• १३ साउन २०८१, आइतबार

तरकारी बेचेर पढाइ खर्च जुटाउँदै

blog

सुर्खेतरोडमा तरकारी बिक्री गर्नुहुँदै १७ बर्षीय निडर कठायत । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, माघ १९ गते । नेपालगन्ज उपमहानगरपालिका –१ स्थित जिल्ला प्रहरी कार्यालय पछाडि बस्ने १७ बर्षीय किशोर निडर कठायतलाई दिउँसो २ बजेपछि तरकारी बेच्न सुर्खेतरोड पुग्न हतार हुन्छ । दिउँसो २ बजे उहाँ घरमा राखेका तरकारी ठेलामा मिलाउन व्यस्त हुनुहुन्छ ।

तरकारी ठेलामा मिलाइ सकेपछि उहाँ घरबाट ठेलामा राखेको तरकारी लिएर बिक्री गर्न नेपालगन्जको व्यस्त सडक सुर्खेत रोडमा पुग्नुहुन्छ । उहाँको घरबाट तरकारी विक्री गर्ने स्थान सुर्खेत रोडको ग्यालेक्सी होटलनजिक सडक किनारमा पुग्न झण्डै १ घण्टा समय लाग्छ । उहाँ घरबाट निस्केपछि तरकारी विक्री गर्दै उक्त स्थानमा ३ बजेको आसपास आइपुग्नुहुन्छ । 

पचलझर्ना गाउँपालिका –३ खार्दु कालिकोट स्थायी ठेगाना भएका निडरले नेपालगन्जको सडकमा तरकारी विक्री गर्न लागेको ८–९ महिना पुगेको छ । ‘विहान उठेर ६ बजे स्कूल जान्छु स्कूल ११ बजे सकिन्छ, अनि घर आएर खाना खाएर रानी तलाउस्थित तरकारी बजार जान्छु’ उहाँले भन्नुभयो, ‘तरकारी खरिद गरी घरमा ल्याएर ठेलामा मिलाउँदा लगभग २ बज्छ, अनि ठेला लिएर बजार निस्कन्छु ।’

२०६३ सालमा कालिकोटमा जन्मिनु भएका उहाँले २ कक्षासम्मको अध्ययन कालिकोटमै गरेको र त्यसपछि बुवाआमाको साथमा नेपालगन्ज आइ धम्बोझी माध्यमिक विद्यालयमा कक्षा ३ मा भर्ना भइ हालसम्म सोही स्कुलमा अध्ययन गरिरहेको बताउनुभयो ।

उहाँ अहिले नेपालगन्ज धम्बोझीस्थित धम्बोझी माध्यमिक विद्यालयमा विज्ञान विषय लिएर कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ । घरको जेठो सन्तानका रुपमा जन्मिनुभएका निडरको दुई बहिनी र एक भाइ छन् । भाइ–बहिनी साना छन् । बुवा केही काम गर्न सक्नु हुन्न । आमा कालिकोटकै एक सरकारी स्कुलमा शिक्षिका रहेको उहाँले बताउनुभयो ।

‘हाम्रो पाँच जनाको परिवार छ, बुवा केही गर्न सक्नु हुन्न, भाइ–बहिनी सानै छन्, आमाले कालिकोटमा पढाउनुहुन्छ । आमाको कमाइले मात्र हाम्रो पढाइ खर्च र घर खर्च धान्न गाह्रो भयो’ निडरले भन्नुभयो, ‘मैले एसइई पास गरिसकेपछि विहान स्कुल जाने र दिउँसोमा तरकारी बेच्न सुरु गरें ।’

तरकारी व्यवसायबाट राम्रै कमाइ भइरहेको निडरको भनाइ छ । तरकारी विक्रीको कमाइबाट भाइ बहिनीका साथै आफ्नो पढाइ खर्च र घरखर्च धान्न सहज भएको उहाँले बताउनुभयो । निडरका अनुसार केही समय पहिलासम्म नेपालगन्जको खजुरारोडमा बुवाले भाडामा सटर लिएर चिया पसल चलाउनुहुन्थ्यो । निडर सोही चियापसलमा काम गर्नुहुन्थ्यो । तर पसल चल्न छाडेपछि उहाँको बुवाले चिया पसल बन्द गर्नुभयो । आम्दानीको स्रोत बन्द भयो । अनि उहाँले तरकारी बेच्न सुरु गर्नुभयो ।

१७ बर्षको उमेरमा तरकारी ठेलामा राखेर सहर बजारमा बिक्री गर्दै हिँड्दा आफूलाई कुनै लाज सरम र घिनता नहुने उहाँले बताउनुभयो । ‘काम गरेर खान केही लाज मान्नु पर्दैन । चोर्न, ढाँट्न अनि मागेर खान पो लाज लाग्छ त १ काम गरेर खान के को लाज ?’ निडरले भन्नुभयो, ‘मसँगै पढ्ने साथीहरु तथा पढाउने शिक्षकहरु दैनिक मसँग तरकारी किन्न आउनुहुन्छ । उहाँहरुले मलाई प्रोत्साहन दिनुहुन्छ । मलाई काम गरेर खान झनै हौसला मिल्छ ।’

निडरलाई अंग्रेजी बिषय पढाउने शिक्षक हेमन्तराज काफ्लेले निडर अति नै सरल, निडर, इमान्दार, मिहिनती, अनुशासित र लगनशील विद्यार्थी भएको बताउनुभयो । निडर पढाइमा पनि उत्कृष्ट रहेको काफ्लेको भनाइ छ । ‘कक्षा ११ मा ८२ जना विद्यार्थी छन्, तीमध्ये निडर अग्रपङ्तिमा छन्, पढाइमा पनि उत्कृष्ट छन्, मिहिनेत, अनुशासन र लगनशीलता उहाँको विषेशता हो ।’ शिक्षक काफ्लेले भन्नुभयो, ‘निडरको स्वाभिमान, लगनशीलता र काम देखेर म आफै छक्क पर्छु ।’

नेपालगन्जमा तरकारी विक्री गर्ने धेरैजसो तराईमूलका बासीन्दा हुनुहुन्छ । त्यसमा पनि भारतबाट यहाँ आएर तरकारी बेच्नेहरु उल्लेख्य छन् । नेपालगन्जमा पहाडीमूलका केही व्यक्तिहरु फाट्टफुट्ट रुपमा तरकारी व्यापार गर्ने भए पनि १७ बर्षको उमेरमा ठेलामा तरकारी विक्री गर्दै हिँडेर आफ्नो पढाइ खर्च जुटाउनु हुने निडरबाट साँच्चिकै गतिलो पाठ सिक्न सकिन्छ ।