• २७ पुस २०८१, शनिबार

आठौँ वालिङ महोत्सव सुरु

blog

वालिङ उद्योग महोत्सवका शुभारम्भ गर्नुहुँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, माघ १८ गते । स्याङ्जामा वालिङ महोत्सव सुरु भएको छ । वालिङ उद्योग वाणिज्य सङ्घ र वालिङ नगरपालिकाको आयोजनामा आठौँ वालिङ महोत्सव सुरु भएको हो।“हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ वालिङ खेलमैदानमा सञ्चालन भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभारम्भ गर्नुभएको हो । 

महोत्सवमा चार सय स्टल छन् भने स्थानीय उत्पादनलाई प्राथमिकतामा राखिएको छ । स्थानीय उत्पादनको बजारीकरण र आधुनिक कृषि औजारको प्रयोगलाई प्रोत्साहन गर्ने महोत्सवको मुख्य उद्देश्य रहको वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो । 

महोत्सवमा संस्कृतिको जगेर्नाका लागि भन्दै भजन प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता समेत राखिएको आयोजकले जनाएको छ । वालिङ तथा आसपासको पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लाभित्र रहेका पर्यटकीय स्थलहरूको जानकारी सहितको फोटो प्रदर्शनी, होमस्टेमा आवासको व्यवस्था समेत गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

महोत्सवमा तीन लाख दर्शकले अवलोकन गर्ने र १० करोडभन्दा बढीको कारोबार हुने आयोजकको अनुमान छ । महोत्सवबाट १ करोड २६ लाख आम्दानी गरी ७९ लाख ५१ हजार खर्च गरी ५६ लाख ४८ हजार बचत गर्ने लक्ष्य रहेको महोत्सवका निर्देशक शोभाकान्त पौडेलको भनाइ छ ।

महोत्सव माघ २८ गते सम्म चल्नेछ ।