• २७ पुस २०८१, शनिबार

रानी जमरा सिँचाइ आयोजनामा विद्युत उत्पादन सुरु

blog

कैलालीको जानकी गाउँपालिका–९ कटाँसेमा बनेको विद्यत गृह । तस्बिर : एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना

टीकापुर, माघ १७ गते । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । २०८० साल माघ १६ गते रातिबाट उत्पादन सुरु भई लम्कीस्थित १३२ केभी प्रसारण लाइनमा जोडिएको हो । 

जानकी गाउँपालिका ९ कटाँसेमा बनेको उत्पादन गृहको ३३ केभी लाइन करिब छ किलोमिटर टाढाको लम्की स्टेसनमा पुर्‍याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । परीक्षणका क्रममा साढे एक मेगावाट उत्पादन भएको विद्युत प्राधिकरण लम्कीका प्रमुख खगेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो । रानीजमराको पूरै उत्पादन भएका तीन वटा टर्वाइनको सहायताले ४.७१ मेगावाट विद्युत निरन्तर उत्पादन हुनेछ ।

२०७८ माघबाट उत्पादन सुरु गर्ने लक्ष्य भएपनि कात्तिक १ गते आएको बाढीले संरचनामा क्षति पुर्‍याएपछि पुनर्निर्माण ढिलाइ भएको हो । दुई अर्बको लागतमा विद्युत आयोजना बनेको छ । एक अर्ब पाँच करोड रुपियाँ विद्युत गृह र उपकरणमा लगानी भएको छ भने ९५ करोड रुपियाँ यस वरपर नदी नियन्त्रण, नहर निर्माण र अन्य काममा लगानी भइरहेको छ । 

रानी जमरा कुलरिया आयोजना आर्थिक वर्ष २०६६-६७ सालमा सुरु भएको थियो । यसबाट शाखा नहर र नदीहरूमा तटबन्धको निर्माण कार्य जारी छ ।