• २८ वैशाख २०८२, आइतबार

नौमती र पन्चैबाजा सिक्दै महिला

blog

जमुनाह समाचारदाता

जमुनाह (बाँके), वैशाख २८ गते । भनिन्छ पढ्न र सिक्नलाई उमेरले छेक्दैन । जाँगर र जोस भए आँटेको जस्तो पनि काम गर्न सकिन्छ । बाँके खजुरा–२, सैनिकका मगर समुदायका ३० वर्षदेखि ६० वर्षसम्मका महिला यतिबेला गाउँमा नौमती र पन्चैबाजा सिकेर यसको संरक्षणसहित व्यावसायिकतातर्फ उन्मुख हुन थालेका छन् । लायन्स क्लबको आर्थिक सहयोगमा उनीहरूले पन्चैबाजा सिकेर व्यावसायिक रूप दिन थालेका हुन् ।

बाँके खजुरा–२, सैनिककी ६० वर्षीय देवीसरा थापामगरको दैनिकी आजभोलि फेरिएको छ । बिहानको खाना खाएर उहाँ नरसिङ्गा बाजा बोकेर सामुदायिक भवन पुग्नुहुन्छ, जहाँ पन्चैबाजा बजाउन सिकाइन्छ । देवीसराले भन्नुभयो, “पछिल्लो पुस्तालाई प्रेरणा दिनका लागि उमेरको प्रवाह नगरी नरसिङ्गा बाजा फुक्न थालेकी छु, सासले अलि पुग्दैन, तर पनि फुक्न छाडेकी छैन ।”

खजुरा–२ कै ४५ वर्षीय नैनाकुमारी मगरले दमाहा बजाउन सिक्नुभएको छ । घरपरिवारले नगर, सक्दैनौ भन्दाभन्दै सिक्नका लागि आएर छोटो समयमा बजाउन सक्ने भएपछि घरबाट पनि सहयोग र समर्थन पाएको उहाँको भनाइ छ ।

खजुरा–२ कै ४६ वर्षीय कुमारी थापामगरलाई यो उमेरमा के गर्न सकिएला जस्तो लागेको थियो तर सिक्न थालेपछि दमाहा र ढोलकी बजाउन र सँगीलाई सिकाउन पनि सक्ने भएको बताउनुभयो । पहिलो दिनमा खोइ के गर्नुहोला र भन्ने लागेको थियो तर उहाँहरूको मेहनत र लगनले छोटो समयमै बाजाको लय समात्न सक्ने हुनुभएको नौमती÷पन्चैबाजा प्रशिक्षक विष्णुको भनाइ छ । लायन्स क्लब अफ नेपालगन्ज सिद्धिविनायक, युनिटी र युथको आर्थिक सहयोगमा पोखरादेखि प्रशिक्षक झिकाएर लायन्स विकास कार्यव्रmम अन्तर्गत तालिम सञ्चालन गरिएको हो । तालिममा दुई पुरुष, १६ महिलासहित १८ जनाले गत चैत १३ गतेदेखि नेपाली मौलिक बाजा बजाउन सिकिरहेका छन् ।