• १३ साउन २०८१, आइतबार

सचेतनामूलक कार्यक्रम गरेर सिमसार दिवस मनाइयो

blog

सिमसारको महत्वबारे समुदायस्तरमा जानकारी दिने कार्यक्रम ।

अविनाश चौधरी

धनगढी, माघ १९ गते। ‘सिमसार, मानव हितको आधार’ भन्ने नाराका साथ कैलालीमा शुक्रबार विविध कार्यक्रम गरेर विश्व सिमसार दिवस मनाइएको छ। 

डिभिजन वन कार्यालय, संरक्षणको क्षेत्रमा काम गर्ने संघसंस्था लगायतको आयोजनामा सचेतनामूलक कार्यक्रम गरेर सिमसार दिवस मनाइएको हो। 

पछिल्लो समय अत्यधिक दोहन, वन विनाश लगायतको कारणले सिमसार क्षेत्र मासिँदै गएको छ। सम्पूर्ण प्राणी जगतको अस्तित्वका लागि महत्त्वपूर्ण सिमसार क्षेत्र दिनप्रति दिन मासिदैँ गइरहेकाले यसको संरक्षणका लागि सचेतनामूलक कार्यक्रम गरेर सरोकारवालाले दिवस मनाएका हुन। यो दिवस हरेक वर्ष फेब्रुअरी २ तारेखमा मनाउने गरिन्छ। 

कैलालीको सबैभन्दा ठुलो सिमसार घोडाघोडी ताल परिसर र डल्फिन संरक्षण क्षेत्र भजनी नगरपालिकाको सुनाफाँटामा सरोकारवाला निकायले सिमसार संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेका थिए। सो क्रममा सिमसारको महत्त्व, यसको आवश्यकता, औचित्य लगायतको बारेमा समुदायलाई जानकारी गराउँदै संरक्षणमा अग्रसर हुन आग्रह गरिएको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष एवम् संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताउनुभयो।