• ७ जेठ २०८१, सोमबार

सल्लाको खोटोबाट राम्रो आम्दानी

blog

बङ्लाचुली गाउँपालिका–८ मा सल्लाको खोटो सङ्कलन गरिँदै ।

लीलाधर वली 

घोराही, माघ १७ गते । दाङमा पछिल्लो समय सल्लाको खोटो निकाल्ने क्रम बढ्दै गएको छ । सल्लाको खोटो बिक्री गरेर वन समूहले आम्दानी गर्न थालेपछि पछिल्लो समय जिल्लामा खोटो सङ्कलन गर्ने क्रम बढेको हो ।

आर्थिक वर्ष २०७९-०८० मा जिल्लाका नौ वटा सामुदायिक वनबाट एक लाख सात हजार नौ सय ७ केजी खोटो सङ्कलन भएर बिक्री हुँदा १२ लाख ९४ हजार सात सय ८४ रुपियाँ आम्दानी भएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभएको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा ७८ हजार २ सय ५६ केजी सल्लाहको खोटो सङ्कलन भएको थियो । उक्त वर्ष खोटो बिक्रीबाट ९ लाख ३९ हजार २७ रुपैयाँ मात्रै आम्दानी भएको थियो । अघिल्लो वर्षको तुलनामा पछिल्लो समय सल्लाको खोटो सङ्कलन गर्ने कार्य बढेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । 

कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो, "वनमा सल्लाको रुखहरू बढेसँगै खोटो सङ्कलन गर्ने क्रम बढेको छ । खोटो बिक्री गरेर वन समूहले राम्रो आम्दानी गरिरहेका छन् ।" जिल्लामा आर्थिक वर्ष २०७९-०८० मा बागेश्वरी सामुदायिक वनबाट दुई हजार दुई सय १० केजी खोटो निकासी हुँदा २६ हजार पाँच सय २० रुपियाँ, सरस्वती सामुदायिक वन समूहबाट २५ हजार ८० केजी खाटो बिक्री हुँदा तीन लाख नौ सय ६० रुपियाँ आम्दानी गरेका छन् । 

त्यसैगरी, गैरीकुण्ड दर्शाकोट सामुदायिक वन समूहबाट २० हजार छ सय ५८ केजी खोटा बिक्री हुँदा दुई लाख ४७ हजार ८ सय ९६ रुपियाँ, जौलीपोखरी सामुदायिक वन समूहबाट सात हजार तीन सय २ केजी खोटो बिक्री हुँदा ८७ हजार ६ सय २४ रुपियाँ, घोरले सङ्गरगैरा सामुदायिक वन समूहबाट तीन हजार ४३ केजी खोटो बिक्री हुँदा ३६ हजार पाँच सय १६ रुपियाँ, जनचेतना सामुदायिक वन समूहबाट ८ हजार चार सय ५० केजी खोटो बिक्री गर्दा एक लाख एक हजार चार सय, शिव सामुदायिक वन समूहबाट एक हजार आठ सय ३२ केजी खोटो बिक्री हुँदा २१ हजार आठ सय ८४ रुपियाँ, भुमेवराह सामुदायिक वन समूहबाट सात हजार आठ सय ७५ केजी खोटो बिक्री गर्दा ९४ हजार पाँच सय र ओखलढुङ्गा सामुदायिक वन समूहबाट ३१ हजार चार सय ५४ केजी खोटो बिक्री गर्दा तीन लाख ७७ हजार चार सय ८४ रुपियाँ आम्दानी भएको डिभिजन वन कार्यालय दाङका प्रमुख श्रेष्ठले जानकारी दिनुभएको छ । सल्लाको खोटो बिक्री गरेर आम्दानी भएको ७५ प्रतिशत रकम सम्बन्धित वन समूहको कोष र २५ प्रतिशत रकम प्रदेश सञ्चित कोषमा जम्मा हुने गरेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभएको छ । 

जिल्लामा बङ्गलाचुली गाउँपालिकाबाट खोटो सङ्कलन हुने गरेको छ । सामुदायिक वन समूहले जङ्गलहरूमा रहेका सल्लाका रुखबाट उत्पादन हुने खोटो विक्री गरेर वार्षिक रूपमा लाखौँ रुपियाँ आम्दानी गर्ने र उक्त पैसा सामाजिक कार्यमा लगाउने गरेका छन् । 

वन समूहले सल्लाहको खोटो बिक्री गरेर भएको आम्दानी रकम वन समूहकै संरक्षणसँगै खानेपानी धारा निर्माण, बाटो निर्माण, विद्यालय, सामुदायिक वन निर्माण लगायतका कार्यमा लगाउने गरेको बंगलाचुली गाउँपालिका–८ मा रहेको ओखलढुङ्गा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले बताउनुभएको छ । ओखलढुङ्गा सामुदायिक वन समूहले जिल्लामा सबैभन्दा धेरै खोटो बिक्री गर्दै आएको छ । जिल्लामा सामुदायिक वनबाट सङ्कलन भएको खोटो गङ्गा रोजिन एण्ड गम टर्पिनटाइन कम्पनी बाँकेले प्रतिकेजी १२ रुपैयाँका दरले खरिद गर्ने गरेको छ । 

सल्लाको रुखबाट वैशाख–जेठ महिनादेखि मङ्सिर–पुस महिनासम्म खोटो सङ्कलन गर्ने गरिन्छ । चिसो मौसममा कम खोटो आउने गरेका कारण गर्मी समयमा खोटो सङ्कलन हुने गरेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभएको छ । उहाँका अनुसार जिल्लामा सल्लाको खोटो सङ्कलन वैशाखदेखि मङ्सिर महिनासम्म प्राय हुने गरेको छ । विभिन्न काममा प्रयोग हुने तारपिन तेल र पेन्ट गर्ने रङ बनाउन कच्चा पदार्थका रूपमा खोटो प्रयोग हुने गर्दछ । सल्लाको खोटो बल्ने पदार्थ भएकाले आगो लाग्दा गर्मी समयमा रुख नै मर्ने जोखिम हुने भएकाले सामुदायिक वन समूहले ध्यान दिनुपर्छ।