• २५ वैशाख २०८१, मङ्गलबार

हुलाक टिकट स्वदेशमै

blog

सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा केही वर्षयता मुलुकले फड्को मारेको भए पनि मुद्रणतर्फ भने उल्लेखनीय प्रगति हुन सकेको देखिँदैन । निजी क्षेत्रले केही अत्याधुनिक छपाइ मेसिन भित्र्याएर काम गर्दै आएका भए पनि सुरक्षा एवं गोपनीयताका दृष्टिले संवेदनशील सामग्री मुद्रण गर्न विदेश नै जानुपर्ने बाध्यता टरेको छैन । केही वर्षअघिदेखि सरकारले सुरक्षण मुद्रण केन्द्र स्थापना कार्यलाई प्राथमिकतामा राखे पनि अपेक्षित सफलता अझै परै छ । यद्यपि प्रारम्भिक चरणमै भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बन्धित केही व्यक्तिमाथि मुद्दा दायर गरिसकेको छ । प्रेस खरिद प्रक्रियाका सम्बन्धमा अनेक विवाद हुँदै आएकाले सुरक्षण मुद्रणसम्बन्धी ठोस कार्य हुन अझै केही समय लाग्ने देखिन्छ । यसै सन्दर्भमा मतपत्र एवं आन्तरिक राजस्व विभागको स्टिकरलगायतका संवेदनशील सामग्री प्रकाशनको कार्य गर्दै आएको सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा हुलाक टिकट छपाइ कार्य सुरु भएको छ । स्वदेशकै छापाखानामा हुलाक टिकट छपाइ गर्नुले यसै कामका लागि विदेश जानु पर्छ भन्ने बाध्यता अब नरहेको स्पष्ट हुन्छ ।

नेपाल सरकारले सुशासन (व्यवस्थापन र सञ्चालन) ऐन, २०६४ को अधीनमा रहेर हुलाक टिकट प्रकाशन निर्देशिका, २०७० जारी गरेको देखिन्छ । के कस्ता चित्र अङ्कित हुलाक टिकट जारी गर्न सकिन्छ भन्ने सम्बन्धमा निर्देशिकाले स्पष्ट गरेको छ । जस अनुसार, नेपालका प्राकृतिक तथा ऐतिहासिक सम्पदा, प्रचलित चाडपर्व, संस्कृति, प्राचीन तथा अर्वाचीन कला, कलात्मक भवन, मन्दिर तथा देवलहरूको चित्र अङ्कित हुलाक टिकट प्रकाशन गर्न सकिने उल्लेख गरिएको छ । यसै गरी पुरातात्त्विक  स्मारक, ख्यातिप्राप्त विशिष्ट व्यक्ति, राष्ट्रिय विभूति तथा प्रतिभा, नेपालसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्घ संस्थाका सम्मेलन, अन्तर्राष्ट्रिय वर्ष, खेलकुद आदिका टिकट जारी गर्न सकिने उल्लेख हुनुले मुलुकको गरिमा वृद्धिका लागि हुलाक टिकट पनि माध्यम हुन सक्ने सरकारको उद्देश्य स्पष्ट हुन आउँछ । 

हुलाक टिकटको प्रचलन सुरु भएको १४२ वर्षपछि बल्ल मुलुकभित्रै टिकट मुद्रण कार्यको सुरुवात हुनुले स्वदेशमै हुन सक्ने कार्य अहिलेसम्म किन भएको थिएन भन्ने जिज्ञासा आमनागरिकमा उब्जिनु स्वाभाविक छ । त्यसो त हुलाक टिकट प्रचलनको इतिहास नियाल्दा पहिलो पटक प्रचलनमा ल्याइएको टिकट मुलुकभित्रै मुद्रण गरिएको थियो । बेलायतबाट ल्याएको गिद्धे प्रेसमा १९३८ साल वैशाखमा मुद्रण गरेर जारी गरिएको श्री गोरखा सरकार लेखिएको खुकुरी चिह्न अङ्कित हुलाक टिकट, देशभित्रको पहिलो हो । पछि किन हुलाक टिकट मुद्रणका लागि विदेश जान थालियो भन्ने स्पष्ट जवाफ कतैबाट आउन सक्ने अवस्था देखिँदैन ।

हाम्रो हुलाक सेवामा प्रयोग हुँदै आएका टिकट भारत, इन्डोनेसिया, सिङ्गापुरलगायतका मुलुकमा छापिने गरेका थिए । यसरी छापिएका टिकटको मूल्य जे जति भए पनि प्रतिटिकट सरदर एक रुपियाँ लागत पर्ने गरेकोमा जनक शिक्षामा ९५ पैसामै छपाइ कार्य सम्भव भएको जानकारी दिइएको छ । यद्यपि हुलाक टिकट छपाइका लागि चाहिने कच्चा पदार्थ भने विदेशबाटै ल्याएको हो । स्वदेशकै कच्चा पदार्थ प्रयोग गरेर मुद्रण गरिँदा अझ लागत सस्तो पर्न सक्ने सम्भावना पनि उत्तिकै छ । नेपाली काँचो कागज अथवा लोक्ता जस्ता स्वदेशी सामग्रीको प्रयोगबाट पनि गुणस्तरीय टिकट प्रकाशन गर्न सकिनेतर्फ प्राविधिकको ध्यान जान जरुरी छ । नेपाली कागजबाट जापानमा नोटसमेत छापिने खबर बेला बखत पढ्ने गरिएको कुरा यहाँ स्मरणीय छ । 

पहिलो चरणमा जनक शिक्षाले राजनीतिज्ञ, सहिद, विभिन्न प्रकारका फूल र वनस्पतिलगायत १४ प्रकारका हुलाक टिकट छपाइ गरिरहेको जानकारी दिएको छ । उसले आउँदो चैतसम्ममा एक करोड ३० लाख थान टिकट छाप्ने गरी हुलाक सेवा विभागसँग सम्झौता गरेको बताएको छ । यीमध्ये रैथाने वनस्पति, धार्मिक स्थल र चार जना राष्ट्रिय व्यक्तित्व (साहना प्रधान, कामी बुढा, रामवृक्ष यादव र नेत्रलाल पौडेल ‘अभागी’) का चित्र अङ्कित टिकट प्रकाशन गरिने भएको जनक शिक्षाले जानकारी दिएको हो । यस्ता सामग्रीको छपाइ कार्य सुरक्षित तथा गोपनीय हुनुपर्ने भएकोले जनक शिक्षाले छापाखानाको सुरक्षा नेपाली सेनाको नेतृत्वमा सुम्पिएको बताउनुले आगामी दिनमा यस किसिमका कार्य सुरक्षित तरिकाले गर्न सकिन्छ भन्ने विश्वास दिलाउन सफल भएको छ । हुलाक टिकट छपाइकै लागि बर्सेनि बिदेसिने गरेको करोडौँ रुपियाँ स्वदेशमै रोकिने भएकोले आगामी दिनमा यसै प्रकृतिका अन्य छपाइ कार्यका लागि विदेश जाने बाध्यताको अन्त्य हुने विश्वास गर्न सकिन्छ ।