• १३ साउन २०८१, आइतबार

धनगढीमा उन्नाइस वटा सडक बन्दै

blog

धनगढी समाचारदाता

धनगढी, माघ २० गते । धनगढी उपमहानगरपालिकामा १९ वटा सडक बन्ने भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा ती सडक बन्ने भएका हुन् । सडक निर्माणका लागि छ प्याकेजमा ठेक्का आह्वान गरिएको छ । बहुवर्षीय योजनाका रूपमा यी सडकको पहिलो चरणको काम पूरा गर्न प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले अग्रसरता देखाउनुभएको छ । 

उक्त सडक निर्माणका लागि प्रदेश सरकारले ६१ करोड रुपियाँ बजेट सुनिश्चित गरेपछि ठेक्का आह्वान गरिएको हो । ठेक्का लागेका सडक बढीमा तीन महिनाभित्र निर्माण थालिने पूर्वाधार विकास कार्यालयका कैलालीका प्रमुख रामचन्द्र खत्रीले बताउनुभयो । उहाँका अनुसार मूल्याङ्कनको प्रक्रिया बढीमा तीन महिनाभित्रै पूरा हुने छ । पहिलो प्याकेज अन्तर्गत धनगढी उपमहानगरपालिका–४, रातोपुल, टेम्पल रिसोर्ट, शिवपुरी, तुलसी चोक हुँदै भगवती टोलसम्मको सडक, धनगढी उपमहानगरपालिका–३, वाणिज्य बैङ्क, विशालनगर, जनता आधारभूत विद्यालय, वीरेन्द्र चोक हुँदै रिङरोड जोड्ने सडक रहेका छन् । 

यसै गरी धनगढी–२, मेनरोड रुबस होटल हुँदै बैयाबेहडी सडक, धनगढी–३, नेसनल मार्ग सडक र धनगढी–४, पुरानो भन्सार रोड सडक यसै प्याकेज अन्तर्गत बन्ने छ । दोस्रो प्याकेज अन्तर्गत धनगढी–८ देखि १२ सम्मको धनगढी गाउँ जुगेडा सडक, धनगढी–८, पुष्पलाल चोकदेखि धनगढी गाउँसम्मको सडक, धनगढी–७, कैलाली बहुमुखी क्याम्पसदेखि जाखोर तालसम्मको सडक र धनगढी–१, त्रिवेणी सडक रहेका छन् । 

तेस्रो प्याकेज अन्तर्गत धनगढी–५, नैनादेवी पुरानो हसनपुर सडक, धनगढी–५ र ३ जोड्ने सामुदायिक प्रहरी पिपल चौतारादेखि बोराडाँडी हुँदै फाप्ला रिङरोडसम्मको सडक, धनगढी–१३ मैदा मिलदेखि हिमाली टोल, कैलाली गाउँ प्रहरी पोस्ट हुँदै ढुङ्गेबजारसम्म सडक बन्ने जनाइएको छ । 

धनगढी–१३, राजपुर चोकदेखि पूर्ववडा कार्यालय जाने सडक पनि यसै प्याकेज अन्तर्गत बन्ने जनाइएको छ । धनगढी–११, बहिरा स्कुलदेखि दक्षिणकाली टोल जाने सडक, धनगढी–४, गठबन्धन चोकदेखि शिवपुरधामसम्मको कालोपत्रे सडक चौथो प्याकेज अन्तर्गत बन्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ । पाँचौँ प्याकेज अन्तर्गत धनगढी–६, मल्लो मटियारी ढुङ्गेबजार पश्चिम चोकदेखि उत्तर कृष्ण र एकता टोल लक्ष्मीनगर जाने बाटोमा कल्भर्ट र नालीसहित सडक बन्ने जनाइएको छ । 

यसै गरी धनगढी–४, सहिदगेट, शिवपुरी, न्युरोड सडकखण्डदेखि कैलाली चोकसम्मको सडक कालोपत्रे हुने छ । छैटौँ प्याकेज अन्तर्गत धनगढी–२, बडीमालिका टोल सडक र धनगढी–२, नन्दलाल पन्तको घरदेखि पूर्वमा भरत जोशीको घरसम्म पक्की नालासहितको काम हुने जनाइएको छ ।