मुलुकभित्र रोजगारीका अवसरको कमीका कारण विदेशी भूमिमा पसिना बगाएर परिवारको पालनपोषण गर्ने उद्देश्यले दैनिक दुई हजारभन्दा बढी युवा जनशक्ति विभिन्न मुलुकतर्फ गइरहेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार विश्वका विभिन्न १११ मुलुकमा संस्थागत रूपमा वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । व्यक्तिगत रूपमा भने १७८ मुलुकमा नेपालीहरू रोजगारीका क्रममा छरिएका छन् । छिमेकी मुलुक भारततर्फ जानेहरू बाक्लै भए पनि तथ्याङ्क अद्यावधिक छैन । यसरी श्रम स्वीकृति लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न मुलुकमा पुगेका नेपाली युवाको सङ्ख्या करिब ४५ लाख भएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउनु मुलुकबाट युवा जनशक्ति पलायनको कहालीलाग्दो अवस्थाको चित्रण हो । यीमध्ये कतिपय आफ्नै योग्यता र इच्छाले रोजगारदातासँग सम्पर्क गरेर जानेहरू छन् भने अधिकांश त वैदेशिक रोजगार कम्पनीमार्फत नै गएका देखिन्छन् तर जानेमध्ये कतिपय सुरक्षित रूपमा घर फिर्ता हुन नसकेको पीडाले सबैको मन पोल्छ ।
केही वर्षयताको मुलुकको अर्थ व्यवस्था ४५ लाखभन्दा बढीले विदेशमा पसिना बगाएर पठाएको विप्रेषण (रेमिट्यान्स) मार्फत धानिएको छ । अर्कोतर्फ विदेशी भूमिमा जोखिमपूर्ण कामको सिलसिलामा अनेक कारणले ज्यान गुमाउनेहरूको तथ्याङ्क दिनानुदिन वृद्धि हुनुले वैदशिक रोजगारीको असुरक्षित अवस्थालाई प्रतिविम्बित गरेको छ । सरकारका सम्बद्ध निकाय समयमै यो विषयमा संवेदनशील हुनै पर्ने अवस्था किन आएको छ भने रोजगारीका क्रममा विदेश पुगेका मध्ये चालु आर्थिक वर्षको पहिलो छ महिनामै ६५६ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्याङ्कले आङ सिरिङ्ग बनाउँछ ।
बोर्डको कल्याणकारी कोषबाट ३७ करोड पाँच लाख रुपियाँ मृतक श्रमिकका परिवारले आर्थिक सहायता लिएको जानकारीसँगै विदेशमा ज्यान गुमाउनेको सङ्ख्या बाहिर आएको हो । यसरी हेर्दा यो औपचारिक तथ्याङ्क मात्र हो । यस किसिमको सहायता प्राप्त हुने जानकारी नभएका अथवा लिन नै नचाहनेहरू समेत हुने भएकाले ज्यान गुमाउनेहरूको तथ्याङ्क अझै बढी हुन सक्ने वैदेशिक रोजगार विश्लेषकको भनाइले विषयको संवेदनशीलता बढाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक औसत पाँच वटाको दरले बाकसमा शव आउने गरेको विमानस्थलको तथ्याङ्कले देखाउनुले वैदेशिक रोजगारीको दर्दनाक अवस्थाको चित्रण गरिरहेको छ ।
लामो समयको तथ्याङ्कले झनै यो विषयलाई सामान्य मान्न नहुने देखाएको छ । आर्थिक वर्ष २०६५/६६ साउनदेखि चालु आवको २०८०/८१ को पुस महिनासम्ममा १३ हजार ७७ जनाले ज्यान गुमाएको बोर्डले जानकारी गराएको छ । यस अवधिमा मलेसियामा सबैभन्दा बढी नेपालीले ज्यान गुमाएको देखिन्छ । चालु आर्थिक वर्षको छ महिनामा तीन लाख ५० हजार जना वैदेशिक रोजगारीमा गएका मध्ये ६५६ श्रमिकले ज्यान गुमाएका र करिब चार सय जनाको अङ्गभङ्ग भएको सार्वजनिक हुनुले यसतर्फ सरकार एवं सम्बन्धित क्षेत्रको गम्भीर रूपमा ध्यानाकर्षण हुन आवश्यक छ । पीडित परिवारलाई वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता उपलब्ध गराएर थोरै भए पनि परिवारको पीडामा मलमपट्टी लगाउने कार्य गरेको विषयलाई भने सकारात्मक मान्नु पर्छ ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई समान रूपमा रोजगारीको हक हुने उल्लेख गरेको छ । यसै गरी सबै नागरिकको काम गर्न पाउने अवस्था सुनिश्चित गर्दै देशको मुख्य सामाजिक, आर्थिक शक्तिको रूपमा रहेको श्रमशक्तिलाई दक्ष र व्यावसायिक बनाउने र स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने राज्यको संवैधानिक नीति भए पनि व्यवहारमा बेरोजगारीको अवस्थाले विकराल रूप लिँदै गएकोप्रति आमनागरिकको चिन्ता व्यक्त हुन थाल्नु स्वाभाविक हुन आउँछ । वैदेशिक रोजगारी स्वदेशमा भन्दा पक्कै पनि जोखिम र परिश्रमपूर्ण हुन्छ । सिप सिकेर आफ्नो सिप अनुसारको काममा जानेभन्दा पनि विदेश भनेपछि जस्तोसुकै कामका लागि पनि गइहाल्ने प्रवृत्तिका कारण कार्यस्थलमै ज्यान गुमाउनेहरूको सङ्ख्या अधिक देखिएको छ ।
वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित गर्न तथा श्रमिकको रोजगारी र अधिकारको प्रत्याभूति गर्न यस क्षेत्रको नियमन र व्यवस्थापन गर्ने सम्बन्धमा राज्यको श्रम तथा रोजगारसम्बन्धी नीतिमा उल्लेख छ । जस अनुसार वैदेशिक रोजगारसम्बन्धी २०४२ सालदेखि हुँदै आएको कानुनी व्यवस्थालाई समयानुकूल परिमार्जन गरेर सुरक्षित र भरपर्दो बनाउनेतर्फ सरकारी पहल हुँदै आएको स्पष्ट हुन्छ । आन्तरिक र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले नेपाल रोजगार सूचना केन्द्र व्यवस्थापन प्रणाली सफ्टवेयर निर्माण गरेर स्थानीय पालिकामा सञ्जाल जोड्ने तयारी पनि हुँदै गरेको छ । वैदेशिक रोजगार प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउन सरकार, निजी क्षेत्र र रोजगारदाताबिचको सहकार्य अपरिहार्य देखिन आउँछ ।