरती भण्डारीलाई यही माघ ८ गते नुहाउन जाने बेला आक्रमण गरेको थियो ।

आक्रमणबाट उहाँ गम्भीर घाइते भएपछि जिल्ला अस्पतालबाट थप उपचारका लागि नेपालगन्ज पठाइएको थियो । माघ १६ गते दिउँसो सोही ठाउँकी ७९ वर्षीय देउकला भण्डारीलाई बँदेलले आक्रमण गरेको थियो । लसुनबारीबाट फर्किने समयमा बँदेलको आक्रमणबाट उहाँ सख्त घाइते हुनुभएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उहाँलाई पनि थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल पठाइएको थियो । 

बँदेल गाउँमै पस्न थालेपछि बँदेलले आक्रमण गर्ने डरले वडा नम्बर ६ का जनतामा त्रास फैलिएको हो । नजिकैको जङ्गलबाट आएका बँदेलले गाउँमा आतङ्क मच्चाएर मानिसलाई आक्रमण गर्न थालेपछि दिउँसोको समयमा एक्लै हिँड्न पनि गाह्रो भइरहेको स्थानीय झुमा भण्डारीले बताउनुभयो । त्यसैगरी, मङ्गलसेन–७ को जनालीबण्डालीमा पनि बँदेलले आतङ्क मच्चाएको छ । माघ १६ गते राति ११ बजेको समयमा बँदेलको आक्रमणबाट दुई जना घाइते भएका थिए । 

गाउँमा बिहेको भोज खाएर फर्किने क्रममा वडा नम्बर ७ का १५ वर्षीय नेत्र जनालाई र उहाँका आफन्त १७ वर्षीय महेन्द्र उखेडालाई आक्रमण गर्दा दुवै जना घाइते हुनुभएको थियो । घाइतेमध्ये उखेडाको जिल्ला अस्पतालमा उपचार पश्चात् घर पठाइएको छ भने अर्का घाइते जनालालाई थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।

अहिले पनि गाउँको वरिपरि तीन/चारको सङ्ख्यामा दिन र रातको समयमा बँदेल आउन थालेपछि यस ठाउँका नागरिकले आफ्नो सुरक्षाको माग गरेका छन् । गाउँमा बँदेलले आतङ्क मच्चाएको गुनासो आउन थालेपछि बँदेल नियन्त्रणमा लिन प्राविधिक जनशक्ति अछाममा नभएकाले आवश्यक प्राविधिक टोली पठाउन प्रदेश वन निर्देशनालयलाई अनुरोध गरिएको डिभिजन वन कार्यालयका प्रमुख जनक उपाध्यायले बताउनुभयो । रासस