• ७ जेठ २०८१, सोमबार

कोहलपुरमा औद्योगिक लघु तथा प्रविधि व्यापार महोत्सव

blog

महोत्सवका बारेमा जानकारी गराउँदै आयोजक । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, माघ १७ गते । अर्थतन्त्रलाई आर्थिक मन्दीबाट बाहिर ल्याउने उद्देश्यका साथ बाँकेको कोहलपुरमा माघ २५ देखि फागुन ५ गतेसम्म पाँचौँ औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि व्यापार महोत्सव–२०८० हुने भएको छ । 

यस पटक सो महोत्सवलाई विगतभन्दा बहुआयामिक र पृथक् हुने गरी सञ्चालन गरिने घरेलु तथा साना उद्योग महासङ्घ कोहलपुर नगर समितिले जनाएको छ । घरेलु तथा साना उद्योग महासङ्घ कोहलपुरका अध्यक्ष हेमविक्रम जिसिले सो महोत्सवमा स—साना उद्योगहरूबाट निर्मित सामग्रीहरू, कृषिका विविध विद्यासँगै घरेलु हस्तकला, काष्ठकला एवम् नेपाली कपडाका स्टलहरूसँगै अन्य विविध गतिविधिमार्फत महोत्सवलाई आकर्षित बनाइने योजना रहेको बताउनुभयो । 

उहाँले ‘मेहनत, सृजना, उत्पादन र वस्तु मेरै नेपालको’ भन्ने मूल नाराका साथ आयोजना गरिने महोत्सवमा विभिन्न वस्तु तथा सामग्रीहरूका तीन सयदेखि ३५० वटा स्टलहरू रहने बताउनुभयो । सो महोत्सवबाट बाँकेको आर्थिक गतिविधिलाई चलायमान बनाउन ठुलो सहयोग मिल्ने अध्यक्ष जिसिले बताउनुभयो । उहाँले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै उत्पादन गरेका वस्तुहरूलाई बजारीकरण गर्ने र त्यसका लागि उचित फोरम उपलब्ध गराउने उद्देश्यले महोत्सव सञ्चालन गरिने बताउनुभयो ।

अध्यक्ष जिसिले थप्नुभयो, "स्थानीय उद्यमी, व्यवसायी तथा कृषकहरूले उत्पादन गरेका वस्तुहरूका लागि महोत्सवमा निःशुल्क स्टल उपलब्ध गराउने छौँ, त्यसको कोटा समेत छुट्याईको छ ।"

महासङ्घका अनुसार अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरूलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेश दिइने व्यवस्था मिलाइएको छ भने अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरूलाई मञ्चको अगाडी विशेष स्थान छुटाइएको छ । घरेलु तथा साना उद्योग महासङ्घ कोहलपुरका महासचिव हिमलाल घिमिरेले ग्रामीण स्तरका किसानहरूले समेत महोत्सवमा स्टल राख्न चाहेको भन्दै स्थानीय सरकार र घरेलु कार्यालयको सहयोगमा त्यस्ता स्टल निःशुल्क राखिने बताउनुभयो । 

यस्तै, महोत्सव प्रचारप्रसार समितिका संयोजक ईश्वरी शर्माले सुरक्षाका दृष्टिले सिसिटिभी सहित ३ वटा आपत्कालीन गेट रहेको र सुरक्षा बन्दोबस्तका लागि नगर प्रहरी तथा सरकारी सुरक्षा निकायसँग समन्वय भइरहेको बताउनुभयो । उहाँले कोहलपुरमा विगतमा सम्पन्न भएका महोत्सवका नाममा मेला लगाउनेहरूले खर्च÷आम्दानी सार्वजनिक नगर्ने गरेकोमा यस पटक सो परिपाटिलाई अन्त्य गरेर खर्च÷आम्दानी तत्काल नै सार्वजनिक गरिने बताउनुभयो । 

महोत्सवको कला, संस्कृति, झाँकी व्यवस्थापन उपसमितिका संयोजक महोदत्त कँडेलले महोत्सवमा थारु संग्राहलय, मगर संग्राहलय लगायत स्थानीय लोपोन्मुख खाद्य वस्तुका स्टल, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक कार्यक्रम हुने र महोत्सवमा दुई लाख दर्शक भित्राउने लक्ष्य रहेको बताउनुभयो ।