• १३ साउन २०८१, आइतबार

अर्गानिक खेतीतर्फ फर्कँदै किसान

blog

बाबुराम कार्की
वराहक्षेत्र, माघ २० गते । 
उत्पादन बढी गर्न विषादी र रासायनिक मलको मात्रा किसानहरूले बढाउँदै लगेपछि अर्गानिक तरकारी खेती गर्ने किसानहरू हराउँदै गएका थिए । पछिल्लो समय सुनसरीको रामधुनी नगरपालिकाका किसानहरूलाई गाउँमै जैविक तथा वानस्पतिक विषादी (झोल मल) बनाउने तालिम दिएपछि किसानहरू अर्गानिक खेतीतिर फर्कन थालेका छन् ।

रामधुनी नगरपालिका ४ मा मानव विकास तथा वातावरण संरक्षण मञ्चको सहयोगमा गाउँमै जैविक तथा वानस्पतिक विषादी (झोल मल) बनाउने तालिम लिएपछि किसानहरूले अर्गानिक खेती सुरु गर्न थालेका हुन् ।

तराईका जिल्लाहरूमध्ये सुनसरी जिल्ला तरकारी र अन्न बाली उत्पादनका लागि उर्वर भूमि मानिन्छ । पछिल्लो समय सुनसरीका कृषकहरूले तरकारी, धान, मकै, गहुँ लगायतका अन्न बालीहरूमा विषादीको प्रयोग बढाउँदै लगेका छन् ।

खेती गरेरै जीविका चलाउँदै आएका किसानहरूलाई रासायनिक मल र विषादीको मात्रा घटाउन घर गाउँमै पाइने जैविक पदार्थहरूको प्रयोग गरेर झोल मल विषादी बनाउन सिकाइएको हो ।

किसानलाई झोल मल बनाउने सैद्धान्तिक र प्रयोगात्मक सिकाई गरिएको छ । कृषि प्राविधिक बाबुराम कार्कीले स्थानीय ठाउँमै भएकाबाट बिरुवाका पात, हाँगा र गौमुत्र प्रयोग गरेर झोल मल र विषादी बनाउन सिकाउनुभएको संरक्षण मञ्चका अध्यक्ष डिल्ली कार्कीले जानकारी दिनुभयो ।

किसानकै घर वरिपरि पाइने जैविक तथा वानस्पतिकहरु तीतेपाती, नीम पात, बकाइनो, सिस्नो, बोझो, हर्रो, बर्रो, सयपत्री, बेसार, मरिच, टिम्मुर, अदुवा, प्याज, लसुन, खोर्सानी, गहुँत, गोवर, लेउ, खरानी, सुर्ती कागती, ईएम झोल लगायतका जैविक पदार्थहरूको प्रयोग गरेर तयार गरिएको झोललाई आवश्यकता अनुसार बोटविरुमा प्रयोग गर्न सकिने प्राविधिक कार्कीले बनाउनुभयो ।

रामधुनी मन्दिर छेउकै बस्ती इकाई गाउँका किसानहरू जैविक वानस्पतिक विषादी तथा झोल मल बनाउने तीन दिने तालिम लिएपछि अहिले सबै किसानका घरमा झोल मल बनाउन थालिएको छ । रामधुनी जङ्गलसँगै जोडिएको बस्ती भएकाले पनि स्वच्छ हावापानी र स्थानीय उत्पादन अन्न, तरकारी, पशुपालन (दुग्ध) लोकल कुखुरा, हाँस पालेर जीविका चलाउँदै आएका स्थानीयहरू अर्गानिक खेतीतिरै फर्कन थालेको कृषक दानी महतोले बताउनुभयो ।

उहाँका अनुसार गाउँमै घर बास (होमस्टे) सञ्चालन गर्न लागिपरेका स्थानीय कृषकहरू तरकारी समेत अर्गानिक उत्पादन गर्नतर्फ लागेका छन् । हामीले उत्पादन गर्ने अर्गानिक तरकारीको बजार भाउ राम्रो हुने भएकाले तरकारी किसानहरूको आकर्षण आर्गानिक तरकारी खेतीतिर बढेको छ ।

रामधुनी इकाईका पन्ध्र घरका किसानहरू अर्गानिक तरकारी उत्पादन गर्न लागिपरेका छन् । पन्ध्र घरका किसानलाई मानव विकास तथा वातावरण संरक्षण मञ्चले जैविक झोल मल बनाउ चालिस लिटरको प्लाष्टिकको ड्रम निःशुल्क दिएको छ । संस्थाले तरकारी खेती गर्ने किसानहरूलाई प्लाष्टिक प्मल्चीङ्ग, टनेल, स्प्रे टङ्की रामधुनी नगरपालिकाका नगर प्रमुख शंखर लाल चौधरी र वडा नम्बर ४ का वडा अध्यक्ष कमल कार्कीले वितरण गर्नुभएको हो ।

मानव विकास तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष डिल्ली कार्कीका अनुसार किसानले रोग किरा नियन्त्रण गर्न र बढी उत्पादन गर्न आफू खुसी विषादी प्रयोग गर्दा विषादीको दुरुपयोग भइरहेको छ । किसानहरूका लागि बाली लगाएको दिनदेखि बाली नभित्र्याउँदासम्म विषादीको प्रयोग अनिवार्य नै भइसकेको छ ।