• २१ वैशाख २०८१, शुक्रबार

नगरवासीको अपेक्षा पूरा गर्छौं

blog

देवचुली नगरपालिका देशकै मध्य भागमा अवस्थित नवलपरासी जिल्लाको नवलपुरपूर्वमा रहेको छ । साबिकका दिव्यपुरी, देवचुली र प्रगतिनगर गाविस समावेश गरी मन्त्रीपरिषद्को २०७१ साल वैशाख २५ को निर्णय अनुसार घोषित नगरपालिका २०७३ साल फागुन २७ को सरकारी निर्णयबाट साबिक रजहर गाविस समावेश भई गठन भएको हो । पूर्वमा महेन्द्र राजमार्गमा रहेको झरही खोला, पश्चिममा लोकाहा खोला, उत्तरमा १९३८ मिटर उचाइको देवचुली डाँडा र दक्षिणमा नारायणी नदीको चार सीमाभित्र पर्ने यो नगरपालिकाको दलदले बजार नवलपरासी जिल्लाको पहाडी क्षेत्रको मुख्य प्रवेशद्वार हो । देवचुली नगरपालिकामा २०७९ सालमा नेकपा (एमाले) का हरि न्यौपाने निर्वाचित हुनुभएको छ । गोरखापत्रका मीना कँडेलले नगर प्रमुख न्यौपानेसँग गर्नुभएको कुराकानी :  

स्थानीय समस्यालाई कसरी सम्बोधन गर्नुभएको छ ? 

ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी घरदैलो अभियान गर्ने निर्णय गरेर घर घरमा पुगी स्वास्थ्योपचार गरेका छौँ । लामो समयसम्म रहेको सुकुमवासी, भूमिहीन समस्याका लागि लालपुर्जा दिलाउन जग्गा नापजाँचलाई तीव्रता दिएका छौँ । देवचुली नगरपालिकामा छाडा चौपायाको विकराल अवस्था थियो । त्यसलाई व्यवस्थापन गर्न सफल भएका छौँ । मानव र वन्यजन्तुबिचको द्वन्द्व व्यवस्थापनका लागि काम गरिरहेका छौँ । देवचुली नगरपालिकामा ट्रमा सेन्टर निर्माण गर्न जग्गा प्राप्ति सुनिश्चित भएको छ । नगरलाई सफा र सुन्दर बनाउन प्लास्टिकजन्य फूलमालामा प्रतिबन्ध गरी स्थानीयस्तरमा फूल खेती प्रवर्धन गर्न किसानलाई प्राथमिकता दिएका छौँ । बाहिरी आयातलाई कम गर्दै नगरपालिकामै आत्मनिर्भर गराउन प्रोत्साहन दिएका छौँ । भूमिहीन दलित, अव्यवस्थित बसोबासी र सुकुमवासी क्षेत्रमा नागरिकलाई आफ्नो जग्गाको धनी बनाउन अहिले नापनक्साको कार्य अन्तिम चरणमा पुगेको छ । उज्यालो नगरको अवधारणा अगाडि बढाउँदै प्रत्येक घरमा बिजुली पु¥याउने लक्ष्यका साथ लागिपरेका छौँ । देवचुली नगरवासीलाई अधिकतम स्वास्थ्य सेवा नगरबाटै दिलाउन नगर अस्पतालमा विशेषज्ञ डाक्टर नै राखेर सेवा दिइरहेका छौँ । आफ्नै गाउँठाउँबाट सेवा लिन सक्ने गरी नगर अस्पतालमा चौबिसै सेवा प्रवाह भएको छ । सार्वजनिक जग्गा संरक्षणमा जोड दिएका छौँ । 

कानुन निर्माणमा कसरी काम भइरहेको छ ? 

आवश्यकता अनुसार ऐन तथा कार्यविधि पारित भएका छन् । फोहोरमैला व्यवस्थापन, बजार अनुगमन, नगरको खेलकुद क्षेत्रलाई व्यवस्थित गर्न ऐन र कार्यविधि निर्माण भएको छ । प्लास्टिकजन्य फूलमालामा प्रतिबन्ध गर्ने, किसान कार्डको व्यवस्था गर्ने, किसानलाई प्रोत्साहन, कृषियोग्य जमिन संरक्षणका लागि वर्गीकरण गर्न सहयोग मिलेको छ । ऐन र कार्यविधि भनेको आवश्यकता अनुसार नयाँ निर्माण गर्दै जाने हो । 

आन्तरिक आम्दानी बढाउने उपाय के छन् ?

देवचुली नगरपालिका पर्यटनको प्रचुर सम्भावना भएको नगरपालिका हो । कृषिलाई पहिलो प्राथमिकता दिइएको छ । खेतीयोग्य जमिन तथा तरकारी उत्पादनका पकेट क्षेत्रले कृषि तथा अर्गानिक खेतीको सम्भावना रहेको नगरपालिकाको पहाडी बस्तीमा पशुपालन एवं मौरीपालनको राम्रो सम्भावना छ । पर्यटकीय देवचुली डाँडा, घरबासको प्रचुर सम्भावना भएका मगर समुदायको बसोबास रहेको कुमसोत, कीर्तिपुर, बन्दीपुर जस्ता बस्ती छन् । पिप्रहर होमस्टे र नारायणी नदी किनारमा रहेको होटल, रिसोर्ट तथा मध्यवर्ती सामुदायिक वनले नगरपालिकाको पर्यटकीय विकासको सम्भावना छ । 

कर बढेको भन्ने जनगुनासो छ नि ? 

आर्थिक मन्दीले गर्दा व्यापार व्यवसाय धराशायी बन्दै गएका छन् । व्यवसायीको अवस्था बुझेर कर थाती राखिएको छ । व्यापार व्यवसायमा सुधार आएपछि उद्योग वाणिज्य सङ्घ र व्यापारीको सल्लाहमा करको विषय उठाउने छौँ  । अहिले विद्यमान ऐन अनुसार नगरपालिकाले काम गरिरहेको छ । करसम्बन्धी व्यवस्थामा अपुग महसुस गरिएका विषय सन्दर्भमा सङ्घले व्यवस्थापन गर्ने भएकाले हामीले माग गरेका छौँ । सङ्घ र प्रदेशले अपेक्षा अनुसार काम पूरा गर्नेमा विश्वस्त छौँ । 

पर्यटन क्षेत्रको विकासका लागि योजना बनाउनुभएको छ ? 

पर्यटन क्षेत्रको विकासका लागि पर्यटन विकास बोर्डबाट २० र नगरपालिकाबाट २२ गरी ४२ लाख रुपियाँ देवचुली डाँडाको पर्यटन प्रवर्धनमा लगाएका छौँ   । घरबास सञ्चालनको प्रक्रिया अघि बढेको छ । पिप्रहर सामुदायिक होमस्टे, चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटक आवतजावतका लागि व्यवस्थापन गर्ने काम भइरहेको छ । पर्यटकीय दृष्टिले महत्वपूर्ण देवचुली डाँडाको समग्र विकासको गुरुयोजना बनाई माथिल्लो आधार शिविरसम्म सडक, विद्युत् तथा पिउने पानीको व्यवस्थाका लागि नगरपालिका लागिपरेको छ । पर्यटकीय क्षेत्रको विकास गर्न सके रोजगारीका लागि विदेश जानु पर्दैनथ्यो भन्ने हाम्रो सोच हो । 

समृद्ध नगर निर्माणका चुनौती पनि छन् ?  

समृद्ध नगरका लागि आर्थिक स्रोत जुटाउनु नै मुख्य चुनौती हो । आर्थिक मन्दीका कारण सोचे अनुरूप व्यवसाय चलेको छैन । सङ्घीय बजेट अपेक्षा अनुसार नआउँदा गाह्रो भएको छ । अहिले महत्वपूर्ण योजनाका शीर्षकलाई कटौती गर्नुपर्ने अवस्था छ । नगरको मुख्य आम्दानीको स्रोत सम्पत्ति र व्यावसायिक कर निकै न्यून छ । आर्थिक स्रोतको अभावले भने अनुसार काम गर्न सकिएको छैन । मुलुकमा आर्थिक वृद्धिदर र नगरको आन्तरिक आम्दानी बढ्दै गयो भने नगर समृद्ध बन्ने छ । 

आगामी योजना कस्ता छन् ? 

सुविधासम्पन्न नगर अस्पतालको सेवा विस्तार हुने छ । फोहरमैला व्यवस्थापन हुने छ । कृषिमा आत्मनिर्भर हुने छ । देवचुली नगरपालिकाको पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुदमा नगरवासीले गरेको अपेक्षा अनुभूति गर्न पाउने छन् । शतप्रतिशत खोप सुनिश्चित भएको पालिका बन्ने छ । वर्षमा दुई पटक ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य उपचार हुने छ । हरेक शुक्रबार विद्यालयमा झोलाविहीन कार्यक्रमको अवधारणाबाट सीपमूलक र व्यावहारिक शिक्षा विद्यार्थीलाई प्रदान गरिने छ । नगर युवा तथा खेलकुद विकास समिति गठन भएकाले यस क्षेत्रमा युवालाई प्रोत्साहन गरिने छ ।