• २७ पुस २०८१, शनिबार

'जहाँ मार्किङ्, त्यहाँ पार्किङ्' अभियान

blog

सडकमा मार्किङ् (चिन्ह) गर्दै प्रहरी । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, माघ १७ गते । तानसेनमा ट्राफिक समस्यालाई समाधान गर्न प्रहरीले ‘जहाँ मार्किङ्, त्यहाँ पार्किङ्’ अभियान सुरु गरेको छ । तानसेनका विभिन्न स्थानमा जथाभाबी पार्किङका कारण ट्राफिक समस्या बढेपछि प्रहरीले सडकमा मार्किङ् गरेका स्थानमा मात्र पार्किङ् गर्ने अभियान सुरु गरेको हो ।  

प्रहरीको अभियानले पैदल यात्रीलाई सहज रूपमा सडकमा यात्रा गर्न सहज हुनेछ भने अव्यवस्थित पार्किङका कारण उत्पन्न समस्या समाधान हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख राजकुमार चापागाईँले जानकारी दिनुभयो । अभियान अन्तर्गत जिल्लाको प्रमुख सडकको रूपमा रहेको सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा मार्किङ् गरिनेछ । यस्तै, तानसेन बजार क्षेत्र, तानसेनबाट भित्रिने र बाहिरिने नाकामा समेत पार्किङका लागि मार्क (चिन्ह) बनाउने चापागाईँले बताउनुभयो । 

प्रहरीले सिद्धार्थ राजमार्गमा पर्ने बर्तुङ चोक, पोखरातर्फ जाने जाने सडक, बुटवलतर्फ जाने सडक र तानसेनतर्फ आउने सडकमा जेब्रा क्रस बनाएको छ । मार्किङ् गरेको स्थानमा बाहेक अन्य स्थानमा पार्किङ् गरे त्यस्ता चालकले कारबाही भोग्नुपर्ने प्रहरीले जनाएको छ । 

तानसेन नगरपालिकासँगको सहकार्यमा प्रहरीले अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिनुभयो । प्रहरीले सञ्चालन गरेको अभियानले साँघुरा सडकमा बढ्दो ट्राफिक समस्यालाई समाधान गर्न र सुरक्षित यात्राका लागि सहयोग पुर्‍याउने उहाँले बताउनुभयो ।