• २७ पुस २०८१, शनिबार

बँदेलले आक्रमण गर्दा वृद्धा गम्भीर

blog

बँदेलले घाइते बनाएपछि अस्पतालको शय्यामा उपचार गराउँदै वृद्ध महिला दुरा जोशी । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल
बैतडी, माघ १७ गते ।
बैतडीमा जङ्गली बँदेलको हुल घरमै आएर वृद्ध, महिला र बालबालिकामाथि आक्रमण गरी गम्भीर घाइते बनाउन थालेका छन् । जङ्गली बँदेलको हुलले घरमै पसेर आक्रमण गर्दा मङ्गलबार पाटन नगरपालिका–५, धौंचुली गाउँकी ७० वर्षीय दुरा जोशी गम्भीर घाइते भएपछि अस्पताल भर्ना भएका छन् ।

जोशीमाथि जङ्गली बँदेलले घरमै पसेर आक्रमण गर्दा गम्भीर घाइते हुनुभएको हो । कम्मर र खुट्टामा गम्भीर चोट लागेपछि उहाँ बैतडी अस्पताल भर्ना हुनुभएको छ । गम्भीर घाइते जोशीलको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि धनगढी रेफर गरिएको छ ।

जङ्गली बँदेलको हुल घरमै आएर आक्रमण गरेको यो पहिलो घटना होइन् । गत साता (माघ ७ गते) पाटनसँगै सीमा जोडिएको मेलौली नगरपालिका–२, सलेनास्थित मावन बस्तीमै पसेर आँगनमा खेलीरहेकी नौ वर्षीया बालिका करिश्मा दयालको टाउकोमा टोकेर गम्भीर घाइते बनाएको छ । बँदेल धपाउन गएका छिमेकी ३२ वर्षीय ओमप्रकाश जोशीमाथि पनि बँदेलले आक्रमण गरेर गम्भीर घाइते हुनुभयो । घाइते दुबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि डडेलधुरा अस्पताल रेफर गरिएको थियो ।

बैतडीमा चितुवापछि जङ्गली बँदेलको आक्रमण गर्दा मानिस घाइते र अङ्गभङ्ग भएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । चितुवाको आक्रमणमा परी २०६८ यत २८ जनाले ज्यान गुमाएका छन् भने बँदेलको आक्रमणमा परी २० जनाभन्दा बढी गम्भीर घाइते तथा अङ्गभङ्ग भएको वन कार्यालयका सूचना अधिकारी मोहन जोशीले बताउनुभयो ।

बँदेल मार्ने कानुन आयो, परिपत्र आएन
मानव बस्तीमा पसेर आतङ्क सिर्जना गर्ने बँदेललाई मार्न सक्ने कानुन आए पनि परिपत्र नआएको डिभिजन वन कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख दिलीपकुमार यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बैतडीमा पछिल्लो समय बँदेलले मान्छेमाथि आक्रमण गरेर गम्भीर घाइते बनाउने क्रम बढेको छ । आहाराको खोजीमा जङ्गली बँदेल मानव बस्तीमा पस्ने गरेका छन् । भर्खरै बँदेल मार्ने कानुन आएको छ तर, परिपत्र आएको छैन । तत्कालका लागि हामीले बँदेलको आक्रमण परी गम्भीर घाइते भएकाहरुलाई उपचारमा खर्च दिइरहेका छौं ।”

राज्यले उपचार खर्च दिए पनि जङ्गली बँदेलको आक्रमणमा परी अङ्गभङ्ग भए थप सुविधा दिने कुनै नीति नरहेको उहाँले स्पष्ट पार्नुभयो ।